काठमाडौं, वनस्थलीका अमिर महर्जन कक्षा १२ को परीक्षा दिएर बसेका थिए। छ महिना बिदामा उनका साथीहरू विभिन्न सीप सिक्न थाले। उनको ध्याउन्न अन्तै लाग्यो।
अमिरले आफ्ना दाजुसँगै पढेका साथी विनोद शाहीबारे सुनेका थिए। विनोद डोल्पाका स्कुलमा पढाउने शिक्षक हुन्। अमिरले विनोदलाई सानोमा देखे पनि राम्ररी चिनेका थिएनन्। धेरै चासो पनि थिएन।
परीक्षा दिएर बसेका बेला एकदिन दाजुले आमिरलाई सोधे, 'डोल्पामा पढाउन जान्छस्?'
यो प्रस्ताव विनोद शाहीसँगै जोडिएको थियो। अमिरले थप बुझ्न खोजे।
'दाजुलाई विनोदका कामबारे डकुमेन्ट्री देखाउनु र त्यसपछि विचार गर्छु भनेँ,' अमिरले २०६८ सालको घटना सम्झिँदै सुनाए।
भिडिओमा डोल्पाको शिक्षा अवस्था दयनीय थियो। काठमाडौंको सुविधा सम्पन्न स्कुल पढेका अमिरलाई 'केही गर्ने' धून चढ्यो। डोल्पा जाने चाहनालाई निधोमा बदले।
'भिडिओ हेरेपछि हुटहुटी भयो, विनोद दाइलाई भेटेँ,' अमिरले भने, 'काठमाडौंदेखि दुःख गरेर डोल्पा पढाउन जाने मान्छेलाई किन सहयोग नगर्ने त भनेर आफू पनि अग्रसर भएँ। तर पुग्नै ८-१० दिन लाग्छ भनेकाले डर पनि थियो।'
किशोर उमेरका उनमा नयाँ ठाउँ घुम्न पाइने उत्सुकता थियो। काठमाडौंबाट दुइटा फ्लाइटमा जाँदा पनि ७ दिन हिँड्नपर्ने। सानैदेखि काठमाडौंमा हुर्केका अमिरलाई एक्कासि घर-परिवार र सुविधा छोडेर जान गाह्रो थियो। उनी हारेनन्। विनोदसँगै डोल्पाका केटाकेटी पढाउन हिँडे। आठ दिन यात्रापछि साँझतिर पुगेको उनी सुनाउँछन्।
विनोद शाही र डोल्पाका स्थानीय देव बुढा मिलेर सन् २०११ मा माथिल्लो डोल्पा, साल्दाङमा याङ्जर गुम्बा बेसिक स्कुल बनाएका थिए। अमिरहरू पुगेको दिन साँझ त्यहीँ बसेर रमाइलो गरेको उनलाई अझै याद छ।
'पहिलो दिन साँझ विद्यार्थीसँग चुट्किला र संगीतमा रमायौं,' अमिरले भने, 'दोस्रो दिनदेखि पढाउन गइयो। गाह्रो थियो।'
स्कुल खुलेको एक वर्ष मात्रै भएको थियो। विद्यार्थीले न नेपाली बोल्न सिकेका थिए, न लेख्न। डोल्पाली केटाकेटी स्थानीय खाम भाषा बोल्थे। जति बल लगाएर पढाए पनि उनीहरूलाई बुझाउन अमिरलाई कठिन भयो।
'उनीहरूले मैले भनेका कुरा बुझ्दैनन् भन्ने थाहा पाएपछि मैले नै उनीहरूको भाषा सिकेँ,' अमिरले भने, 'त्यसपछि पढाउन सजिलो भयो।'
त्यहाँ अमिरले कक्षा पाँचसम्म अंग्रेजी, गणित र विज्ञान पढाउँथे। विनोद, देव बुढाले अरू विषय पढाउँथे। सन् २०१२ सम्म उनीहरू तीन जना मात्रै शिक्षक थिए, पछि अरू थपिए।
अमिरले डोल्पामा साढे तीन वर्ष पढाए। त्यहाँको यात्रा २०७२ सालको भुइँचालोपछि रोकियो। पछि कामकाजका कारण जान सकेनन्।
