मिनबहादुर तामाङलाई मैले पहिलो पटक न्युरोड गेटमा भेटेकी थिएँ। दृष्टिबिहीन मिनबहादुर र उनको टोली त्यहाँ बसेर गीत गाउँछन् र संकलित रकमले गुजारा चलाउँछन्।
मंगलबार त्यो बाटो हिँड्दै गर्दा उनी र उनको टोली नदेखेपछि म झस्किएँ। केही साताअघि मात्रै महानगरपालिकाले उनीहरूको माइक र स्पिकर खोसेर सडकमा नआउन चेतावनी दिएको थियो।
सडक छाड्न उनीहरूले एक साताको 'अल्टिमेटम' पाए, जुन गत बिहीबार नै सकिएको थियो।
गत बिहीबार फोन सम्पर्क गर्दा मिनबहादुरले भनेका थिए, 'अहिलेसम्म सबै ठीक छ। केही भयो भने खबर गर्छु ल।'
सधैंजसो गीत गाउँदै न्युरोड गेटमा बस्ने उनलाई नदेखेपछि मैले नै उनको नम्बर घुमाएँ। बौद्धमा दृष्टिबिहीनहरू भेला भएर आश्रम जान लागेकाले न्युरोड आउन नभ्याएको उनले बताए।
'आश्रम?'
महानगरपालिकाले 'सडकमा कोही भोकै बस्नु पर्दैन, भोकले मर्नुपर्दैन' भन्ने नारासहित अभियान सुरू गरेको थियो। जसअन्तर्गत, बेसहारालाई आश्रममा लगेर खाना–नाना व्यवस्था गरिदिने महानगरअन्तर्गत समाज कल्याण विभागका निर्देशक हरि कुँवरले जानकारी दिएका थिए।
दृष्टिबिहीनहरूले भने 'अपराधीलाई जेलमा राखेजस्तो आश्रममा राख्नुभन्दा रोजगार दिइयोस्' भन्ने माग राखेका थिए।
'तपाईंहरू त आश्रम जान्नौं भन्नुहुन्थ्यो। होइन र?' मिनबहादुरलाई प्रश्न गरेँ।
उनले भन्न खोजेको आश्रम फरक रहेछ। महानगरले भनेको आश्रम नभई उनीहरू आफैं मिलेर बनाइरहेको बताए। गोकर्णेश्वरस्थित नयाँ पाटी भन्ने ठाउँमा उनीहरूको निर्माणाधीन आश्रम रहेछ। बौद्धबाट त्यतै हिँड्न लागेको उनले सुनाएपछि सोधेँ, 'म पनि आऊँ तपाईंहरूको आश्रम?'
...
गोकर्णेश्वरको करिब साढे एक रोपनी जग्गामा उनीहरूको आश्रम भवन बन्दै रहेछ। जस्तापाताले बनेका चार घर तयार थिए, अरूमा बाँस ठडिइरहेका। जस्तापाता, बाँस लगायत निर्माण सामाग्री पनि वरिपरि छरिएको देखिन्थ्यो।
बनिसकेको घरको आँगनमा करिब एक दर्जन दृष्टिबिहीन र अपांगता भएका मान्छे गफगाफ गर्दै थिए।
उनीहरूमध्येका ५७ वर्षीय टंकबहादुर राउत आँखा राम्रै देख्छन्, अपांगता पनि छैन। अशक्त भने हुन्। उनको नाकमा पाइप जडान गरिएको थियो। २०६८ सालतिर उच्च रक्तचाप बिग्रिएपछि उनी अस्पताल थलिएर निस्किए। त्यसपछि नाकको पाइपबाटै झोल पदार्थ खाएर बाचिँरहेका छन्।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् जो त्यही घरमा बसिरहेका थिए। जसमध्ये एउटा छोरालाई बाइकले हानेर टाउकोमा असर पुगेपछि पक्षघात भएर थलिएर बसेका छन्।
दुई वर्षअघि नै यो घर बनाउने 'कन्सेप्ट' टंकबहादुरले नै फुराएका रहेछन्। उनलाई साथ दिए दृष्टिबिहीन टेकबहादुर मगरातीले। टेकबहादुर न्युरोडमै गीत गाउँथे भने टंकबहादुर दृष्टिबिहीन र अपांगता भएकाहरूलाई गाइडका रूपमा सहयोग गर्थे।
'टंकबहादुर सरलाई त करिब ९० प्रतिशत दृष्टिबिहीन–अपांगहरूले चिन्नुहुन्छ नि,' टेकबहादुर उनको परिचय व्याख्या गर्दै खुलाउँछन्।
सडकमा त्यसरी उनीहरूलाई बस्न मन थिएन। आफूजस्तै अशक्त-असहायलाई सहयोग गर्ने उद्धेश्यले उनीहरू मिलेर भाडामा जग्गा खोजिरहेका थिए। सरकारले सडकबाट हटाउन खोजेपछि उनीहरू आफ्नो उद्धेश्यमा झनै दृढ भए।
'वर्षको ३० हजार तिर्ने सर्तमा कागज तयार भएको छ,' टेकबहादुरले भने, 'प्रत्येक वर्ष दस प्रतिशत बढ्ने गरी पाँच वर्षसम्मको सहमति छ। हामीले एकअर्कासँग पैसा उठाएर जग्गा लिएका हौं।'
उनीहरूको योजना ४० परिवारका लागि कोठा तयार गर्ने छ, जसमा करिब सयभन्दा बढी मान्छे बस्नेछन्। चार–चार कोठाका दरले घर बन्न थालेको छ। चार कोठा तयार पार्नै २ लाख ४० हजार रूपैयाँ लागेको उनीहरू बताउँछन्। त्यहीक्रममा सबै कोठा बनिसक्दा करिब एक करोडभन्दा बढी लाग्नेछ।
