जिल्ला अदालत चितवनले अभद्र व्यवहार भनेको के हो र नागरिकको आक्रोश के हो भन्ने कुरा सम्झाउँदै एउटा फैसला गरेको छ।
न्यायाधीश हेमन्त रावलको इजलासले सार्वजनिक ठाउँमा प्रहरीले कर्तव्य राम्रोसँग ननिभाए नागरिकले विवाद गर्ने/ झोक्किने कुरा स्वभाविक भएको भन्दै फैसला गरेको हो।
मंसिर २४ गते चितवन महानगरपालिका कमलनगरमा गोर्खाका टेकबहादुर श्रीमललाई कुटपिट गरेर भागेको भन्दै अर्जुन मल्ल ठकुरीलाई प्रहरीले महानगरकै चोविसकोठी भन्ने स्थानबाट पक्राउ गरेको थियो।
चौविसकोठिमा सार्वजनिक गाडि कुरीरहेका अर्जुनलाई एक्कासी प्रहरीले नियन्त्रणमा लिन खोज्दा वादविवाद भएको थियो।
त्यसपछि वादविवाद हुँदाहुँदै आफुलाई हात हाल्न खोजेको भन्दै प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको प्रतिवेदन बनायो। केहीसमय थुनामा राखेर उनलाई प्रहरीले सोही प्रतिवेदनका आधा कर्तव्य पालना गर्दा अवरोध पुर्याएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सोही मुद्दामा न्यायाधीश रावलको इजलासले सार्वजनिक स्थानमा प्रहरीबाट मुद्दाको विषयमा सोधपुछ गर्दा मानिस आक्रोशित हुनु स्वभाविक भएको फैसला गरेको हो।
यो फैसलामा प्रहरीकै अशिष्ट व्यवहारले नागरिक आक्रोशित हुने भनिएको छ। अर्जुनलाई पक्राउ गर्नुपूर्व कानुन अनुसार पक्राउ पूर्जि नलिएको र पछि पनि पक्राउमा अधिकारप्राप्त अधिकारीको समर्थन नलिएको फैसलामा उल्लेख छ।
'न्यूनतम आधारभूत विधि र प्रक्रिया पूरा नगरी कुनै पनि व्यक्तिलाई जाहेरी र शंकाकै भरमा बाटोघाटो, सार्वजनिक स्थान वा व्यक्ति रहे-बसेको जुनसुकै स्थानमा आशंकाको भरमा प्रहरीबाट गरिने सोधपुछ र सोधपुछको नाममा गरिने अशिष्ट व्यवहारको प्रतिक्रियामा व्यक्तिले आफ्नो सफाइ स्वरूप दिने आक्रोशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहारको अर्थ गरी नागरिकलाई सजायभागी गराउन न्याय र कानुनको दृष्टीबाट मिल्ने देखिँदैन', फैसलामा भनिएको छ।
'सार्वजनिक स्थानमा प्रहरीबाट मुद्दाको विषयलाई लिएर गरिएको सोधपुछका क्रममा प्रतिवादीले प्रतिक्रियास्वरूप व्यक्त गरेको आक्रोशपूर्ण अभिव्यक्तिले प्रहरीलाई कर्तव्य पालन गर्दा अबरोध पुर्याएको भन्न मिल्दैन,' अदालतको फैसलामा उल्लेख छ।
अवरोध पुर्याएकै भरमा पनि प्रहरीले आफुखुसी मुद्दा लगाउन नपाउने रावल इजलासले भनेको छ।
यो मुद्दामा प्रहरीले कानुनबमोजिम नभई आफुलाई मन लागेको दफामा कारबाही चलाएको ठहर पनि इजलासले गरेको छ।
'प्रतिवादीको कार्यले कर्तव्य पालनामा अवरोध गरेको भए मुलुकी अपराध संहिताको दफा ८५ अन्तर्गत मुद्दा चलाउनु पर्नेमा प्रहरीले दफा ११८ को व्यवस्थालाई आफू अनुकुल प्रयोग गरी निजले यसभन्दा पहिले पनि यस किसिमको अभद्र व्यवहार गरेको भनी दायर गरिएको अभियोगपत्रमा प्रतिवादीको विगतको आचरणको आधारमा मात्र अपराध स्थापित गरि सजाय दिलाउन मिलेन,' रावल इजलासले भनेको छ। संहिताको दफा ८५मा सार्वजनिक अधिकारीको अख्तियारी अवज्ञा गर्न नहुने उल्लेख छ।
अर्जुन ठकुरीलाई पक्राउ गरिएको ठाउँ नागरिकले प्रवेश नपाउने निषेधित क्षेत्र नभई सार्वजनिक यात्रु प्रतिक्षालय भएको र त्यहाँ उनले कुनै महिला बालबालिकालाई हुलहुज्जत गरेको पनि नदेखिएको फैसलामा उल्लेख छ।
बरु प्रहरीले नै पक्राउ पूर्जिबिना उनलाई समात्नु नै कानुनी नभएको बताएको छ।