दमक बालुवाटार जग्गा घोटाला
दमक चोकबाट तीन किलोमिटर दक्षिणको बालुवाटार फाँटमा गाई र भैंसीको ठूलो फार्म छ।
त्यही फार्मको सामुन्ने एक तलाको पाँच कोठे घर बनाइएको छ।
सोमबार मध्याह्न इन्द्रप्रसाद लुइँटेल त्यही घरको बाहिर घाम तापेर बसिरहेका थिए। ७५ वर्ष कटिसकेका लुइँटेलको लौरो जस्केलामा ठडिइएको थियो।
लुइँटेल २०७३ जेठ ४ गते दमक बालुवाटार आएका हुन्। उनी तेह्रथुमको साबिक फाक्चामारा गाविसका हुन्।
श्रीमती नैनकला, कान्छो छोरा भवानीसाथ इन्द्रप्रसाद दमक आए। घर बनाएर बस्न थाले।
भवानी गाई-भैंसी फार्मको रेखदेख गर्छन्। ‘मालिक’ले कामदार राखेका छन्। भवानी कामदारलाई अह्रन-खटन गर्छन्। दूध बेच्छन्। गाईं-भैंसीका लागि कुँडो र घाँस जुटाउँछन्। पगा लगाउन गाई-भैंसी घाँसेमैदान लैजान्छन्।
यहाँ पहिले बंगुर फार्म थियो। बंगुर फार्म छोडेर ‘मालिक’ले गाई-भैंसी फार्म खोले। जे-जसो हुँदै गए पनि ‘मालिक’को आज्ञापालक भएर भवानी फार्मको रेखदेख गरिरहेका छन्।
बुढ्यौलीले छोए पनि इन्द्रप्रसाद सक्रिय देखिन्छन्। लौरो टेकेर वरिपरि डुलिरहेका हुन्छन्। गाईं-भैंसी डोर्याउन सघाइरहेका हुन्छन्।
बालुवाटार फाँटको पारिलो घाम तापेर माघ त जसोतसो इन्द्रप्रसादले काटेका छन्। अर्को माघको घाम ताप्न उनी कहाँ पुग्ने हुन् ठेगान छैन। किनकी, उनी बसेको बालुवाटारको जग्गा छानबिनमा परिसकेको छ।
इन्द्रप्रसादलाई यहाँसम्म डोर्याएर जग्गा किनाउने र भवानीलाई फार्ममा काम लगाउने ‘गगन’ भनिने रेवतराज पुरी हुन्।
पुरी इन्द्रप्रसादका ‘पुत्ने’ छोरा हुन्।
बाहुन पढाएको नभए पनि पुरी र उनका माइला छोरा होमप्रसादबीच बोलेको ‘मितेरी’ साइनो छ।
पुरी बालुवाटार जग्गा घोटालाका मुख्य व्यक्ति हुन्। यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर मुद्दा दर्ताका लागि झापा प्रहरीलाई प्रतिवेदन बुझाएपछि पुरी फरार भएका छन्। प्रहरीले पक्रेला भनी दुई महिनायता लुकिरहेका छन्।
इन्द्रप्रसादलाई थाहा छैन आफ्नै मित छोराले बालुवाटारको जग्गामा जालझेल गरेर घुसाएको।
यहीँ किन आउनुभयो? भनेर सोध्दा इन्द्रप्रसादले भने, ‘गगन मेरो मित छोरो हो नि त। उसैले आउन भनेपछि माइलो छोरो (होमप्रसाद)ले यहाँ ल्याएर राखिदियो।’
साइनो सम्बन्ध केलाउने क्रममा इन्द्रप्रसादले पुरी कक्षा ६ देखि १० सम्म आफ्नै घरमा बसेर एसएसलसी पास गरेसम्म सुनाए।
रतुवा खोलो छलिन थालेको थाहा पाएपछि पुरी परिवार फेरि दमक झर्यो। यो २०५५-५६ सालतिर हो।
बीच-बीचमा पुरी कहिलेकाहीँ तेह्रथुम पुग्थे। होमप्रसादसँग कुराकानी भइरहन्थ्यो।
गाउँमा राम्रो प्रबन्ध नभएकाले औषधी-उपचार गर्न इन्द्रप्रसाद दमक धाउँथे। पुरीसँग भेट हुने नै भयो। ‘साइनो’ रहेकाले पनि दमक आउन सजिलो थियो।
