टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर बिहीबारदेखि भने शान्त बनेको छ। मंगलबार टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ का केशर सिंहको मृत्यु भएपछि पीडित पक्षले आन्दोलन गरेका थिए।
आन्दोलन बिहीबार दिउँसोसम्म चल्यो। बिहिवार दिउँसो पीडित पक्ष र प्रशासनबीच भएको सहमतिपछि बजार खुलेको छ।
पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा टिपर चालक राजकुमार बोहरालाई कानुनबमोजिम कारबाही गर्ने, कानुनबमोजिम क्षतिपूर्तिको लागि प्रक्रिया अगाडि बढाउने, आन्दोलनमा घाइते भएकाहरुलाई पूर्ण रुपमा उपचारको व्यवस्था गर्ने सहमतिपछि आन्दोलन फिर्ता लिइएको छ। पीडित परिवारले पनि शुक्रबार नै शव बुझ्ने भएका छन्।
मंगलबार बिहान वीरेन्द्रनगरको मुख्य सडकमा गौतम चोक नजिकै भे १ ख २२४२ नम्बरको टिपरले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिंहको मृत्यु भएको थियो।