अन्नपूर्ण पदयात्रामा हराइरहेका कोरियाली पदयात्री खोज्न आफन्त, उद्धार टोली र कोरियाली राजदूत पार्क योङसिक गत साता पोखरा आए। लगत्तै हेलिकप्टर चढेर त्यो ठाउँसम्मै पुगे, जहाँ ती पदयात्री हराएका थिए।
उनीहरूसँग ‘डिटेक्टर’ लगायत उपकरणहरू थियो। अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकुमा झरेपछि उनीहरूले भने, ‘यहाँको अवस्था हामीले सोचेभन्दा खराब रहेछ।’
यो ठाउँ समुद्री सतहबाट जम्मा ३२३० मिटर उचाइमा पर्छ। यति कम उचाइमै हिमपहिरो र हिमआँधीमा परेर साता दिनसम्म पदयात्री बेपत्ता हुनु उनीहरूले आश्चर्य मानेका थिए। घटनास्थल पुगेपछि भने यहाँ कतिसम्म खतरा रहेछ भन्ने उनीहरूले बुझे।
‘अहिले पनि हिउँको थुप्रो झरिरहेको छ, जति पन्छाए पनि पुरिन्छ,’ कोरियाली राजदूतसँगै घटनास्थल पुगेका कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘त्यहाँ अहिले पनि जान सक्ने अवस्था छैन भन्ने स्थलगत रूपमै हेरेपछि काेरियाली टोलीलाई छर्लंग भयो।’
हिमपहिरोमा बेपत्ता कोरियाली पदयात्री अन्नपूर्ण अधारशिविर जाँदै थिए। माघ ३ गते अचानक मौसम खराब भयो। हिउँ पर्न थाल्यो। अचाक्ली हिमपातका कारण ती पर्यटकले आधारशिविर नपुगी फर्किने निधो गरे।
भोलिपल्ट माघ ४ गते झन् बाक्लो हिउँ पर्यो। नौ जना कोरियाली र एक चिनियाँ पर्यटक हिमपातकै बीच फर्किन थाले। हिँकु क्षेत्रमा पुगेपछि उनीहरूलाई हिमपहिरोले घेर्यो। घाइते भएका नेपाली जगदीश खत्री त्यति बेला मान्छे नै उडाउलाजस्तो हिमआँधीसमेत चलेको बताउँछन्।
एकैचोटि आएको हिमपहिरो र हिमआँधीका कारण चार जना कोरियाली पर्यटक ली मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन हराइरहेका छन्। उनीहरूका नेपाली सहयोगी मीनबहादुर लामा र छिरिङ भोटे पनि बेपत्ता छन्। एक चिनियाँ पर्यटकका सहयोगी सरोज नेपाली पनि सम्पर्कमा छैनन्।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का पश्चिमाञ्चल क्षेत्र अध्यक्ष हरि भुजेलका अनुसार हराइरहेका चार पर्यटक र तीन नेपाली सहयोगीको बिमासमेत छैन।
कोरियाली पर्यटक काठमाडौंस्थित ट्राभल नेट इन्टरनेसनलमार्फत् गएका थिए। चिनियाँ महिला भने कोनिको नामक कम्पनीमार्फत् गएकी थिइन्। उनी फर्किसकेकी छन्। उनका नेपाली सहयोगी बेपत्ता छन्।
पदयात्रीको बिमासमेत नभएकाले ती कम्पनीहरू समस्यामा परेको भुजेल बताउँछन्। ‘हामीले पोखराका कम्पनीबाट पदयात्रामा जाने पर्यटक र नेपाली सहयोगीहरूको एकमुष्ट बिमा गरेका छौं,' उनले भने, 'काठमाडौंकाले नगरेका रहेछन्।’
कोरियाली पर्यटक पदयात्रामा पठाउने ट्रेकिङ कम्पनीका सञ्चालकले भने यसबारे बताउन चाहेनन्। पदयात्रीका लागि होटल बुकिङ, टिम्स कार्ड र एक्यापको प्रवेश अनुमतिपत्र लिने काम मात्र गरेको कम्पनीले जनाएको छ।
हराइरहेका पर्यटक र उनीहरूका सहयोगी खोज्न आएका कोरियाली उद्धार टोलीले आफूसँग ल्याएको डिटेक्टरबाट ‘लगभग यही एरिया’ भन्ने मात्र पत्ता लगाएको एसपी कार्की बताउँछन्। 'हेलिकप्टरमा गएको टोलीले पनि पन्छाउन नसकिने गरी हिउँ जमेको छ,' उनले भने, 'माथिबाट निरन्तर हिउँको थुप्रो झरिरहेकाले हराइरहेका पदयात्री र उनका सहयोगी खोज्न सकेका छैनौं।'