यही मेसोमा एकचोटी पुरीले ‘गाउँ बसेर औषधी उपचारमा कति सहर धाउने? यतै आउनुहोस् मित बुवा’ भनेर बोलाएछन्।
होमप्रसादले पनि आड दिएपछि मख्ख परेर इन्द्रप्रसाद कान्छो छोरो लिएर दमक आए, फाक्चामाराको जग्गामा त्यतिकै छोडेर।
दमक बालुवाटारमा जोडिएपछि पुरीले अन्य व्यक्तिहरूको नाम लिँदै आफ्नै मितआमा नैनकला लुइँटेलको नाम मुछेका छन्। लुइँटेल परिवारले त्यहाँ कति जग्गा छ भन्ने किटान गरेर बताउन सकेन।
होमप्रसादका अनुसार आमा नैनकलाको नाममा जग्गा छ। त्यो पुरीबाट लिएको जग्गा नै हो।
‘नैनकला मेरी आमा हो, मेरो साथी (गगन)बाट जग्गा लिएको छ हाम्रो परिवारले,’ अहिले काठमाडौंमा रहेका होमप्रसादले भने, ‘के कति छ भन्ने त थाहा छैन।’
झापा प्रहरीका अनुसार पुरी र केही व्यक्तिका नामका त्यहाँ ठूला प्लट छन्। दर्जनौं टुक्रा-टुक्रा जमिन छन्। तिनै टुक्रामध्ये एउटा नैनकलाको नाममा छ।
‘हामीले कण-कण केलाइरहेका छौं, नैनकलाको नाममा ठूलो प्लट छैन,’ झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने, ‘धेरै जग्गा पुरी आफू र उनका परिवारकै नाममा देखिन्छ।’
दमक-८ (साबिक १३) का पुरी कसरी तेह्रथुम फाक्चामाराका लुइँटेल परिवारसँग मितेरी साइनो गाँस्न पुगे?
यसमा पनि रतुवा खोलै जोडिन्छ, जुन खोलाले पुरीले हडपेको जग्गाको नामाकरण २०४० सालतिरै बालुवाटार गरिदिएको थियो।
रतुवाले पुरिरहने भएकाले त्यहाँको जग्गाको नामाकरण ‘बालुवाटार’ गरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानबाट जग्गा हिनामिना भएको खुलेपछि यो जग्गालाई ‘बालुवाटार जग्गा-२’ भन्ने गरिएको छ।
रतुवा खोलाकिनारका पुरी जग्गाजमिन निकै भएका मानिन्थे। २०४० सालमा रतुवा खोलाको बाढीले उठाएपछि पुरी परिवार धनकुटाको साबिक तेलिया गाविस पुगेको थियो। त्यहाँ उनीहरूको पुरानो घर जग्गा थियो।
पुरी सानै थिए। प्राथमिक कक्षा त उनले तेलियामै पढे।
माध्यमिक शिक्षाका लागि कि धनकुटा कि तेह्रथुम जानुपर्ने बाध्यता थियो।
फाक्चामारामा नवीन शिक्षा सदन माध्यमिक विद्यालय थियो। त्यो तेलियाबाट केही नजिक पर्थ्यो।
तर, घरैबाट धाउन मुस्किल। तुलनात्मक रूपमा धनकुटाभन्दा फाक्चामारा बस्नु पायक पर्ने भएकाले पुरी त्यतै लागे। पुरी फाक्चामारा २०४७ सालतिर गएका थिए।
गाउँमा इन्द्रप्रसादको घर भेट्टाए। उनकै घरमा बस्ने निधो गरे। कक्षा ६ देखि १० सम्म इन्द्रप्रसादकै घरमा बसेर पढे।
नवीन शिक्षा सदनमै सेन्टर पर्यो। आफूले पढेकै स्कुलबाट एसएलसी परीक्षा दिए। पास भएपछि पुरी आइए पढ्न धनकुटा बहुमुखी क्याम्पस पुगे।
पढ्ने सिलसिलामा लामो समय बसेका हुनाले लुइँटेल परिवारसँग पारिवारिक सम्बन्ध गाँसिन पुग्यो। होमप्रसादसँग उनले मितेरी साइनो नै गाँसेपछि भने इन्द्रप्रसाद मितबुवा बनेका हुन्।
