औद्योगिक करिडोरमा रहेका उद्योगबाट निस्कने रसायनयुक्त पानी तथा लेदोले सिर्सिया नदी प्रदुषित बनेको छ।
बाराको सिमरादेखि पश्चिममा पर्ने रामवनमा रहेको जंगलमा मुल रहेको सिर्सिया नदी प्रदुषणको चपेटामा परेको करिव ३ दशक भइसकेको छ।
बारा–पर्साको औद्योगिक करिडोरमा रहेका साना ठूला गरी ४६ उद्योगबाट उत्सर्जित हुने प्रदुषित रसायनयुक्त पानी र फोहोर पदार्थ नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी प्रदुषित भएको हो।
औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको छ।
वीरगन्ज महानगरपालिकाले नै पदमरोड, रानीघाट, आदर्शनगर, छपकैया लगायतका स्थानबाट ढलको फोहोर पानी सिधै सिर्सियामा फालिरहेको छ। नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।
सिर्सिया नदीको प्रदुषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको छ। ‘कुनै बेला यहाँका स्थानीय सिर्सिया नदीमै नुहाउँथे, चौपयाहरु नदीको पानी पिउँथे’ रामगढवाका रमेश पटेल भन्छन् ‘तर अहिले नदी यति प्रदुषित र विषालु भइसकेको छ कि दुर्गन्धले नाक थुनेर हिँड्नु पर्छ, पानी खाएका चौपया बिरामी पर्छन्।’
एक दशकदेखि आन्दोलन तर कुनै असर परेन
सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै एक दशकयता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन्। तर त्यो दवावको कुनै असर परेको छैन।
नदीको प्रदुषण रोक्न माग गर्दै तीन महिनायता चरणबद्ध आन्दोलन गर्दै आएका सिर्सिया नदी एवं. वीरगन्ज प्रदुषणमुक्त अभियानका अभियन्ताहरुले वीरगन्ज महानगर, जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा लिखित रुपमै ज्ञापन पत्र पनि बुझाई सकेका छन्।
सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै अभियन्ताहरुले घण्टाघर चोकमा अभियान चलाएर संकलन गरेको १५ हजार हस्ताक्षर सहितको ज्ञापन पत्र पुस १३ गते पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएका थिए।
‘कात्तिक १४ मा नदीको प्रदुषण रोक्न माग गर्दै हामीले विरोध जुलुस पनि निकाल्यौँ, त्यस दिन जिल्ला प्रशासन कार्यालय र महानगरपालिकामा पुगेर ज्ञापन पत्र पनि बुझायौँ’, अभियानका संयोजक सुरेन्द्र कुर्मी भन्छन्, ‘सिर्सिया नदीको प्रदुषित एक बोत्तल पानी र नदिको दुर्गन्धित लेदो सिडिओ र मेयर दुवैलाई दिएका थियौँ, तर पनि हाम्रो कुरा कसैले सुनेनन्।’
पटक पटक विरोध र दवावमुलक जुलुस धर्ना गर्दा पनि नदीको प्रदुषण रोक्न सरकारी निकायबाट पहल नभएपछि बिहीबारदेखि घण्टाघर चोकमै अभियन्ताहरु धर्नामा बस्न थालेका छन्।
‘सिर्सिया नदी हाम्रो जीवनशैली र सभ्यतासँग जोडिएको सम्पदा हो, त्यसैले अब यसलाई सफा र संरक्षण ढिला गर्नु हुँदैन’ अभियन्ता एंव प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले भने।
