भ्रमण वर्ष २०२० को आधिकारिक मस्कट ‘यती’ ले संस्कृतिको अपमान गरेको भन्दै वसन्तपुरका केही स्थानीयले विरोध गरे। त्यसमा कुँदिएका चित्र केरमेट गरियो।
मस्कट बनाउनमा संलग्न कलाकारहरूले शुक्रबार विज्ञप्ति जारी गर्दै विरोधको यो शैलीप्रति दु:ख व्यक्त गरेका छन्।
आफ्नो सिर्जनात्मक अभिव्यक्तिबाट स्थानीयको भावनामा पुगेको चोटप्रति सचेत रहे पनि जुन ढंगले मस्कट केरमेट गरियो, त्यसले दु:खी बनाएको उनीहरूले बताए।
मस्कट सिर्जना गर्ने कलाकार र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेका हुन्।
‘त्रुटिप्रति सजग छौं। ती विचार र आपत्तिलाई ध्यानमा राख्दै आगामी दिनमा यसप्रति थप संवेदनशील हुने प्रतिबद्धता व्यक्त गर्छौं,’ ग्यालरी एमक्युबका मनीषलाल श्रेष्ठ भन्छन्, ‘विवाद क्रममा कलाकारका सिर्जनामाथि असन्तुष्टि व्यक्त गर्ने तरिकाप्रति भने दुःख व्यक्त गर्न चाहन्छौं।’
मनीषलालकै निर्देशनमा यतीको मस्कट तयार हुँदै आएका छन्। भ्रमण वर्ष प्रचार गर्ने क्रममा सचिवालय र एमक्युबबीच भएको सम्झौताअनुसार मस्कट तयार भइरहेको छ। यो कलाकार आङछिरिङ शेर्पाको डिजाइनमा बनेको हो भने मूर्तिकार विजय महर्जनले डमी तयार पारेका हुन्।
एक सय आठवटा मस्कट बनाउने योजनाअनुसार अहिलेसम्म करिब २० वटा तयार भइसकेका छन्। भ्रमण वर्षको उद्घाटन कार्यक्रममा ती मस्कट राखिएका थिए। हाल उपत्यकाका विभिन्न सार्वजनिक स्थल, सपिङ कम्प्लेक्स लगायत वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, बौद्ध क्षेत्रमा राखिएका छन्। यसलाई नेपालका विभिन्न ठाउँ र विदेशसमेत लग्ने योजना छ।
तस्बिर सौजन्य : महेश्वर महर्जन र हितमान गुरुङको फेसबुकबाट।
नेपाल धार्मिक, सांस्कृतिक विविधतायुक्त देश भएकाले भ्रमण वर्षको आधिकारिक मस्कटका रूपमा 'यती' छानिएको थियो। यसलाई नेपाल, हिमाल र आध्यात्मसँग जोडेर चित्रण गरिएको कलाकारहरू बताउँछन्।
‘भ्रमण वर्षलाई महाअभियानका रूपमा मनाउन यतीमा चित्र कोरिरहेका छौं। स्थानीयको भावनामा ठेस पुग्न गएकोमा हामी दुःखी छौं। आगामी दिनमा सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।
वसन्तपुर दरबार स्क्वायरमा राखिएको यतीको पछाडि भागमा जीवित देवी कुमारीको चित्र कुँदिएको थियो। स्थानीयले त्यसैको विरोध गरेका हुन्। यसले संस्कृतिको अपमान गरेको भन्दै स्थानीय र महानगर प्रहरीले स्प्रे गरेर चित्र मेटेका थिए।
‘मस्कटमा कोरिएका बुट्टा आपत्तिजनक र अशोभनीय थिए। सबैसँग सल्लाह गरेपछि हामीले कलाकारहरूलाई हटाउन भनेका थियौं,’ स्थानीय गणपतिलाल श्रेष्ठले भने, ‘उनीहरू सहमत थिए तर त्यहाँबाट हटाएर फेरि अन्तै राखिन्छ भनेर हामीले स्प्रे गर्यौं।’