अन्नपूर्ण आधार शिविर (बेसक्याम्प) पदमार्गमा हिमपहिरो गएपछि दुई नेपाली सम्पर्कविहीन भएका छन्।
पदयात्रामा गएका चिनियाँ पर्यटकका गाइड र कोरियन पर्यटकका पोर्टर सम्पर्कविहीन भएको अन्नपूर्ण ११ का वडाध्यक्ष भीम गुरुङले जानकारी दिए। उनका अनुसार पर्यटकहरू भने सुरक्षित छन्।
बेसक्याम्प पदमार्गको देउराली र हिमालयबीच रहेको हिमपहिरोले बनाएको खोल्सामा उनीहरू हराएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुर कुँइकेलले जानकारी दिए। उक्त खोल्सा वर्षेनी झर्ने हिउँपहिरोले बनाएको हो।
‘पर्यटक अगाडि कटिसकेका रहेछन्,’ कुँइकेलले भने, ‘चाइनिज गाइड र कोरियन पोर्टर सँगसँगै रहेकाले उनीहरु हिउँपहिरोमा बेपत्ता भएको हुन सक्छ।’ उनका अनुसार हिमपहिरोमा फँसेका एक जना कोरियन पर्यटकको उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको छ।
वडाध्यक्ष गुरुङका अनुसार ९ जनाको समूहमा रहेका कोरियन एकअर्कासँग छुट्टिएका छन्। ‘उनीहरुले आपसमा सम्पर्क पनि गर्न सकेका छैनन्, गुरुङले भने, ‘साथीहरु कहाँ के अवस्थामा छ कसैलाई थाहा छैन।’
बिहीबारदेखि परेको हिमपातका कारण सो पदमार्गमा अहिले सम्पर्कका कुनै माध्यम चल्न सकेका छैनन्। हिमपातका कारण पदमार्गमा रहेका लघुजलविद्युत आयोजना बन्द भएको र विजुली नहुँदा फोन र इन्टरनेटको टावर डाउन भएको वडाध्यक्ष गुरुङले बताए। उनको एबिसी पदमार्गअन्तर्गत छोमरोङ र हिमालयमा होटल छ।
उता, मनास्लु संरक्षण क्षेत्र अन्तर्गत मनास्लु पदमार्गमा पनि हिमपहिरो गएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो लार्केपास पदमार्ग अन्तर्गत लार्केबाट सामागाउँ जाने पदमार्गमा हिमपहिरोले करिब २५ मिटर बाटो बन्द भएको।
मनास्लु पदमार्गमा हिमपहिरो गएको सूचना आएपछि पर्यटकलाई पदयात्रा गर्न रोक लगाएको र प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले भेरिफाइ इन्फरमेसन नआएको बताए। ‘केही कोरियन पर्यटक र नेपाली हराए भन्ने छ, हामी पनि जान सक्ने अवस्था छैन, एसपी मल्लले भने, भेरिफाइ नगरी केही भन्न सक्दैनौं।’