भक्तपुरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बुधबार साँझ साढे ५ बजे चाँगुनारायण नगरपालिका-७ का १६ वर्षीय रोहन सुवालको हत्या भएको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएका सुवालको भक्तपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
भक्तपुर परिसर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार मादक पदार्थ सेवन गरेर सडकमा निस्केका तिनै युवकबीच भनाभन हुँदा सुवालमाथि छुरा प्रहार भएको हो।
भक्तपुर नगरपालिका-६ भोलाँछेमा सुवालमाथि दुई युवकले छुरा प्रहार गरेका थिए। तिनै जना नजिकैको पसलमा मदिरा पिएर निस्केका थिए।
युवकको हत्यालगत्तै संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर-१ सिद्धपोखरीको कान्तिपुर गेस्ट हाउसको २०३ नम्बर कोठामा बसिरहेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो।
हत्यापछि उनीहरू भागेर त्यहाँ पुगेको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै १५ वर्षका युवक हुन्। प्रहरीले दुवैको नाम खुलाएको छैन।
पक्राउ परेपछि दुबैले प्रहार गरेको छुरा लुकाएको स्थान बताएका थिए। भक्तपुर-२ कालोपाटीदेखि झौखेल जाने सडकको झाँडीमा लुकाएर राखेको छुरा बरामद गरिएको एसपी प्रधानले बताए।
पक्राउ परेकाले प्रारम्भिक बयानमा छुरा प्रहार गरेको स्वीकार गरेका छन्। ‘तिनै जना साथी-साथी रहेको तर कलिलो उमेरमा कूलतमा फसेका युवक हुन् भन्ने खुलेको छ,’ प्रधानले भने, ‘सँगै मदिरा पिएर निस्केपछि विवाद हुँदा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’