हिँकु-केभ नजिकै रहेको यस हिमनदीमा अन्नपूर्ण दक्षिण हिमालबाट प्रत्येक वर्ष हिमपहिरो झर्छ। हिमपहिरोकै कारण एबिसी पदमार्गको यो खण्ड जोखिमपूर्ण क्षेत्र मानिने पदयात्री बताउँछन्।
'यहाँ पदयात्रा सिजनमा समेत माथिबाट ढुंगा-माटो खसिरहन्छ। घाम चर्केको बेला हिमाल पग्लेर बाढी आउँछ र पदमार्ग ध्वस्त पार्छ,' अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भने।
पदमार्गको छोमरोङ र हिमालयमा होटल सञ्चालन गरेका वडाध्यक्ष गुरुङ हिउँ पग्लेर नसकिँदासम्म उनीहरूको खोजीमा समस्या आउने बताउँछन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सन् २०१५ तिर पदयात्रीको सुरक्षाका लागि मौसमबारे निरन्तर जानकारी गराउने बताएको थियो। अहिलेसम्म त्यस्तो व्यवस्था गरिएको छैन।
पर्यटकले मौसम र पदमार्गमा हुन सक्ने खतराको जानकारी नपाउँदा अनाहक ज्यान गुमाउनु परेको छ। यसको एउटा उदाहरण ‘हुदहुद आँधी' पनि हो।
सन् २०१४ अक्टोबरमा बंगालको खाडीबाट सुरू चक्रवाती तुफानको प्रभाव नेपालको हिमालयसम्म आइपुग्यो। ‘हुदहुद’ नामको यो आँधीका कारण हिमालय क्षेत्रमा अकस्मात भारी हिमपात भयो। अन्नपूर्ण पदयात्रामा रहेका पर्यटक हिमपात र हिमहुरीमा फँसे।
त्यति बेला अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरिरहेका ४२ जना पर्यटक र नेपाली सहयोगीले ज्यान गुमाएका थिए। कयौं घाइते भएका थिए।
भारतमा भने यो आँधी आउँदै गरेको सूचना पाउनासाथ प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएर आँधीप्रभावित क्षेत्रका ४ लाख मानिस तुरून्तै स्थानान्तरण गरे। बिबिसीका अनुसार, सन् १९९९ मा यस्तै आँधीका कारण भारतमा १० हजार मानिसले ज्यान गुमाएका थिए।
दस किमी प्रतिघन्टाको रफ्तारमा आएको हुदहुद आँधीले समुद्री लहर ३० मिटर उचाइसम्म उठेको थियो। आँधीको प्रभाव नेपाल आइपुग्दासम्म सरकारबाट न कुनै पूर्वसूचना जारी भयो, न पदयात्रामा रहेका पर्यटकलाई यसबारे जानकारी गराइयो।
यही घटनापछि एक्यापले मौसम विभागसँग सहकार्य गरेर एक्यापको चेकपोस्टमार्फत् पर्यटकलाई मौसमको जानकारी गराउने बताएको थियो। तर यो कार्यान्वयनमा आएन। मौसमको जानकारी नपाएर पर्यटक र सहयोगीको ज्यान जाने क्रम चलिरह्यो।
यति मात्र होइन, टानले पनि 'टिम्स कार्ड' मार्फत् पर्यटकसँग पैसा उठाउनेबाहेक मौसमसम्बन्धी सूचना र जोखिमबारे जानकारी दिने कुनै काम गर्दैन।
अधिकांश पर्यटक पदयात्राका लागि नेपाल आउँछन्, जसको ६० प्रतिशतभन्दा बढी अन्नपूर्ण क्षेत्र जाने गरेको नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्। पदयात्रामा हुने यस्ता घटनाले नकारात्मक सन्देश जाने उनको भनाइ छ।
पर्यटन व्यवसायी भने पदमार्गमा सरकारले सुरक्षा प्रत्याभूति र सम्भावित घटनाको पूर्वजानकारी दिने व्यवस्था मिलाउनुपर्ने बताउँछन्।