ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इञ्जिनियरिङमा पुस २९ देखि माघ ६ सम्म ‘स्पोर्ट्स विइक’ चल्दैछ। साथीहरू खेलमा तल्लिन भइरहेको समय सोही कलेजमा आर्किटेक्चर इञ्जिनियरिङ विषयमा ब्याचलर दोस्रो वर्षमा अध्ययनरत प्राची दाहाल, समृद्धि दाहाल र अदिति न्यौपाने भने सिक्लेस घुम्न निस्किए।
खेलकुदमा खासै रुची नभएका उनीहरू यो समय के मा उपयोग गर्ने भनेर सल्लाह गरे। तीन जना मिले, काठमाडौंबाट ५ दिनको यात्राका लागि सिक्लेस हानिए। प्राची यसअघि अन्नपूर्ण आधार शिविर पदयात्रा गरिसकेकी रहिछन् भने समृद्धि घान्द्रुक पुगेकी रहिछिन्।
अदितिको घर पहाडको पाँचथरमा पनि भएकाले उनी त्यतै घुमेकी रहिछन्। उनको स्थायी घर भने झापाको विर्तामोड हो। केही वर्षयता पढ्नका लागि काठमाडौं बस्छिन्। इटहरीमा जन्मिएर ३ वर्षको उमेरदेखि प्राची काठमाडौं बस्छिन्। समृद्धिको त घर नै काठमाडौं।
घान्द्रुकमा उनीहरूले घरहरूको अध्ययन गरे। सामाजिक संस्कार बुझ्न खोजे। गाउँ वरिपरिका डाँडापाखा उक्लिए, सुर्योदय र सुर्यास्त हुँदा झल्कने प्रकाशका रङहरू हेरे। झरनामा पुगे र हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचे। त्यसपछि उनीहरूले पूरै गाउँलाई संग्रहालयमा राखिएको इको म्युजियम हेरे।
आर्किटेक इञ्जिनियरिङका विद्यार्थी भएकाले उनीहरूलाई पहाडका घरहरूले तान्यो। पढाइमै उनीहरूले नेपालका हिमाल, पहाड र तराईका घरहरूका बारेमा पढ्नुपर्ने रहेछ।
यी ठाउँहरूमा स्थानीय स्रोत साधन उपयाग गरेर बनाइएका घरहरू फरक– फरक प्रकृतिका हुनुमा त्यहाँको हावापानी, मौसम, संस्कृति लगायत कारण रहेछन्।
नेपालका यी तीनै ठाउँका घरहरूको किताब र कक्षाकोठामा पढेका उनीहरू यस्ता घरहरू हेर्न एक्ला– एक्लै वा यसरी नै साथीहरू मिलेर घुम्न हिँड्ने रहेछन्।
सिक्लेस घुम्दा उनीहरूले घरहरू डुले। समानता र फरक बुझ्ने प्रयास गरे।
सिक्लेस गाउँ दक्षिण पूर्वमा फर्किएको छ। यी गाउँका घरहरूमा ढोका र झ्याल बिहानै घामको पहिलो झुल्का घरभित्र जाने गरी बनाइएका छन्।
पहाडमा घर बनाउने परम्परागत ज्ञान अनुसारभित्र चिसो हुन नदिन उज्यालोका लागि यसो गरिएका हुन्।
उनीहरूले घरको डिजाइन गर्दा प्रत्येक कोठामा घाम पुग्ने गरी बनाउन सक्नुपर्ने बताए। झ्याल माथि काठ राखिएका छन्। बार्दली निकालिएका घरहरू हेर्दा राम्रो मात्र नभएर बलियो र परम्परागत प्रविधिमा आधारित भूकम्प प्रतिरोधी छन्। यद्यपी यी घरहरूलाई भूकम्प प्रतिरोधी घर प्रमाणित गर्न भने अहिलेको इञ्जिनियरिङको मापदण्ड नपुग्ने उनीहरू बताउँछन्।
सहरमा अग्लो घर बनाउने चलन छ। पहाडका यी परम्परागत घरहरू भने किन अग्ला भएनन् त? उनीहरू अड्कल गर्छन्, पहाडका मानिस अलि होंचा भएर होला। घर न्यानो बनाउन पनि धेरै अग्लो नबनाइएका हुन सक्छन्। तुलनात्मक रूपमा अग्लो घर भन्दा होंचा घरहरू न्यानो हुन्छन्।
हिमाली क्षेत्रका घरहरू पहाडको तुलनामा अझै होंचा हुन्छन्। घरभित्र अँगेना वरिपरि आगो ताप्ने ठाउँ बनाइएका हुन्छन्। तराईमा माटो र बाँसको प्रयोग गरेर अलि अग्लो घर बनाइएका हुन्छन्।
‘तराईका झ्याल पहाड र हिमालको तुलनामा ठूलो हुन्छ, प्राचीले भनिन्, गर्मीबाट जोगिन हावा चलोस् भनेरै ठूलो झ्याल राखेर अग्लो घर बनाएका होलान्।’
