२०२९ सालमा वीरेन्द्रनगरको गुरूयोजना निर्माण गर्दा पानीको मुहान संरक्षणका लागि भनेर ऐलानी छोडिएको जग्गा उपभोग तथा किनबेच गरेको पाइएको छ।
वीरेन्द्रनगर-३ स्थित ‘पतेनी धारा’ को मुहानका लागि गुरूयोजना निर्माण गर्दा चार कठ्ठा जग्गा संरक्षणका लागि भनेर ऐलानी छोडिएको थियो।
त्यसमध्ये ३ कठ्ठा साढे १९ धुर जग्गा व्यक्तिका नाममा लिई किनबेच गर्ने गरेको पाइएको हो।
स्थानीय मोतिलाल थारुका नाममा जग्गाको सेतो पूर्जा दिइएको छ। वडा नम्बर ३ का वडा अध्यक्ष भूपेन्द्र खत्रीका अनुसार तत्कालीन सुकुम्वासी समस्या समाधान समितिसँगको मिलेमतोमा व्यक्तिका नाममा उक्त जग्गा भोगचलन गर्ने हक प्रदान गरिएको हो।
‘पानीको मुहान बचाउन भनेर गुरूयोजना बनाउँदा चार कठ्ठा जग्गालाई त्यसै ऐलानी छोडिएको रहेछ,’ वडा अध्यक्ष खत्रीले भने, ‘त्यो जग्गा त्यसबेला दलालहरूको मिलेमतोमा सेतो पूर्जा ल्याएर बेचबिखन भइसकेको छ, यसको विरोध स्थानीयले गरिरहेका छन्।’
जग्गा भोगचलन गर्ने अधिकार पाएका मोतिलाल थारुको मृत्यु भइसकेको छ। अहिले उनका छोरा कृष्ण बहादुर चौधरीले सोही सेतो पूर्जाका आधारमा ६ धुर जग्गा समेत बेचेका छन्। ३ कठ्ठा साढे १९ धुरमध्ये ६ धुर जग्गा कालिकोटका कृष्ण बहादुर शाहीलाई चौधरीले बेचेका छन्।
३० लाख रुपैयाँमा पछि दर्ता गर्न मिल्ने अवस्थामा दर्ता गरिदिने र अहिलेलाई भोगचलन गर्नु भन्ने शर्तमा २०७५ वैशाख २३ गते चौधरीले शाहीलाई जग्गा बेचेका हुन्। शाहीले किनेको जग्गा पानीको मुहानमै पर्छ। त्यहाँ शाहीले पक्की संरचना निर्माण गर्न डिपिसी गरिसकेका छन्।
सुक्ने खतरामा पानीको मुहान
पानीको मुहानमै पक्की संरचना र सेप्टिक ट्यांकी बनेपछि स्थानीयले समेत विरोध गर्न थालेको वडा अध्यक्ष भूपेन्द्र खत्रीले बताए।
‘बाह्रैमास आउने यो पानीले खडेरीको समयमा यहाँका सिंगो बस्ती धानेको छ,’ अध्यक्ष खत्रीले भने, ‘अवैधानिक रूपमा मुहानका लागि छुट्याइएको जग्गा किनबेच गरी पक्की संरचना बनाउन थालेपछि स्थानीयले पनि विरोध गर्न थालेका छन्।’
पानीको मुहानमै पक्की संरचना बन्ने भएपछि मुहान सुक्ने खतरा बढेको टोल विकास समितिका अध्यक्ष धर्म विष्टले बताए।
स्थानीय बस्तीदेखि खडेरीको समयमा वरपरका बस्तीलाई समेत राहत मिलेको पानीको मुहान बचाउन आफूहरू लागिपरेको उनले बताए।
वडा अध्यक्ष खत्रीका अनुसार शाहीले स्थानीय तहबाट अनुमति नलिएरै संरचना निर्माण गर्न थालेका हुन्। स्थानीय तहभित्र कुनै पनि प्रकारका संरचना बनाउँदा स्थानीय तहको अनुमति लिनुपर्ने हुन्छ।
‘हामीलाई सहयोग भएन’
वडा अध्यक्ष खत्रीले मुहानमा बन्न लागेको उक्त संरचना भत्काउन पहल गर्दा पनि नगरपालिका र प्रशासनबाट सहयोग नपाएको गुनासो गरे। स्थानीयले वडा कार्यालयमा डेलिगेसन गरेपछि संरचना भत्काउनतर्फ पहल गरेको उनले बताए ।
‘स्थानीयको डेलिगेसन आएपछि मैले भत्काउनुस् भनेर आग्रह गरे, बनाउने मान्छेले मानेनन्,’ खत्रीले भने, ‘त्यसपछि नगरपालिकालाई पनि चिठी पठाएँ, अनुगमन गरे पनि काम भने गर्न सकेका छैनन।’