कालिकोटको शुभकालिका–५ का सुन्दर बोहरा फलफूल र तरकारीबाट वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। आफ्नो बारीमा व्यवसायिक खेती गरेका बोहरा कम्तीमा वार्षिक ५० हजार रुपैयाँ बराबरको तरकारी बेच्छन् भने त्यत्तिकै मात्रामा सुन्तला।
एक दशकअघि भारतको हिमाञ्चल प्रदेशमा रोजगारीका लागि गएका बोहराले कृषि क्षेत्रमै काम गरे।
भारतमै छँदा स्वदेश फर्किएर व्यवसायिक कृषि गर्नुपर्छ भन्ने सोच बनाएका उनले फर्किनेबित्तिकै फलफूल तरकारी खेती गरे।
नगदे बालीले खासै प्रतिफल नदिने आफ्नो बारीमा बोहराले ठाउँ अनुकूलको खेती गरेका छन्।
उनले सुन्तला, कागतीसँगै तरकारी फलाउँछन्।
‘काम गर्न भारत जाँदा हिमाञ्चल प्रदेशमा कृषि क्षेत्रमै काम गरें,’ उनले भने, ‘त्यहाँको र यहाँको माटो र मौसम एउटै हो, नेपाल फर्किएर म पनि गर्छु भन्ने सोचेको थिएँ।’
बोहराले अहिले व्यवसायिक खेती गरेको बारीमा उनका हजुरबुवाले भने तमाखु खेती गर्थे। उनका बुवाले भने नगदे बाली लगाउँथे। नगदे बालीबाट मुश्किलले ६ महिना खाना पुग्ने बोहराले बताए।
‘यही बारीमा अरुले गर्दै आएको जस्तो नगदे बाली लगाउने हो भने वर्षभरि खानै पुग्दैन,’ बोहराले भने, ‘त्यही भएर उतिबेला तमाखु विक्री हुने भएर होला बाजेले तमाखु लगाउँथे, मैले तरकारी र फलफूल खेती गरें। जीविका राम्रैसँग चलेको छ।’
उनले आम्दानी भएको रकम लगानी गरेर भिरालो ठाउँमा भएका साना गह्रालाई सुधार गरी ठूला बनाएका छन्।
उनले तरकारी बेचेर आम्दानी भएको एक लाख रुपैयाँमा जग्गा समेत लिएका छन्।
त्यो बारीमा भने धान लगाउँछन्।
आफ्ना छिमेकीले भने भारतमा गएर भाडामा जग्गा लिएर खेती गरेको उनले बताए।
‘यहाँका मेरा कतिपय छिमेकी भारतको हिमाञ्चल प्रदेश गएर खेती गर्छन्, नेपाल आउन समेत मान्दैनन्,’ उनले भने, ‘म भने उस्तै ठाउँ भएकाले यहीँ केही गर्छु भनेर लागेको छु, बाहिर गएर लाखौं रुपैयाँ कमाए पनि आफ्नै ठाउँमा गुजारा चलाउँदा सन्तुष्ट भइँदो रहेछ ।’
बजार नहुँदा समस्या
बोहराले आफ्नो बारीमा गरेको व्यवासायिक खेतीबाट हुने आम्दानी पर्याप्त भने होइन। बजार नहुँदा उत्पादित वस्तुमध्ये केही विक्री हुन्छ भने केही बारीमै सडेर खेर जान्छ। विक्रीका लागि उनको गाउँदेखि जान ३ घण्टा लाग्ने मान्म बजार झिसमिसेमा पुग्नुपर्छ।
‘बजार नजिक नहुँदा र सडक नहुँदा बिहानै झिसमिसेमा मान्म बजार सामान बेच्न जानुपर्छ,’ बोहराले भने, ‘डोकोमा सबै लिन सकिँदैन, दिनदिनै लिँदा पनि सबै लिएर विक्री गर्न सकिँदैन । केही त सडेर पनि जान्छ ।’
भौगोलिक विकटता र विकासका पूर्वाधारको अभाका कारण आफूले उत्पादन गरेको कृषि वस्तुबाट अपेक्षा अनुसार आम्दान हुन नसकेको उनले बताए ।
‘बिहान १ बजे हिँडेर ४ बजे पुग्छौं, अनि डोकोमा बोकेर लिएका सामान विक्री गर्छौं,’ बोहराकी श्रीमति पञ्चा बोहराले भनिन्, ‘बिहान नगए त त्यही पनि यहीँ खेर जान्छ ।’