बाँकेका अमरबहादुर सुनार र लक्ष्मी सुनारको आर्थिक अवस्था कमजोर थियो। एउटा सानो घरबाहेक धनसम्पत्ति केही थिएन। उनीहरू रोजगारका लागि भारतको चण्डीगढ धाउँथे।
२०६४ सालको कुरा।
राप्ती सोनारी गाउँपालिका-४, बैजालपुरका सुनार दम्पती सात वर्षे छोरा सन्तोषलाई लिएर भारत जाँदै थिए। लुधियानाबाट चण्डीगढ रेलको टिकट हातमा थियो। रेल्वे स्टेसनको भीडभाडमा छोरा छुट्ला भनेर अमरबहादुरले कसिलोसँग हात समातेका थिए।
जे होला भन्ने डर थियो, आखिर त्यही भयो।
आमाबाबु रेलको खुड्किलो उक्लिँदा पछिपछि रहेका सन्तोष छुटे। तान्न खोज्दाखोज्दै रेल अगाडि बढिहाल्यो। उनीहरू चण्ढीगढ त पुगे, तर मन अडिएन। छोरालाई खोज्न फेरि त्यही स्टेसन फर्के। भारतको त्यो अञ्जान ठाउँमा सन्तोष कहाँ पुगे, अत्तोपत्तो भएन।
छ वर्षपछि लखनउमा एक बेवारिसे नेपाली बालक फेला पर्यो। उनी भारतका विभिन्न बालगृह हुँदै राजकीय बालगृह पुगेका रहेछन्। त्यहाँबाट सारेर उत्तरप्रदेशको देवरिया बालगृह पुर्याइएको रहेछ।
दिल्लीको प्रवासी मित्र मञ्च नेपालले ती बालकको नाउँ सन्तोष र घर नेपालगन्ज रहेको पत्ता लगायो। उनी आफ्नो आमाबाबुको नाम भन्न जान्दैनथे।
त्यही संस्थाको पहलमा नेपाली दूतावाससँग समन्वय गरेर २०७५ साउन ५ गते सन्तोषलाई नेपाल ल्याइएको उनको उद्धारमा संलग्न अविनाश अनाथ आश्रम रूपन्देहीका संरक्षक कृष्णप्रसाद ज्ञवालीले बताए।
नेपाली बाेलीचाली र लवजबाट बिरानो भइनसकेका सन्तोषलाई जिल्ला प्रहरी कार्यालय रूपन्देही ल्याइयो। नेपाल आइपुग्दा उनी १८ वर्षका लक्का जवान भइसकेका थिए।
ज्ञवालीले उनलाई आफ्नो आश्रममा राख्न प्रहरीसँग अनुमति मागे। प्रहरी र प्रवासी मित्र मञ्चको रोहवरमा सन्तोषलाई आफूसँग राख्ने र आफन्त पनि खोज्ने जिम्मा ज्ञवालीले नै लिए।
उनले अभिभावक पत्ता नलागेसम्म अस्थायी संरक्षणका रूपमा सन्तोषलाई अविनाश अनाथ आश्रम कोटिहवा लगे। त्यहीँको बालगृहमा राखेर पशुपति उच्च माविमा भर्ना गराए। त्यति बेला उनी ८ कक्षा पढ्दै थिए।
सन्तोषलाई आश्रममा राख्ने बन्दोबस्त मिलाएपछि ज्ञवाली उनको परिवार खोज्न थाले।
सोधीखोजी गर्दा सन्तोष नेपालगन्जको कालो झोलुंगे पुल र कुसुम मात्र भन्थे। ज्ञवालीले यो कुरा प्रहरीलाई सुनाए। रूपन्देही प्रहरीले बाँकेमा सम्पर्क बढायो। तर, सन्तोषका अभिभावक भेटिएनन्।
सात-आठ महिनाअघि सन्तोष बिरामी भएका थिए। जिल्ला अस्पताल लैजाँदा एक जना नर्ससँग ज्ञवालीले यसबारे कुरा गरे। नेपालगन्जमा पहिले काम गरेकी ती नर्सले सोधीखोजी गर्ने बचन दिइन्।
