टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि तीन दिनदेखि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त छ।
गौतम चोकमा भे १ ख २२ ४२ नम्बरको टिपरले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मंगलबार मृत्यु भएको थियो।
सिंहको मृत्युपछि आफन्त र छिमेकीले आन्दोलन गरे। प्रशासनले बुधबार विहानसम्म कर्फु लगाएको थियो। आन्दोलनकारीले सार्वजनिक सम्पत्तिमाथि पनि क्षति पुर्याएका छन्।
बजारमा जडित सिसी क्यामेरा फूटाइदिउका छन्। फोहोर राख्ने डस्विन जलाइदिएका छन्। यरीचोकमा रहेको प्रहरी बिट नै आन्दोलनकारीले फालिदिएका थिए।
तर प्रशासनले सार्वजनिक सम्पत्तिमाथि क्षति गर्नेलाई कारवाही गरेको छैन। प्रहरी नायब उपरीक्षक रवी रावलले घटनाबारे अनुसन्धान भइरहेको बताए।
आन्दोलनका क्रममा नियतवस सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याइएको भन्दै उद्योग बाणिज्य संघले प्रशासनमा क्षतिपुर्तिका लागि माग गरेको संघका अध्यक्ष धनबहादुर रावतले बताए। छ वटा सिसी क्यामेरामा क्षति पुगेको छ।
ती क्यामेरालाई डेढ लाखदेखि २५ हजारसम्म पर्छ। तीन वर्षअघि संघको सहकार्यमा वीरेन्द्रनगरमा सिसी क्यामेरा जडान गरिएको थियो।