उनलाई साथ लैजाने विनोद शाहीलाई भने केहीले छेकेन। आफ्नो परिवारसँग टाढिएर हरेक ६-८ महिनासम्म डोल्पा बस्ने उनी त्यहाँका विद्यार्थीलाई सक्दो सहयोग गर्छन्।
विनोद काठमाडौंमै हुर्के-बढेका, फाइन आर्ट पढ्दै थिए। त्यही बेला केही सामाजिक कार्यक्रममा पनि संलग्न थिए। सन् २००४ मा एकदिन उनको घर नजिकैको पसलकी दिदीले 'हिमालबाट केही बच्चा आएका छन्, पढाउनुहुन्छ?' भनेर सोधेकी थिइन्।
सामाजिक काममा रूचि भएका विनोदले सहजै स्वीकारे। करिब छ महिना ती केटाकेटीलाई पढाए। पढाइसकेपछि केटाकेटीसँगै डोल्पा हानिए।
'उनीहरूलाई पढाउने क्रममा त्यहाँको शिक्षा अवस्था बुझेँ,' विनोदले संस्मरण सुनाए, 'दयनीय लागेपछि हेर्न म उनीहरूसँगै गएँ।'
पहिलो पटक पुग्दा उनी चकित भए रे। न रुख, न राम्रो बाटो।
'त्यहाँका बासिन्दालाई रुखै देख्नु ठूलो थियो। कल्पना गर्नुस् अरू अवस्था कस्तो होला,' उनी भन्छन्, 'पेट पाल्नकै लागि केटाकेटीदेखि पाका उमेरसम्मकाले दुःख गर्नुपर्ने बाध्यता छ।'
सुरूआती दिनमा त्यहाँका मान्छेले विनोदलाई स्वीकारेनन् पनि रे। स्थानीयको मन जित्न उनीहरूको खाम भाषा सिके। उनीहरूको संस्कृतिमा भिजेर रमाउन थाले।
तै पनि विद्यार्थीलाई कक्षासम्म ल्याउन संघर्षै पर्यो।
'म घर-घर गएर 'पढायो भने राम्रो हुन्छ, ठाउँको विकास हुन्छ' भन्थेँ। तर स्थानीय 'नेता'हरूले 'पढाएवापत् यिनीहरूले पैसा पाउँछन्, त्यसैले लागि परेको हो' भन्दै भड्काउँथे,' उनले सुनाए।
उनले सन् २००४ देखि २००८ सम्म साल्दाङ गाँउमै विदेशी दाताले चलाएको स्कुलमा पढाए। अन्यत्र पनि स्कुल नभएको थाहा पाएपछि वरपरका गाउँमा समेत पढाउन थालेको उनी बताउँछन्।
त्यति बेला उनी शिक्षक मात्रै भएनन्, शिक्षाका निम्ति अभियन्ता पनि भए। बन्द भएका स्कुल सञ्चालनमा ल्याउन पहल गरे। त्यहाँ तत्कालीन पाँच गाविसमा २२ स्कुल थिए। सञ्चालनमा भने ७ वटा।
'दुइटा स्कुल सञ्चालन गर्न म सफल भएँ। अरूले पनि केही सञ्चालन गर्न थाले,' उनले भने, 'माथिल्लो डोल्पामा अहिले १७ वटा स्कुल सञ्चालनमा छन्।'
विनोदका अनुसार धेरै स्कुल सञ्चालनमा आए पनि कक्षा पाँचसम्म मात्रै छन्। त्यो पनि माथिल्लो डोल्पामा छ महिना र तल्लो डोल्पामा आठ महिना मात्र पढाइ हुन्छ। कक्षा पाँचपछि क्षमता भएकाहरू काठमाडौं वा पोखरा जान्छन्। नसक्नेहरूको पढाइ रोकिन्छ।
यस्तै समस्या देखेर उनले फ्रान्सेली दाता र स्थानीयको सहयोगमा एउटा स्कुल स्थापना गरेका थिए। विदेशी सहयोगले उनको मनमा शान्ति भने दिएन। उनको चाहना थियो- नेपालीकै सहयोगमा स्कुल चलाउने।
