कालिकोटको तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीलाई उपमेयर दन्ता नेपाली अमेरिका गएको थाहा थियो। तर, उनी अमेरिकामा के गरिरहेकी छन् र कहिले फर्किन्छन् पत्तो थिएन।
हुन पनि पछिल्लो तीन महिनादेखि दन्ता नगरपालिकाको आफ्नो कार्यकक्षमा भेटिन्थिनन्।
नेपालीले शाहीसँग नगरपालिका संघले आफूलाई एउटा गोष्ठीका लागि अमेरिका पठाउन लागेको भनेकी थिइन्। उनको विदेश भ्रमणबारे नगरपालिकाले औपचारिक निर्णय गरेको थिएन।
चार दिने गोष्ठीका लागि गएकी नेपाली तीन महिना बित्दा पनि अमेरिका बसेकोबारे कसैले खासै चासो राखेका थिएनन्।
बिहीबार बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय सभा सदस्यका लागि भएको मतदानमा नेपाली भोट खसाल्न नआएपछि दन्ताबारे खोजीनिती सुरू भयो।
उनी अमेरिकामै लुकेका समाचारहरू आए। तर, नगरपालिकाका अरू जनप्रतिनिधि र परिवारसँग भने उनले आफू बिरामी परेको बताएकी थिइन्। एक सातादेखि भने उनीसँग कसैको पनि सम्पर्क भएको छैन।
कात्तिक १ गते इन्टरनेसनल सिटी मेनेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन नेपालका तर्फबाट दुई जना जन-प्रतिनिधि अमेरिका गएका थिए।
गोष्ठीमा नेपाली र धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना थिए।
चार दिने कार्यक्रममा सहभागी हुन पुगेका नेपाली र ढुङ्गानाको गोष्ठीसहित २१/२२ दिन बस्ने कार्यक्रम थियो। सोही योजनाअनुरूप दुबै जनाको फर्कने टिकट नोभेम्बर ७ (कात्तिक २१) गते भएको नीलकण्ठ नगरपालिकाका मेयर ढुङ्गानाले बताए।
‘अमेरिका पुगसिसकेपछि साथीभाइसँग भेटघाट र घुमफिर गर्न २१/२२ दिनको भिसा लिएको थिएँ,’ ढुंगानाले सेतोपाटीसँग भने, ‘मेरो नोभेम्बर ७ को फर्कने टिकट थियो। दन्ताजीले पनि आफ्नो टिकट त्यही दिन भएको बताउनुभएको थियो।'
ढुङ्गानाका अनुसार छुट्टाछुट्टै प्लेनमा तर एकैदिन उनीहरू एउटै कार्यक्रमका लागि अमेरिकाको टेनेसी पुगेका थिए।
‘कार्यक्रम सकिएपछि उहाँ बोस्टन जानुभयो म न्यूयोर्क। हाम्रो बेलाबेलामा म्यासेन्जरमा कुराकानी भएको थियो,’ उनले भने।
भेटघाट हुँदा ठिकठाक भए पनि अमेरिकाबाट फर्कने दिन नेपालीले आफू दिदीकोमा भएको र सञ्चो नभएर नेपाल फर्कन नसक्ने बताएको ढुंगानाले बताए।
‘दिदीकोमा छु। ढाडको नशा दुखेर नेपाल फर्कन नसक्ने भएँ भन्नुभयो,’ उनले थपे।
उपमेयर नेपालीसँग नेपाल फर्किएपछि पनि म्यासेन्जरमा कुराकानी हुन्थ्यो।
अन्तिम पटक मेसेन्जरमार्फत एक महिना अगाडि कुराकानी भएको ढुङ्गानाले बताए।
‘बेकार यहाँ आएछु। बिरामी भएँ भन्दै रुँदै हुनुहुन्थ्यो। त्यसपछि कुरा भएको छैन,’ उनले भने।
नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले उपमेयर नेपाली अमेरिका गएको थाहा भए पनि फर्के/नफर्केकोबारे आफूलाई जानकारी नभएको बताए।
‘के भएको थाहा छैन। फिर्ता बोलाउन हो भने बुझेर उहाँलाई पराराष्ट्र मन्त्रालयले पत्र पठाउनुपर्छ,’ ब्याञ्जुले भने।
उपमेयर नेपालीलाई के भएको हो भन्नेबारे हामीले सुर्खेतमा रहेका उनका भाइ कविराज नेपालीसँग पनि कुराकानी गरेका थियौं। दन्ताले जनवरी अन्तिममा नेपाल आउने कुरा गरेको कविराजले बताए।
‘पुसको तेस्रो सातातिर कुरा भएको थियो, त्यसबेला जनवरी अन्तिममा आउँछु भन्नुभएको हो, अरू धेरै कुरा भएन,’ कविराजले भने, ‘२०१८ मा डिभी परेको हो उहाँको, डिभी पर्दा त जानुभएन भने अहिले किन उतै बस्न चाहनुहुन्थ्यो र।’
२७/२८ वर्षकी दन्ता पहिला नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनमा थिइन्। उनका बुवा २०५४ सालमा नेमकिपाबाट कालिकोटमा वडाध्यक्ष बनेका थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि उच्च शिक्षा अध्ययनका लागि दन्ता काठमाडौं आएकी थिइन्। बागबजारको पद्मकन्या क्याम्पसमा बिबिएस पढेकी उनले माओवादीको विद्यार्थी राजनीति गरेकी थिइन्।
दुई वर्षअघि भएको चुनावमा उनले तत्कालीन माओवादी केन्द्रबाट टिकट पाएकी थिइन्।
उनी अहिले अमेरिकामा लुकेकी हुन् कि बिरामीले थलिएकी हुन् भन्ने नगरपालिकाका उनका सहकर्मीहरूले पनि पत्तो पाउन सकेका छैनन्।
तिलागुफा- ४ का वडाध्यक्ष खड्कराज शाहीले नेपालीसँग निरन्तर सम्पर्क गरिरहेका थिए।
सुरूमा उनले म्यासेन्जरमा आफ्नो ढाडको नसा च्यापिएर नेपाल आउन नसकेको बताएकी थिइन्।
‘दाइ मेरो ढाडको नसा दुखेर न बस्न मिल्छ न पल्टिन। म त मर्छु होला, नेपालमै मर्न मन थियो तर के गर्ने प्लेनमा बस्न पनि सक्दिनँ भन्नुभएको थियो,’ शाहीले सेतोपाटीसँग भने, ‘पछि कुरा गर्दा उहाँले होइन अरू कसैले रिप्लाई दिन थाले।’
नेपालीले खड्कराजसँग आफू नर्सको काम गर्ने साथीसँग बसेको बताएकी थिइन्।
‘अस्ति म्यासेन्जरमा कुरा गर्दा त दिदीलाई कति डिस्टर्ब गर्नुहुन्छ, उहाँ केही गर्न सक्नुहुन्न भन्ने रिप्लाई आयो,’ शाहीले भने, ‘कस्तो भएको रैछ त भनेर मैले अडिओ र भिडिओ कल गरें तर फोन काटियो। के भएको हो अचम्म लाग्या छ।'