मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भिडिओ कन्फरेन्समा जोडिए।
विराटनगरमा बनेको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा तथा नुवाकोटमा भारतीय सहयोगमा बनेका भूकम्प प्रभावितका घर हस्तान्तरण ओलीले सिंहदरबार र मोदीले नयाँदिल्लीबाटै स्वीच थिचेर संयुक्त रूपमा गरे।
भिडिओ कन्फरेन्सकै बेला २०७२ सालको ‘गोरखा भूकम्प’को केन्द्र गोरखा र नुवाकोटमा भारतीय सहयोगमा बनेका भूकम्प प्रतिरोधी घरका झलक देखाइएको थियो।
भारतीय सरकारको आर्थिक सहयोगमा बनेका घर हेरेपछि मोदीले पुनर्निर्माणको प्रगति देखेर सन्तोष मिलेको प्रतिक्रिया दिए।
गत भदौ २४ गते मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरणकै दिन यी घर संयुक्त रूपमा हस्तान्तरण गर्ने कार्यक्रम भए पनि तयारी नपुगेपछि अन्तिम समयमा मिति सारिएको थियो।
त्यसबेला नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जिवसिंह पूरीले गोरखा पुगेर पुनर्निर्माण भइसकेका घर अवलोकन गरेका थिए।
भारतले गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण गर्न १५ अर्ब ८७ करोड रुपैयाँ सहयोग गरेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले दिएको जानकारीअनुसार अहिलेसम्म ४६ हजार घर निर्माण भइसकेका छन्।
गोरखामा २६ हजार नौ सय १२ वटा घर बन्नेछ। यीमध्ये २४ हजार दुई सय ८४ घर निर्माण सकिएको छ। नुवाकोटमा २३ हजार ८८ वटा घर बन्नुपर्नेमा अहिलेसम्म २० हजार नौ सय चार घर बनिसकेको घिमिरेले जानकारी दिए।
भारतीय सहयोगमा गोरखामा दश विद्यालय भवन र ३२ स्वास्थ्य चौकी पुनर्निर्माणमा भारतीय सरकारले सघाएको थियो।
यी घर निर्माणको जिम्मा नेपाल आवास पुनर्निर्माण परियोजनाले अघि बढाएको हो।
‘निजी आवास निर्माण गर्न भारत सरकारले प्राविधिक सहयोग गरेको हो,’ उनले भने।
भारत सरकारले प्रतिघर निर्माणका लागि तीन लाख रुपैयाँ उपलब्ध गराएको हो।
उक्त रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाटै भूकम्प प्रभावित लाभग्राहीलाई उपलब्ध गराइएको थियो।
१५ अर्ब प्राधिकरणमार्फत् र ८७ करोड परियोजनामार्फत् प्राविधिक सहयोगमा खर्च गरिएको छ। सन् २०१८ मार्चदेखि निजी आवास पुनर्निर्माणको काम सुरू भएको थियो।
सन् २०२१ मार्चभित्रमा जिम्मा लिएका निजी आवास र विद्यालय तथा स्वास्थ्यचौकीहरू पुनर्निर्माण भइसक्ने परियोजनाले उल्लेख गरेको छ।
तस्बिरहरू: राम सापकोटा र तारा ढकाल।