तराईमा बनेका घरमा माथि बस्ने गरी बनाइन्छ, भुँइतहमा भन्दा माथि हावा पनि चल्ने र सर्पबाट पनि जोगिने उपाय यी घरहरूको डिजाइनमा देखिने उनीहरूको भनाइ छ।
तराईका प्रायजसो घरहरूको आँगन घरको बीचमा राखिेन रहेछ। जुन उनीहरूले काठमाडौं उपत्यकाका नेवारी परम्परागत घरका आर्किटेकमा पनि देखेका थिए।
काठमाडौंबाट झण्डै २५० किलोमिटर पर्छ सिक्लेस।
तीन जनामात्र मिलेर ५ दिनको यात्रा गर्दा उनीहरूले ‘सहर बजार मात्र कति घुम्ने’ भनेर गाउँ रोजेका रहेछन्। सिक्लेसका घरहरू ढुङ्गाले छाएको पुरानो प्रविधि छाडेर जस्ता पाताले छाउन थालेको देख्दा उनीहरूको चित्त बुझेन।
अझै एकाध घर त आरसीसी प्रविधिमा सहर बजारको जस्तो बन्दै गरेका छन्।
उनीहरू परम्परागत तरिकाले नेपाली घर बनाउने प्रविधिको विकास गर्नुपर्ने धारणा राख्छन्।
‘हामीले हाम्रो पुरानो प्रविधिको समयअनुकूल विकास गर्न सकेनौं, अदितिले भनिन्, जहाँ पनि आरसिसी प्रविधि भित्रिदै छ ।’
घरलाई स्थानीय सामग्री र प्रविधिको प्रयोग गरेर पनि बलियो बनाउन सकिने उनीहरू बताउँछन्।
आरसिसी प्रविधिमै बनाए पनि पुरानो डिजाइन राख्ने र छानामा ढलानमाथि ढुङ्गा छाप्न सकिने प्राचीको भनाइ छ।
‘कम्तीमा हेर्दा मात्र भए पनि गाउँको जस्तो घर हुनुपर्छ, पुरानो डिजाइन र प्रविधिलाई जोगाइराख्नुपर्छ।’
गाउँकै परम्परागत घरमा बनाइएका होटलमा बसेका उनीहरूले घरका कोठा भने गोप्य बनाउनुपर्ने बताए।
‘हामी बस्दा अर्को कोठामा बोलेका कुरा प्रष्ट सुनियो’, समृद्धिले भनिन्, ‘कोठा बनाउँदा यसरी आवाज अर्को कोठामा जानेगरी बनाउनु हुँदैन ।’
घरहरू हेर्दै डुल्दा उनीहरूले समाजका अर्को पाटो पनि बुझे।
सिक्लेस गाउँमा अहिले ४५० घर छन्। सबै घर आपसमा एकदम मिलेर बसेका। गाउँमा जो आए पनि प्राय: सबैलाई थाहा हुने, एकदम न्यानो आतिथ्यता प्रदान गर्ने। बजारमा यस्तो नहुने उनीहरूको बुझाइ छ। ‘काठमाडौंमा एउटा कोठामा के भइराखेको छ अर्कोलाई थाहा हुँदैन’, प्राचीले भनिन्, ‘यहाँ त कुन घरमा के पाक्दैछ सबै थाहा हुने रहेछ!’
आर्किटेकका विद्यार्थी उनीहरूलाई अर्को कुराले अचम्म पारेछ। यहाँको सबै घरमा मानिस हिँड्ने बाटो जोडिएका छन्। घरहरू जोडिएरै बनेका छन्। आपसमा एकदमै कनेक्टिङ रहेछ। एक अर्कोका दु:ख सुख र दैनिकी मिलेर चलाउँदा रहेछन्, दुख– सुख मिलेरै काम गर्ने मिलेरै रमाइलो गर्ने।
गाउँका मानिस आपसी सद्भाव र सहयोगमा बाँच्छन्, उनीहरूको निश्कर्ष छ, यहाँ साँच्चैको समाज छ, सहरमा समाज छैन घरहरू मात्रै।
उनीहरू यस्तो चलन जोगाइ राख्न पनि घरहरूको भूमिका रहने बताउँछन्। ढुंगा र माटो, स्थानीय काठ र दाउराका प्रयोग गरेर बनाइएका घरहरूलाई जोगाउनुपर्ने उनीहरूले गाउँलेलाई सुझाव समेत दिए।
‘यहाँको घरमा जुन स्मेल (वासना) छ त्यो हराउनु हुँदैन’, प्राचीले भनिन्, ‘काठमाडौं र सिक्लेसका घरका प्याट्रन एउटै भयो भने यहाँको महत्व हराउँछ।’
सिक्लेस आसपास घुमिरहेका उनीहरू फेरि यो ठाउँ आउने योजना बनाइरहेका छन्। त्यतिबेला यही बाटो भएर जाने नेपालकै कान्छो हिमताल कपुचे हिमतालसम्म पदयात्रामा जाने योजना छ उनीहरूको।
घुमघाम र पदयात्रामा किन यत्रो चासो? प्राचीले कुराकानीको बिट मारिन्, ‘घुमघाम र पदयात्राले रिफ्रेस बनाउँछ’, उनीहरू भन्छन्, ‘विषयलाई नयाँ तरिकाले हेर्ने दृष्टि दिन्छ, सिर्जनशील बनाउँछ।’