सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेको छ। आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले वीरेन्द्रनगर र आसपासमा कर्फ्यू लगाएको छ।
मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको हो। मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू आदेश जारी गरेको हो।
वीरेन्द्रनगरदेखि पूर्वको ईत्राम खोला, पश्चिममा बांगेसीमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
वीरेन्द्रनगरको मुख्य सडकस्थित गौतम चोकमा बिहान सवा ८ बजे भे १ ख २२४२ नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको थियो।
पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटका सिंह सवार मोटरसाईकललाई सोही दिशाबाट आइरहेको टिप्परले ठक्कर दिएको हो।
दुर्घटनापछि सुरु भएको आन्दोलनका कारण दिनभर वीरेन्द्रनगर बजार तनवग्रस्त बनेको छ। बजारभित्रका सबै पसल बन्द छन् भने सवारी साधन पूर्ण रुपमा बन्द गराइएको छ। आन्दोलनका क्रममा वीरेन्द्रनगर बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा समेत फुटाइएको छ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि नै ढुंगामुढा हुन थालेपछि गोली समेत चलेको छ।
आज भएको आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि प्रहरीले गोली चलाएको हाे। प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हृदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत छन्।