सुर्खेत जिल्ला अदालतमा ६ महिनाको अवधिमा २२१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।
चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्म २२१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत सुर्खेतले जनाएको छ।
चालु आर्थिक वर्षको ६ महिनाभित्र सबभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदसम्बन्धी नै भएको अदालतले जनाएको छ।
जिल्ला अदालतका अनुसार साउनमा ५७, भदौमा ३१, असोजमा १९, कात्तिकमा ४१, मंसिरमा ४१, पुसमा ३२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।
यीमध्ये हालसम्म ७० वटा मुद्दा फर्छ्यौट भएका छन् भने १५१ वटा बाँकी छन्।
गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दासहित जिल्ला अदालतमा अब २१४ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन्।
एक वर्ष अघिदेखि लागू भएको नयाँ मुलुकी संहितामा पुरूषले पनि सम्बन्ध विच्छेदको मुद्दा दिन पाउने व्यवस्थापछि मुद्दा बढ्दै गएको जिल्ला न्यायाधीश राजेन्द्र कुमार आचार्यले जानकारी दिए।
उनका अनुसार बालविवाह भएकाहरूबाट धेरै मुद्दा आउने गरेका छन्।
घरेलु हिंसा, बहुविवाहको विषयलाई लिएर पनि सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन्।
उनका अनुसार यो आर्थिक वर्षको ६ महिनामा जबर्जस्ती करणीका ६०, लागू औषधसम्बन्धी ३०, बहुविवाहसम्बन्धी ११, बालविवाहसम्बन्धी १, घरेलु हिंसासम्बन्धी ३४, आत्महत्या दुरुत्साहनसम्बन्धी ६, सवारी ज्यान कर्तव्यसम्बन्धी १४ र कर्तव्य ज्यानसम्बन्धी १५ मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन्।
लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट
जिल्ला अदालत सुर्खेतले चालू आर्थिक वर्षको ६ महिनामा लिइएको लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट गरेको छ।
अदालतले ५७९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ५८५ मुद्दा फर्छ्यौट गरिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार भूपाल भण्डारीले जानकारी दिए।
यो वर्षको हालसम्म नयाँ दर्ता भएका जम्मा ७४८ मुद्दा छन्।
यस्तै, अघिल्लो आर्थिक वर्षबाट यो वर्षलाई ५३८ मुद्दा जिम्मेवारी सरेर आएको स्रेस्तेदार भण्डारीले बताए।
उनका अनुसार यो वर्ष साउनमा १६९, भदौमा १४३, असोजमा ६४, कात्तिकमा १३५, मंसिरमा ११७, पुसमा ९७ मुद्दा दर्ता भएका छन्।
मुद्दा फर्छ्यौट गर्ने क्रममा यो वर्ष ८२ जना थुनामा परेको उनले जानकारी दिए। जसमा पुरुष ६५, महिला ६ र बालबालिका ११ जना रहेका छन्।
दण्ड जरिवानातर्फ यो वर्षको पुस महिनासम्म ८८ लाख ३९ हजार ३१३ रुपैयाँमध्ये ३ लाख ४४ हजार ७३९ रुपैयाँ कार्यान्वयन गरिएको छ।
कैद सजायतर्फ १७३ वर्ष ६ महिना ३ दिनमध्ये ७४ वर्ष १ महिना ८ दिन कार्यान्वयन गरिएको स्रेस्तेदार भण्डारीले जानकारी दिए।
९० प्रतिशत बयान फेरिन्छन्
जिल्ला न्यायाधीश राजेन्द्र कुमार आचार्यले बयान मुद्दाहरूमा ९० प्रतिशत बयान फेरिने गरेको बताए। जसले गर्दा घटनालाई नै परिवर्तन गराइदिने उनले बताए।
‘मुद्दा दर्ता गर्दा एउटा बयान गरेका व्यक्तिले छलफलका क्रममा बयान बदल्छन्,’ न्यायाधीश आचार्यले भने, ‘यसले न्याय सेवामा नकारात्मक प्रभाव पारेको छ।’
उनले विचौलियाका कारण पनि न्याय सेवामा समस्या भएको बताए।
न्याय क्षेत्रमा विचौलियाले खेल्ने भूमिकाका कारण समस्या भएको भन्दै न्यायाधीश आचार्यले अपराध बढेसँगै विचौलियाको समेत चलखेल बढेको बताए।
उनका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा मुद्दा चौगुणा बढेका छन्।
यसको कारणमा नागरिकमा सचेतना र अपराधको प्रवृत्ति बढ्दो रहेको आचार्यले बताए। मुद्दाको प्रकृति भने धेरैजसो परम्परागत नै हुने उनले बताए।