सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्नेले रौतहटको एक गाउँमा बास नै पाउँदैनन्।
चन्द्रपुर नगरपालिका ९ स्थित नजरपुर गाउँमा वर्षौंदेखि गाउँलेहरुले मदिरा तथा सुर्तीजन्य पदार्थ निषेध गर्दै आएका छन्।
निजानन्दधामका नामले यो ठाउँ प्रशिद्ध छ। यो प्रदेश २ कै नमुना धार्मिक सुन्दर गाउँ हो।
यो गाउँ प्रदेशको अस्थायी राजधानी शहर जनकपुरबाट करिब ९५ किमी (ढल्केवर हुँदै पुर्वपश्चिम राजमार्ग) पश्चिममा अवस्थित छ।
प्रदेश २ को धार्मिक पर्यटकीय गन्तव्यमा सूचीकृत यो ठाउँलाई ‘शाकाहारी नमुना गाउँ’को नामले पनि चिनिन्छ। यहाँ कुनै पशुबलिका प्रथा छैनन्।
यस गाउँको मध्यभागमा निर्माण गरिएको कलात्मक कृष्ण प्रणामी मन्दिरले धेरैको ध्यान खिच्ने गरेको छ। मन्दिरसँगै रमणीय सुन्दर बगैँचा छ। सो मन्दिरबाटै विद्यालय, पाकशाला, बृद्धाश्रम, धर्मशाला सञ्चालन हुँदै आएको छ।
२०२० सालमा स्थापना गरिएको नजरपुर गाउँमा करिब एक सय ५० घरहरु छन्। गाउँमा ६ वटा किराना पसलहरु छन्, कुनै पनि पसलहरुले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्दैनन्।
चार वर्षदेखि किराना पसल गर्दै आएका डिल्लीप्रसाद देवकोटाले भने ‘खैनी, पराग, चुरोट, मदिरा केही पनि बिक्री वितरण गर्न पाइँदैन, गाउँमा खान समेत पाइँदैन।’
सो गाउँका सबैले कृष्ण प्रणामी धर्म मान्दै आएका छन्। स्थानीयकै सक्रियतामा गाउँलाई २० वर्षअघि नै पुर्ण साक्षरता बनाइएको स्थानीय रमेश सापकोटाले बताए।
नजरपुर गाउँका अधिकांश मानिसको मुख्य पेशा कृषि हो। दूध, धान, गहुँ, मकैको बिउ उत्पादनको लागि गाउँ प्रख्यात छ।
दुग्ध सहकारी र केही कृषि सहकारीसँगै बिउ उत्पादन कम्पनी समेत छ। नमुना महिला कृषक सहकारी संस्थाले प्रदेश २ कै नमुना बिउ बिजन उत्पादन गरी देशैभर बिक्री वितरण गर्दै आएको छ।
गाउँका सबै घरमा शौचालय छन्। सो गाउँबाट ५० वर्षयता अदालतमा मुद्दा नपरेको स्थानीय बृद्ध कृष्णप्रसाद सापकोटाले बताए।
सापकोटाले भने ‘गाउँमा झै–झगडा तथा अपराधका घटना नै हुँदैन किन जानु पर्यो अड्डा अदालत?’
देशकै नमुना गाउँको रुपमा विकास हुँदै गएको नजरपुर गाउँलाइ अझै सुन्दर बनाउन सडक, ढल तथा आधुनिक कृषि प्रणाली आवश्यक रहेकाले ती कार्यक्रमहरुमा बजेट विनियोजन गर्न आफू लागिपरेको रौतहट क्षेत्र नम्वर ४ का सभासद देव प्रसाद तिमिल्सिनाले बताए।