बाग्लुङको तमानखोला ३ भोकखोलाकी कल्पना बुढाथोकी र म्याग्दीको मालिका २ जेमका प्रताप पुन दश वर्षअघि २०६६ मा ‘खासखुस’ विवाह भयो।
विवाह गरेको वर्षदिनमै छोरी जन्मिइन्। जेठी छोरी अहिले ९ वर्षकी भइन्। उनीहरूले त्यसपछि थप २ बच्चा जन्माए। माइली छोरी ७ र कान्छी छोरी ४ वर्षकी छिन्।
दश वर्षअघि गरेको खासखुस ‘विवाह मान्नुपर्ने’ भयो। विवाह गर्दा केटाकेटीको घर भित्र्याउन र टीका लगाएर आर्शिवाद दिने चलनलाई ‘मान्ने’ भन्छन्।
आफुखुसी गरेको विवाहलाई परिवारले स्वीकृति दिन पनि ‘विवाह मान्ने’ परम्परा छ। विवाह मान्न भर्खर विवाह हुन लागेजस्तै केटाको घरबाट बिहीबार केटीको माइततर्फ जन्ती हिँड्यो।
ट्रयाक्टरमा गएको जन्तीमा उनीहरूकी कान्छी छोरी यसोदा पुन पनि थिइन्।
मालिकाको जेमबाट तमानखोलाको भोकखोला जाँदै गर्दा बेलुका करिब ७ बजेतिर ट्रयाक्टर दुर्घटनामा पर्यो।
ट्रयाकमात्र खोलिएको कच्ची सडक घुम्ती थियो। ट्रयाक्टर माथिको बाटोबाट खसेर तल्लो बाटोमा पुग्यो।
घटनास्थल पुगेका तमानखोला प्रहरी चौकीका प्रमुख असई पदम नेपालीले भने, ‘बर्खायाममै पानीले खोलेको बाटो रहेछ, त्यहीँबाट करिब १५ मिटर तल ट्रयाक्टर खसेछ।’
दुर्घटनामा३ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। ज्यान गुमाउनेमा म्याग्दीको मालिका गाउँपालिका-२ की २१ वर्षिया रीता पुन, ५२ वर्षिया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रसाद पुन रहेको म्याग्दीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।
दुर्घटनामा परेर ४ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा म्याग्दी मालिका गाउँपालिका २ का ४८ वर्षीय मनप्रसाद पुन, २९ वर्षीय ट्रयाक्टर चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुन छन्। उनीहरूलाई बुर्तिबाङस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त ट्रयाक्टरमा झन्डै ३५ जना जन्ती थिए । दुर्घटनामा परेर सामान्य घाइते भएका ६ जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी घर गइसकेका छन्।
दुर्घटनामा परेका दुलाहा र उनको छोरी भने सकुशल छन्।