‘हामी साथीसाथी हौं, जग्गा-सग्गाको के छ मलाई थाहा भएन,’ होमप्रसाद भन्छन्, ‘दमकमा त उनीहरूको पुर्ख्यौली जग्गा न हो।’
साथीसंगति भएकाले आफूले सोधीखोजी नगरेको उनले बताए। ‘केही छ र त्यस्तो?,’ उनले सोधे।
दमकका स्थानीयका अनुसार पुरीका बुवाले तीन वटा विहे गरेका थिए। पुरी माइली श्रीमतीका छोरा हुन्।
तीन आमाका दुई-दुई छोरा छन्। यसहिसाबले अंशवण्डा हुँदा पुरीको व्यक्तिगत नाममा बढी जग्गा नआएको बुझिन्छ।
‘अंशमा परेको केही र त्यसमा सरकारी जग्गा मिसाएपछि पुरीले मेरो पुर्ख्यौली जग्गा धेरै छ भन्दै धाक देखाउँछन्,’ दमक नगरपालिकाका एक कर्मचारीले भने।
उनका अनुसार पुरी परिवारमा अंशवण्डा २०७३ सालमा भएको थियो। त्यसबेला पुरीकी कान्छीआमा मनमायाका नाममा २३ बिगाहा जग्गा पास भएको देखिन्छ।
‘त्यो उनीहरूको आफ्नै थियो वा सरकारी जग्गा मिसाएपछिको थियो थाहा भएन, मनमायाको नाममा जग्गा पास गर्न पुरी आफैं मालपोत पुगेको थाहा छ,’ ती कर्मचारीले भने।
बालुवाटारको जग्गामै पुरीले दिलाइदिएको नेकपाको दमक नगर कमिटी कार्यालय छ। माओवादीमा हुँदा पुरीले पार्टीका लागि कार्यालय दिलाएका थिए।
दमक मुख्य चोकबाट दक्षिण हुँदै रिङरोडले यही कार्यालय भएर बालुवाटार जग्गालाई समेत छुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको घर भएका हिसाबले दमकमा विकासले तीव्र फड्को मारिरहको छ। रिङरोडले छुने जग्गा मूल्यवान् हुने नै भयो।
बालुवाटार अहिले मूल्यवान् बनेको पनि रिङरोडले छोएर नै हो। रतुवाको पाता नकस्दासम्म बालुवाटारको जग्गाको हैसियत थिएन।
२ नम्बरबाट सुरू भएर ७, ८, १० हुँदै ४ र ३ नम्बर वडा फेरो मारेर रिङरोड टुंगिन्छ। धमाधम पिच भइरहेको हुनाले रिङरोडले छोएको बालुवाटार जग्गाको मूल्य उक्लिएको छ।
‘हामी बोरा-बोरामा बालुवा बोकेर नदी थुन्न हिँड्थ्यौं, यस्तो होला भन्ने सोचेकै थिएनौं,’ स्थानीय खड्गबहादुर भण्डारीले भने, ‘रिङरोड आएर यस्तो होला भन्ने कसले सोचेको थियो र?’
उनी २०३६ सालदेखि यहाँ बसेका हुन्। बालुवाटारको सरकारी जग्गाको सिमानाको नम्बरी जग्गामा उनको घर छ।
२०६४/६५ मा रतुवाको पाता कसिएको हो। त्यहीँ घर भएको, माओवादी कार्यकर्ता र रतुवापीडितकै नाताले पनि बाँध बाँध्दा पुरीको सक्रियता देखिएको हो। उनले अग्रसरता देखाएकैले रतुवा फर्केको भन्नेहरू वडामा धेरै छन्।
तर, रतुवाको पाता कस्ने अग्रसरताको आवरणमा पुरीले भित्रभित्रै सरकारी जग्गा आफ्नो नाममा पारिसकेको भने धेरैलाई पत्तै छैन। ‘पहिले सुकुम्बासी बस्थे। केहीले त बेचेका हुन् भन्छन्। पुरी खानदानले किनेको हो भन्छन्,’ भण्डारीले भने, ‘कतिले बेचेका थिए, कतिले बेच्दै नबेची छोडेर हिँडेका छन् के थाहा!’
