वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका महिलाहरुका लागि निशुल्क सेनेटरी प्याड वितरण थालेको छ। नगर जनस्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वीरेन्द्रनगर १६ स्थित स्वास्थ्य चौकीबाट निशुल्क प्याड वितरण थालिएको हो।
महिनावारी र सरसफाईबारे सचेतना दिने उद्देश्यले कार्यक्रम गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले जानकारी दिइन्। निशुल्क प्याड वितरण गर्ने कार्यक्रम अबको दुई महिनाभित्र सबै वडाभित्र लागू गरिसक्ने ढकालले बताइन्।
महिनावारीका बेला पर्याप्त सरसफाई नहुँदा हुनसक्ने स्तन तथा पाठेघरको जोखिम र अन्य यौन रोगहरुबाट बच्न यो कार्यक्रमले सहयोग पुग्ने उनले बताइन्। ‘महिनावारीका बेला प्याडको अभावले धेरैजसो महिला दिदीबहिनीहरुको पूर्ण सरसफाई हुँदैन, यसबाट हुन सक्ने जोखिम तथा संक्रमणबाट बच्न निशुल्क प्याड वितरणले सहयोग पु¥याउने छ’ ढकालले भनिन्।
सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निशुल्क प्याड वितरण गरेपनि महिलाहरुका लागि भने यस्तो सुविधा छैन। नगरका सम्पूर्ण महिलाहरुका लागि निशुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर नै देशको पहिलो नगरपालिका रहेको उनले बताइन्।
यो कार्यक्रमले महिलाहरुलाई महिनावारीका बेला स्वास्थ्य, सरसफाई र स्वच्छताका बारेमा समेत खुलेर कुरा गर्ने वातावरण सिर्जना हुने ढकालले बताईन्।
गत आर्थिक वर्षको नगरसभाबाट नै नगरपालिकाभित्र रहेका महिलाहरुका लागि मासिक रुपमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने निर्णय गरिएको थियो। नगरभित्रका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्याड वितरण गरिने नगरपालिकाले जनाएको छ ।