यसरी अनेक प्रयास गर्दा पनि नभेटिएका अभिभावकको सुइँको सडकमा काम गर्ने मजदुरबाट पाएको ज्ञवालीले बताए।
उनका अनुसार, तीन-चार महिनाअघि भैरहवा-बुटवल सडकमा काम गर्ने मजदुरहरूसँग सोधीखोजी गर्दा एक जनाले आफ्नो गाउँको एउटा बालक भारतमा हराएको बताएका थिए।
ज्ञवालीले ती मजदुरलाई विस्तृत खबर ल्याउन लगाए। उनले बैजालपुर गाउँका अगुवा सन्तोष खड्कासँग सम्पर्क गराइदिए।
खड्काले सन्तोषका अभिभावक खोज्न सुरू गरे। उनले चण्डीगढमा रहेका अमर र लक्ष्मी सुनारलाई पनि फोन गरेर सोधिखोजी गरे। उनीहरूले हराएका बालक आफ्नो छोरा हुनसक्ने जनाउ दिए।
छोरा भेटियो भन्ने लागेर दुवै नेपाल आए।
ज्ञवालीले सुरूमा बालकलाई नदेखाई बायाँ खुट्टामा पोलेको घाउको खत र टाउकोको खतबारे अभिभावकलाई सुनाए।
उनीहरूले ‘देखे चिन्छौं’ भनेपछि बालकलाई देखाए। अमर र लक्ष्मीले आफ्नो बच्चा पहिचान गरेपछि उनीहरू त्यहीँ रून थाले। सन्तोषले भने राम्ररी चिन्न सकेनन्।
‘१२ वर्षपछि हराएको छोरा भेटाउँदा अभिभावकको खुसीको सीमा रहेन,’ ज्ञवाली भन्छन्, ‘म आफैं पनि कति रोएँ।’
आमाबाबुले पहिचान गरेपछि पुनर्मिलनका लागि सन्तोषको जन्मदर्ता, नाता प्रमाणित, सम्बन्धित स्थानीय तहको सिफारिस लगायत कागजात ल्याइएको थियो। यसनिम्ति ज्ञवाली आफैं नेपालगन्ज गएका थिए।
‘सबैतिर बुझ्दा सन्तोष उनीहरूकै छोरा भएको थाहा भयो,’ ज्ञवालीले भने।
मंगलबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पारिवारिक पुनर्मिलन कार्यक्रम राखिएको थियो। सन्तोषलाई आफन्तको जिम्मा लगाउँदा प्रहरी कार्यालयमा अभिभावकले हर्षका आँशु झारे। प्रहरीसमेतका आँखा ओभाना थिएनन्।
‘पुनर्मिलनको माहोलमा हर्षका आँशु खस्दा वातावरण भावुक बन्यो,’ प्रहरी उपरीक्षक हेमकुमार थापाले भने।
सात वर्षको कलिलो उमेरमा आमाबाबुबाट विछोडिएका सन्तोष जवान भएपछि मंगलबार अभिभावकको जिम्मामा पुगे। सबै कानुनी प्रक्रिया पुगेपछि अमर र लक्ष्मी सन्तोषलाई औपचारिक रूपमा बुझ्न सोमबार बुटवल आएका थिए।
सन्तोषलाई विदा गर्दा ज्ञवाली पनि थामिएनन्। ‘आमाबाबुले त माया मारिसकेका रहेछन्,’ ज्ञवालीले भने।
सन्तोष छुटेपछि अमर र लक्ष्मीबाट तीन छोरी र एक छोरा जन्मेका थिए। सन्तोषसमेत गरेर अब पाँच भएका छन्।
एसपी थापाका अनुसार यो कथाको जड गरिबी थियो। रोजगारका लागि सानो बच्चा च्यापेर भारत जाँदा अमर र लक्ष्मी सन्तानबाट टाढिनुपरेको उनले बताए।
जेठो छोरासँग मिलन भएपछि अमर र लक्ष्मीले अब भारत नजाने निधो गरेका छन्। नेपालमै दु:ख गरेर परिवार पाल्ने सोच बनाएका छन्।