पुस दोस्रो साता बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकाभित्रका सडकमा ट्राफिक बत्ति बाल्ने कार्ययोजना बनायो।
सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिग्रेका ट्राफिक बत्ति मर्मत गर्ने वा नयाँ जडान गर्ने कामको जिम्मेवारी पाए। काम ढिला होला कि भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत पूर्वाधार विकास महाशाखाले समयसीमा तोकिदियो, पुसभित्र सडकमा ट्राफिक बत्ति बालिसक्नुपर्ने।
विभागले ट्राफिक प्रहरीसँग समन्वय गरेर पुस अन्तिम सातादेखि सडक बत्ति बाल्न सुरू गरेको छ। मन्त्रिपरिषदले बनाएको कार्ययोजनामा उपत्यकाभित्र कहाँ– कहाँ ट्राफिक बत्ति राख्ने भन्ने पनि निर्धारण गरियो।
जसअनुसार बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगञ्ज चोक, कालिमाटी, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर, मित्रपार्कमा ट्राफिक बत्ति राख्ने काम अघि बढ्यो।
उक्त कार्ययोजनामा असारभित्र स्मार्ट प्रविधियुक्त ट्राफिक बत्ति व्यवस्थापन गर्ने लक्ष्य राखिएको भए पनि स्मार्ट टेक्नोलोजीबारे खुलाइएको छैन।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले दिएको जानकारीअनुसार सवारी चाप हुने मुख्य ११ वटा चोकमा हिजोआज ट्राफिक बत्ति बल्छ। एसएसपी भीमप्रसाद ढकालले सडक बत्ति मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए।
‘काठमाडौंभित्रका सवारी चाप हुने ११ चोकमा सडक बत्ति बाल्न थालेका छौं। बिग्रेका सडक बत्ति मर्मतपछि सञ्चालनमा आएका हुन्,’ उनले सेतोपाटीसँग भने।
सडक बत्ति विगत आठरनौ बर्षदेखि मर्मत गरिएको थिएन। ‘आठ/नौ वर्षदेखि बिग्रेर थन्किएका बत्ति सडक विभागको आर्थिक सहयोगमा मर्मत गरी सञ्चालनमा ल्याइएको हो,’ एसएसपी ढकालले भने। उनले ट्राफिक प्रविधिमैत्री सडक बनाउने सिलसिलामा सडक बत्ति बाल्ने कार्य पनि महत्वपूर्ण भएको दाबी गरे।
मन्त्रिपरिषदले बनाएको कार्ययोजनामा सडकका खाल्डाखुल्डी पुर्ने, टालटुल गर्ने पनि उल्लेख छ। जसअनुसार सडक विभाग, काठमाडौं महानगरले सडक भित्री सडक कालोपत्र गर्ने काम पनि गरिरहेका छन्।
कोटेश्वर क्षेत्रको ट्राफिक जामलाई पनि व्यवस्थापन गर्ने कार्ययोजना बनेको छ। जसअनुसार कोटेश्वरचोकदेखि जडिबुटी चोकसम्म बायाँतर्फ खाली जग्गामा सर्भिस लेन बिस्तार गर्ने भनिएको छ।
बैशाखभित्र उक्त काम सक्न काठमाडौं महानगर, अर्थ मन्त्रालयलाई आग्रह गरिएको हो। ‘जडिबुटी चोकमा एउटा कच्ची घरको मुआब्जा दिई हटाउने’ तयारी पनि छ। यस्तै जेब्राक्रस निर्माण गर्न पनि सडक विभागलाई जिम्मेवारी दिइएको छ।