'हामी विदेशीको भरमा मात्रै किन काम गर्ने भन्ने लाग्यो। जबसम्म विदेशी दाता हुन्छन्, आशा बढ्दै जान्छ। त्यसैले उक्त स्कुलबाट राजीनामा दिएँ,' उनले सुनाए।
एक वर्षपछि उनले नेपालीकै लगानीमा याङ्जर गुम्बा बेसिक स्कुल खोले। स्कुल सञ्चालन गर्ने अभियानमै अमिर महर्जन र डोल्पाकै देव बुढा जोडिएका हुन्।
स्कुल चलाउनभन्दा कठिन समाजको मन जित्न थियो। विनोदका अनुसार स्कुल सुरू गरेको दोस्रो वर्षमै उनीहरूमाथि २० लाख रूपैयाँ 'खाएको' आरोप स्थानीयले लगाए। त्यही आरोपका कारण एक-दुई वर्ष पढाउन निकै कठिन भएको अमिर र विनोद सुनाउँछन्।
'पढाउने नाममा पैसा खाए भनेर गाँउभर हल्ला थियो,' आरोपका भुक्तमान अमिरले भने, 'गाउँलेलाई बुझाउन खोज्दा पनि बुझेनन्। हामीले काँचो भात खान परेको थियो।'
उनका अनुसार आरोपपछि गाउँलेले सहयोग समेत गर्न छाडे। आफू गएको पहिलो वर्ष नै यस्तो भएपछि अमिरलाई डर पनि लाग्यो रे।
थपे, 'विनोद दाइसँग पैसाको हिसाब-किताब थियो। पछि सबै लेखेर गाँउलेसमक्ष राखेपछि बल्ल आरोप हट्यो।'
सन् २०१५ मा 'स्नो याक फाउन्डेसन' स्थापना गरी 'फेलो'का रूपमा शिक्षक डोल्पा लैजान थालेका छन् उनीहरूले। त्यहाँ पढाउन जानेलाई उनीहरू 'याक' भन्छन्।
'हिमालको बहुमूल्य जनावर हो याक, एकदमै उपयोगी,' फाउन्डेसनका बोर्ड सदस्य श्रीमणिराज शर्मा भन्छन्, 'त्यसैले शिक्षकलाई पनि याक भनेका हौं।'
अहिले सामाजिक सञ्जालका कारण सहज छ। फाउन्डेसनले गरेको काम सामाजिक सञ्जालमा देखाउन थालेपछि युवाहरू आकर्षित भएको फाउन्डेसनका बोर्ड सदस्य श्रीमणिराज शर्मा बताउँछन्।
विनोदलाई धेरैले 'सर अफ हिमालयज्' भनेर पनि चिन्छन्।
'म विश्वकै उत्कृष्ट शिक्षकको सूचीमा टप पचासमा पर्न सफल भएको छु,' विनोदले दावी गर्दै सुनाए।
उनका अनुसार फाउन्डेसनले शिक्षकलाई तालिम दिएपछि मात्रै डोल्पा लैजान्छ। शिक्षकहरूले समय दिएवापत केही आर्थिक सहयोग फाउन्डेसनले गर्छ।
खुला आकाशमा पढ्न बाध्य डोल्पाका केटाकेटीलाई थोरै राहत दिन सक्दा धेरै खुसी मिलेको विनोद बताउँछन्।
'अब त जनशक्ति अभाव होला भनेर डराउनु पनि पर्दैन। काठमाडौंबाट नगए पनि त्यहीँका विद्यार्थी पढाउन सक्ने भएका छन्। स्थानीय पनि स्कुल चलाउने भनेर लागि परेका छन्,' विनोद खुसी सुनिन्छन्।
आगामी दिनमा डोल्पामा ५ कक्षा माथि सञ्चालन गर्न खोजिरहेको पनि उनले बताए।
'एक चरण धेरै कठिनसाथ अगाडि बढ्यौं। अब माथिल्लो तहको शिक्षा प्रदान गर्ने सोचमा छौं,' विनोद योजना सुनाउँछन्, 'तर स्कुल व्यवस्थापन समितिहरू पनि यसमा अग्रसर हुनपर्छ।'