छठ पर्वका बेला अभियानले दवावमूलक प्रदर्शन र कार्यक्रम गरेपछि जिल्ला प्रशासन कार्यालयले नदीमा प्रदुषण गर्ने बाराको भलुहीस्थित हिमालयन लेदर उद्योगका संचालक चाइनिज नागरिक ३६ वर्षीय लिउता छुवाङ्ग र उद्योगका प्रवन्धक ३५ वर्षीय तिनजुङ्ग गुरुङ्गलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि उद्योगहरुले नदीमा फोहोर र रसायनयुक्त पानी फाल्न छाडेका थिए।
तर छठ पर्व बिते लगत्तै फेरि उद्योगहरुले फोहोर र रसानयुक्त पानी सिधै नदीमा फाल्न थालेको स्थानीय बताउँछन्।
सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो।
बाराको रामपुरटोकनीमा रहेको नारायणी छाला उद्योग, लिपनीमालको मोरियम एण्ड मारियम लेदर इण्डष्ट्रिज, वीरगञ्ज बहुअरीको नेशनल लेदर इण्डष्ट्रिज, लिपनीबिर्ताको ग्लोबल लेदर टेनिग इण्डष्ट्रिज, नेपाल लेदर र रामपुरटोकनीको एभरेष्ट छाला उद्योगलाई कार्वाही गर्न भनिएको प्रतिनिधि सभा सदस्य प्रदिप यादवले बताए।
त्रिवेणी टेक्सटायल इण्डष्ट्रिज, अरनिको टेक्सटायल, सिद्धी टेक्सटायल, डायमण्ड टेक्सटायल, न्यु अनिल टेक्सटायल, इष्टर्न टेक्सटायल, हिमाल डिष्टिलरी प्रालि, सुर्या एग्रो प्रोडक्सन एण्ड कुसुम आयल, बिनायक एग्रो प्रालि, शिवशक्ति घ्यु उद्योग, शिवशक्ति सोप इण्डष्ट्रिज, पुजा सोप एण्ड केमिकल इण्डष्ट्रिज, हुलास स्टिल, भगवती स्टिल, जय विश्वकर्मा इण्डष्ट्रिज, साल्ट एण्ड स्वीट र हिमाल स्टिलले पनि नदीमा प्रदुषण गरेको प्रदिवेदनमा उल्लेख रहेको यादवले बताए।
अनुगमन समितिले जिल्ला प्रशासन कार्यालयमा त्यति बेला नै बुझाएको प्रतिवेदन अहिले सम्म कार्यान्वयन हुन सकेको छैन। अनुगमन समितिका संयोजक रितेश त्रिपाठी भन्छन्, ‘उ बेला हामीले निक्कै मेहनत गरेर २५ पृष्ठको प्रतिवेदन तयार पारी स्थानीय प्रशासनलाई बुझाएका थियौँ, तर नौ वर्ष बितिसक्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।’
प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार सिंह सिर्सिया नदीको प्रदुषण नियन्त्रणका लागि निरन्तर रुपमा स्थानीय प्रशासन र महानगरपालिकालाई निरन्तर दबाब दिँदै आए पनि प्रदुषण रोक्न कुनै चासो नदेखाइएको गुनासो गर्छन्। पटक पटक अध्ययन गरेर सम्बन्धित निकायलाई प्रतिवेदन पनि बुझायौँ’ उनी भन्छन्, ‘वातावरण विभागका साथै उद्योगमन्त्रीलाई भेटेर ध्यानाकर्षण गरायौँ, तर नदीको दुरावस्था जस्ताको त्यस्तै छ।’
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सिर्सिया नदीको सफाई र सौन्दर्यकरणका लागि संघीय सरकार समक्ष ‘सिर्सिया करिडोर’ प्रस्ताव गरिएको बताए। झण्डै २ सय करोडको लागत अनुमान गरिएको सिर्सिया करिडोरको डिपीआर तयार पार्ने काम भइरहेको उनको भनाइ छ।
पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने सिर्सिया नदीमा देखिएको प्रदुषणको समस्याका विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाउने तयारी गरिरहेको बताए।
‘सरोकार राख्ने अभियन्ता, उद्योगी, महानगरका जनप्रतिनिधी बिच सर्वपक्षिय बैठक राख्ने तयारी भइरहेको छ’ उनले भने ‘छलफलपछि नदीको स्थलगत अनुगमन पनि गर्छौँ, त्यसपछि आवश्यक कदम अगाडि बढाइन्छ।’