टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन जारी छ।
पीडित परिवारले संघर्ष समिति नै बनाएर आन्दोलनलाई निरन्तरता दिएका छन्। बिहीबार पनि वीरेन्द्रनगर बजार बन्द गराइएको छ।
राजन सिंहको संयोजकत्वमा गठित संघर्ष समितिले टिपर मालिक र चालकलाई जन्म कैदको सजाय, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गरेको छ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताइएको छ।
मंगलबार बिहान वीरेन्द्रनगरको मुख्य सडकमा गौतम चोक नजिकै भे १ ख २२४२ नम्बरको टिपरले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको थियो।
पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका-३ डिल्लीकोटका सिंह सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको टिपरले ठक्कर दिएको हो।
परिवारले माग पूरा नभएसम्म लास नबुझ्ने अडान गरेका छन्।
मंगलबारदेखि प्रशासन र परिवारबीच भएको वार्ताबिना निष्कर्ष टुंगिने गरेको छ।
बिहीबार पनि वीरेन्द्रनगरमा सवारी साधन ठप्प पारिएको छ।
मंगलबारदेखि सुरू भएको आन्दोलनका क्रममा केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।
संघर्ष समितिले आफ्ना मागहरु शुक्रबारसम्म पनि पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ।
प्रहरीले लाठी चार्ज गर्दा बालकको दाँत झर्यो
पीडित पक्षले गरको बिहीबारको आन्दोलनका क्रममा प्रहरीले लाठी चार्ज गर्दा एक बालकको दाँत झरेको छ।
आन्दोलन उग्र बन्दै गएपछि बिहीबार बिहान प्रहरीले लाठी चार्ज गरेको थियो। प्रहरीको लठ्ठी लागेर दैलेखका ११ वर्षीय हिमाल नेपालीको दाँत झरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बालवालिकालाई आन्दोलनकारीको बीचमा नआउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले भीड अनियन्त्रित भएकाले नियन्त्रणमा लिन खोज्दा बालकलाई चोट लागेको हुन सक्ने बताए।