लमजुङ हिमाल र अन्नपूर्णको काखमा बस्छ सिकलेस। जहाँ गुरुङ जातिको जिउँदो इतिहास भेटिन्छ। पहाडमाथि दक्षिणतर्फ फर्किएको सिक्लेसमा ४५० घर गुजुमुज्ज बसेको छ। समुन्द्री सतहदेखि २ हजार बढी उचाइमा रहेको यो गाउँमा हिउँदको समय हिउँ खेल्न पनि पाइन्छ।
सिकलेस गाउँलाई स्थानीय भने ‘च्युले नासा’ भन्छन्। गुरुङ भाषामा नासा भनेको गाउँ हो। गण्डकी प्रदेश सांसद मनबहादुर गुरुङका अनुसार च्युलेको परिभाषा हो– सम्झी–सम्झी। गुरुङ जाति जब आदिम थलो कोलासोंथरबाट विस्थापित भए, केही पुर्वज सिक्लेसमा आएर बसे। पुर्वजले सिक्लेसमा बस्ती त बसाए, संस्कार– संस्कृति भने बसाउनुपर्ने भयो।
त्यसपछि उनीहरुले कोलासोंथरमा अपनाएका संस्कृतिहरु सम्झिए। गुरुङ जातिका पुरोहितहरु लामा, घ्याब्रे र पच्युले आ– आफ्ना संस्कार विधि सम्झिए। गन्यमान्य र सर्वसाधारणले आ– आफ्नो कर्तव्य र परम्परा सम्झिए। उनीहरुले गाउँमा रितिथिति बसाए, उनीहरुले सिक्लेसमा साँस्कृतिक पुनर्जागरण ल्याए।
त्यही भएर नै अन्य गुरुङ गाउँका गुरुङ पुरोहित र अन्य संस्कारजन्य विधिमा कुनै विरोधाभाष भए वा पुरा नभए सिक्लेस गएर सिक्नु भन्ने परम्परा अहिले पनि यथावत छ।
अहिले यो गाउँ कास्कीको पर्यटकीय गन्तव्यमा रुपान्तरित भएको छ। कास्कीको ग्रामीण पर्यटनमा यहाँ वर्षेनी आयोजना हुने सिक्लेस मेला महत्वपूर्ण छ।
महोत्सवमा विविध साँस्कृतिक र खेलकुदका कार्यक्रम आयोजना गरिएका छन्। मेलामा चर्चित लोक गायक मिलन लामा, गुरुङ चलचित्रका नायिका प्रतिमा गुरुङ लगायत स्थानीय र राष्ट्रिय कलाकार समेत पुगेका छन्।
माघे संक्रान्तिको अवसरमा आयोजना हुने यो मेलाको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उद्घाटन गरे। हेलिकप्टर मार्फत सिक्लेस आएका भट्टराईले यहाँको संस्कृति र प्रकृतिले आफू मोहित भएको बताए।
उनले ग्रामीण पर्यटन प्रवद्र्धनमा सरकारले ध्यान दिएको बताउँदै मादी गाउँपालिकाको योजनामा सधै साथ दिने बताए। ‘हामी स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्दैछौं’ उनले भने, ‘योजना लिएर आउनुस्, सहयोग मिल्छ।’
मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले सिक्लेसलाई गत असारमा भएको गाउँसभाले ‘साँस्कृतिक भिलेज’ घोषणा गरेको बताए। उनले साँस्कृतिक भिलेज बनाउन विस्तृत योजना प्रतिवेदन तयार भएको र त्यसका लागि १२ करोड रुपैयाँ बराबरको लागत लाग्नेगरी योजना बनेको बताए।
सिक्लेस गाउँका सबै बाटोमा ढुङ्गाको छपनी लगाउने, विजुलीको तार अन्डरग्राउण्ड गर्ने, ढल व्यवस्थापन, बालबालिका र अपाङ्गमैत्री गाउँ बनाउने, जिपिएस म्यापिङ गर्ने र स्थानीय संस्कृतिलाई जोगाई राख्ने यो योजनामा रहेको श्यामले बताए।
मेलामा आएका यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले सिक्लेसलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन गर्ने आफ्नो योजना रहेको बताए। उनले भने, ‘यहीँबाट क्रबुडाँडा, दुधपोखरी हुँदै मनाङ जाने पदमार्ग बनाइन्छ, म सांसद रहँदै पर्यटनको केन्द्र बन्छ।’