नबेची हिँडेका सुकुम्बासीको नाममा फिल्डबुक कायम भएको जग्गा अहिले हराएर पुरीको नाममा आएको त स्वयं सुकुम्बासीले नै बाहिर ल्याएकाले पुरीले जालझेल गरेका थिए भन्ने शंका जायज देखिएको छ।
दमकमा पत्रकार सम्मेलन गरेरै केहीले आफूहरूको नाममा आउन लागेको जग्गा पुरीले कीर्ते गरेर हत्याएको आरोप लगाएका थिए।
पीडित सञ्जीव मगरका अनुसार पुरीसँग आफूहरूले बारम्बार जग्गा फिर्ता मागेको बताए।
‘उनले दिन्छु पनि भने। तर, दिएनन्,’ उनले भने।
पीडित बुद्धिमान माझीले भने, ‘उसले मेरो जग्गा खायो। जग्गा माग्दा गगनले खोलाले छोडेको जग्गा मेरो हुन्छ, नछोडेको जग्गा तेरो हुन्छ भन्यो।’
६८ वर्षीय माझी दमकमा ठेला चलाउँछन्। आफ्नो साढे तीन कठ्ठामध्ये १२ धूर मात्र बाँकी रहेको, अरू जग्गा गगनले कब्जा गरेको उनले बताए।
पीडित मनप्रसाद लिम्बूले बालुवाटारमा आफ्नो परिवारको १३ कठ्ठा जग्गा भएको तर पुरीले सो जग्गा कीर्ते कागज बनाएर कब्जा गरी ग्यास उद्योग राख्न कम्पाउण्ड लगाएको बताए।
पुरीको जालझेलमा परेकामध्ये पथरी-शनिश्चरेका ओमप्रकाश पौडेल एक हुन्। उनको नाममा ११ बिगाहा जग्गा पुरीले राखेको त खुलिइसकेको छ। पहिलो चरणको अनुसन्धानका क्रममा तानिएका ओमप्रकाशसहित पाँच जनालाई अदालतले धरौटीमा छोडेको थियो।
अहिले प्रहरीले पुरी र उनका आफन्तको नाममा आएको जग्गाको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। हालसम्म पुरी र उनका आफन्तका नाममा पन्ध्र बिगाहा जग्गा देखिइसकेको छ। उनले टुक्रा-टुक्रा पारेर बेचेको जमिनको लेखाजोखा प्रहरीले गरिरहेको छ। बालुवाटारको पचास बिगाहा जग्गा पुरीले हिनामिना गरेको आरोप छ।
पुरीको भनाइबाट पनि उनले सरकारी जग्गा हत्याएको देखिन्छ। उनले ३० बिगाहा जग्गा आफ्नो परिवारको नाममा रहेको र अरू २० बिगाहा ऐलानी जमिन भोगचलन गरेको बताएछन्।
आफूहरूले भोगचलन गर्दै आएको उक्त ऐलानी जग्गामा २०३६ सालमा ८४ परिवार सुकुम्बासीलाई बसोबास गराइएको र त्यही जग्गा पछि सुकुम्बासीले आफ्नो परिवारलाई बेचेको दाबी उनको छ। यता सुकुम्बासीले त्यो जग्गा बेच्दै नबेचेको भनाइबाट त्यो जग्गा पुरीको नाममा कसरी आइपुग्यो भन्ने शंका गर्ने ठाउँ छ।
त्यो जग्गामा २०३९ सालमा सुकुम्बासीको फिल्डबुक कायम गरिएको थियो। रतुवाले बास उठाएपछि सुकुम्बासी भागे, रतुवा फर्किंदा सो जग्गा पुरीको नाममा आइसकेको अनुसन्धानमा देखिएको छ।
बालुवाटार जग्गामा साइनो सम्बन्ध नरहेका व्यक्तिहरू जोडिएकाबाट पनि पुरीले जग्गा हत्याएको देखिन्छ। ओमप्रकाश, नैनकला पात्र यसका प्रतिनिधि पात्र हुन्।
तर, ओमप्रकाशसहितका व्यक्ति पक्राउ परिरहँदा सम्पर्कमै रहेका पुरी एकाएक हराए। पुरी नेपाल कम्युनिष्ट पार्टीका एक नम्बर प्रदेश कमिटी सदस्य हुन्।
पूर्वमाओवादीमा प्रचण्ड निकट रहेका उनले दमक नगरपालिकामा स्थानीय तहको चुनाव हुँदा टिकट पाएका थिए। यसहिसाबले पुरीको पहुँच उच्च राजनीतिक तहसम्म रहेको बताइने गरिन्छ।
सम्बन्धित समाचार :