यत्तिका रकम कसरी तिर्ने भनेर उनीहरू आत्तिएका छन्, हिम्मत भने हारेका छैनन्।
'त्यही सडकबाट थोरै रकम उठाएर ऋण तिरौंला भन्ने थियो। त्यो बाटो पनि नरहने भयो। सडकमा गीत गाउँदा पनि स्पिकर लगिदेला भनेर अचेल त हामी खुट्टामा बाँधेर गाउन थालेका छौं,' मिनबहादुरकी श्रीमती अर्धदृष्टिबिहीन कल्पना पहारीले भनिन्।
वैकल्पिक आर्थिक श्रोतका रूपमा उनीहरू वडा, महानगरदेखि विभिन्न संस्थामा चन्दा खोजिरहेका छन्। त्यसमध्येको मुख्य श्रोत हो 'आमाघर'। आमाघर दिलशोभा श्रेष्ठद्वारा सञ्चालित 'श्री वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी' हो।
'दिलशोभा आमाले यहाँका दृष्टिबिहीन–अपांगलाई खाना व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनुभएको छ,' टेकबहादुरले भने, 'उहाँले नै विभिन्न निकायसँग ऋण पनि खोजिदिँदै हुनुहुन्छ।'
त्यस्तै चिनजानको रश्मी हार्डवेयरबाट उनीहरूले निर्माण सामान ल्याइरहेका छन्। बालुवा, बाँस, जस्ता लगायत सामग्री गाडीमा ल्याएर हार्डवेयरले झारिदिन्छन्। हार्डवेयरसँगको ऋण नै करिब २ लाख भएको टेकबहादुर बताउँछन्।
'त्यहाँका सरको आमाबुवाले सामान त दिइस्, उनीहरूले तिरेनन् भने के गर्ने भन्नुहुन्छ रे,' आश्रम निर्माणक्रमका चुनौतीबारे उनी बताउँछन्, 'उहाँ हाम्रोमा पैसा माग्छु भनेर आउनुहुन्छ रे। हाम्रो अवस्था देखेपछि त्यसै जानुहुन्छ।'
'पैसा त तिर्नुपर्छ है दाइ भनेर बेलाबेला फोन पनि गर्नुहुन्छ।'
घर बनाउने जनशक्तिका रूपमा उनीहरू आफैं पनि खट्छन्। माटो खन्ने, ब्लक ओसार्ने लगायत काम आफैंले गर्न सक्ने बताउँछन्। त्योबाहेकका अरू काममा भने ज्यामी लगाएका छन्।
उनीहरूलाई विश्वास छ– आफ्नो जीवन उकासेर सहज बनाउन सरकारले होइन, आफैं गर्नुपर्छ।
घर बनिसकेपछि आफूहरूको सीपअनुसार तरकारी खेती, डल्लो साबुन निर्माण, कृषि, फार्मेसी लगायत काम गर्ने उनीहरूको योजना छ।
संघर्षशील दृष्टिबिहीन समिति अन्तर्गत रहेर दृष्टिबिहीनहरू ती सामग्री बेच्न पहिले विभिन्न पसल, गल्ली चहार्थे। आफ्ना सामान धेरैले नकिनेपछि उनीहरू सडकमा उत्रिनुपरेको बताउँछन्।
त्यसैमध्येका हुन् मैले न्युरोड गेटमा भेटेका मिनबहादुर। करिब ६ वर्षअघि उनी बौद्धमा गहुँ–मकै बेच्थे। सरकारले त्यहाँ प्रतिबन्ध लगाएपछि डल्लो साबुन, सिन्के धुप, फिनेल लगायत सामग्री पसल–पसल डुल्दै बेच्न थाले। कतिले दृष्टिबिहीनलाई सहयोग भन्दै सामान किन्थे, कतिले 'आँखा नदेख्नेले बनाएको' भनेर लिन मान्थेनन्।
महिनाको ४ हजार ५ सय रूपैयाँ घर भाडा तिरेर परिवार धान्न उनलाई हम्मे पर्यो। त्यसपछि सडकमा उभिएर गाउन बाध्य भए।
अर्का दृष्टिबिहीन टेकबहादुरले भने ५७ सालदेखि ६२ सालसम्म गरिबी निवारण कोषमा काम गरेका रहेछन्। ६ वर्ष काम गर्दा पनि २ हजा ६ सय रूपैयाँभन्दा तलब नदिएपछि काम छाडे। त्यसपछि मिनबहादुरसँगै मकै–गहुँ बेच्न थाले। प्रतिबन्ध लगाएपछि उनको विकल्प पनि सडकै भयो।
यो घर बनेपछि भने सडकमा नगई यहीँ उद्यम सुरू गर्न चाहन्छन् उनीहरू।
'हामीले पहिला सीपमूलक तालिम लिएका थियौं। त्यो सीप विकास गरेर व्यवसायिक बन्ने हाम्रो दीर्घकालीन सोच छ,' मिनबहादुरले भने, 'पहिले हामीले उत्पादन गरेका सामग्रीले बजार नपाएकाले सडकमा उभिन परेको थियो। सरकारले हामीलाई बजार व्यवस्थापन मात्रै गरिदिने हो भने हामी सडकमा आउने थिएनौं।'
हाल बनिरहेको घरमा टेकबहादुर र टंकबहादुरको परिवार सामान रेखदेख गर्दै बसिरहेका छन्। ३६ कोठा अझै निर्माणकै चरणमा छ। बनेका चार कोठाको भने गोकर्णेश्वर नगरपालिकाका मेयरसहितलाई बोलाएर आइतबार उद्घाटन गर्ने उनीहरूको तयारी छ।
सबै तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी