कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरूङलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले ठगीको आरोप लागेका मिलनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद पाएको बताए।
मिलन गुरूङमाथि पोखराका केही व्यापारीहरूले ठगी र बैंकिङ कसूर गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा शुक्रबार प्रहरीले उनलाई पक्राउ गरेको थियो।
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले माघ ७ गते पोखराको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि गुरुङलाई झापड हानेका थिए। त्यसपछि सांसद मनाङेविरूद्ध सार्वजनिक अपराधको उजुरी दिएका थिए।
उनकै जाहेरीका आधारमा प्रहरीको पक्राउमा परेका प्रदेश सभा सांसद राजिव गुरूङ भने धरौटीमा छुटेका छन्।
सार्वजनिक अपराधसम्बन्धी मुद्दा भएकाले प्रमुख जिल्ला अधिकारीले सुनुवाइ गर्छन्।
मनाङेलाई ६ हजार धरौटीमा रिहा गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सेतोपाटीलाई जानकारी दिए।
ठगी मुद्दा भने जिल्ला अदालतले हेर्छ।
यसमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले नै मिलनलाई सात दिन हिरासतमा राख्ने अनुमति दिएको हो।
मिलनमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर प्रहरीले उनलाई अहिले पनि हिरासतमै राखेको छ।