टिपरलाई सहरी क्षेत्रमा 'यमराज' भनिन्छ। यो तुलना त्यसै गरिएको होइन।
बुधबार मध्यरात कलंकीको अन्डरपासमुनि दुई युवाले ज्यान गुमाए। रौतहटका १९ वर्षीय राजेश चौधरी र २४ वर्षीय मुन्ना चौधरी चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थियो।
एक साताअघि गोरखामा बिहानै दूध बेच्न हिँडेकी ५२ वर्षीया मनमाया तामाङको प्राण टिपरले नै खोस्यो। दस दिनअघि सुर्खेतमा टिपरले ठोक्दा मोटरसाइकल चालक केशव सिंहको मृत्यु भएको थियो।
पछिल्लो दस महिनामा टिपरका कारण ३ सय ३० वटा दुर्घटना भएको ट्राफिक महाशाखाले जनाएको छ। यसमा ६ जना गम्भीर र ८५ जना सामान्य घाइते भए। काठमाडौं उपत्यकामा यो वर्ष मात्र ९ जनाले टिपरका कारण ज्यान गुमाए।
यसको कारण के त?
टिपरलाई मान्छेको बसोबास क्षेत्र र सहरी सडक निम्ति 'प्राविधिक रूपले अनुपयुक्त' सवारी मानिन्छ।
यो विदेशतिर ठूल्ठूला निर्माण स्थल र मरूभूमि क्षेत्रमा सामान ओसारपसार गर्न प्रयोग हुन्छ। सहरी सडक जतिसुकै फराकिलो र चिल्लो बनाए पनि राजमार्गमा जस्तो हुइँक्याएर सवारी चलाउन मिल्दैन। नेपालमा भने मध्यसहरमै निर्माण सामग्री बोकेका टिपर तीव्र गतिमा हुइँकिन्छन्।
टिपर चालकहरूका अनुसार यो गाडी आकस्मिक अवस्थामा नियन्त्रण गर्न मुश्किल हुन्छ। दायाँ–बायाँबाट कसैले अचानक सवारी छिरायो वा बाटोमा तुरुन्तै रोक्नुपर्यो भने गाह्रो पर्छ। रोक्न खोज्दा टिपर आफैं पल्टिने वा अरू सवारीसँग ठोक्किने सम्भावना रहन्छ।
बागमती टिपर व्यवसायी संघका पूर्वअध्यक्ष शेरबहादुर कुँवर गाडीको बनोट र केही मेकानिकल समस्याले सहरी सडकमा टिपर चलाउन अनुपयुक्त देखिएको बताउँछन्।
टिपरमा अगाडिको भाग अग्लो हुन्छ। उबडखाबड कच्चीबाटो वा निर्माण स्थलभित्र चल्ने भएकाले गाडीको तल्लो भाग र जमिनको दूरी (ग्राउन्ड क्लियरेन्स) बढी हुन्छ। चालक त्यही अग्लो भागमा बसेर गाडी हाँक्छन्। चालक सिटमा बसेर हेर्ने हो भने अगाडि एक–दुई मिटरसम्मको भुइँ देखिँदैन। यस्तोमा कुनै साना सवारी टिपरको एकदमै नजिक आयो भने चालकको आँखामा पर्दैन।
टिपरसँग टाँसिएर ओभरटेक गर्ने र अगाडि आएर घ्याच्च रोकिने दुईपाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने जोखिम अधिक भएको ट्राफिकहरू बताउँछन्। गाडी ब्याक गर्दा पनि यस्तै समस्या आउँछ।
प्रत्येक गाडीमा यस्ता केही विन्दु हुन्छन्, जहाँ चालकको आँखा पर्दैन। त्यसलाई 'ब्लाइन्ड स्पट' भनिन्छ। केही महँगा गाडीमा पछाडिका सबै दृश्य देखिने भिडिओ सुविधा हुन्छ। यस्तो सुविधा नभएको गाडीमा 'ब्लाइन्ड स्पट' भित्र अर्को सवारी आए दुर्घटना हुनसक्छ।
टिपरको 'ब्लाइन्ड स्पट' धेरै हुन्छ। दायाँबायाँका 'लुकिङ ग्लास' ले पनि सबै दृश्य देखाउँदैन। गाडीबाट अलि परका सवारी वा मान्छे ऐनामा पर्दैन। पर गुडिरहेको सवारी एक्कासि लेन फेरेर नजिक आयो भने दुर्घटना हुनसक्छ।
टिपरको अर्को प्राविधिक समस्या हो, शक्तिशाली इञ्जिन।
यसले गाडीमा भार धेरै भए पनि उच्च गतिमा हुइँक्याउन सकिन्छ। पूर्व ट्राफिक प्रमुख सीताराम हाछेथूका अनुसार बलियो बनावटको टिपरको पिकअप राम्रो हुन्छ। यस्तै प्राविधिक समस्याले विदेशमा टिपरलाई 'खतरा' सवारी मानिन्छ। विदेशका धेरै सहरमा टिपर प्रवेश निषेध छ।
टिपरको बलियो बनावटले पनि चालकलाई लापरबाह हुन प्रेरित गर्छ। टिपरलाई सानोतिनो ठक्करले खासै असर गर्दैन। यसले ठक्कर दिने अर्को सवारीलाई भने ठूलो क्षति हुन्छ।
झट्ट हेर्दा 'हेभी' गाडीजस्तो देखिए पनि वास्तवमा यो दायाँबायाँ मोड्न सजिलो हलुका सवारी हो। यसको पिकअप राम्रो छ। चालकको कम मिहिनेतमै जतासुकै बग्छ।
प्राविधिक समस्या आफ्नो ठाउँमा छ, तर त्यसो भन्दैमा गाडी आफैंले दुर्घटना गराउने होइन। चलाउन सजिलो र प्राविधिक रूपले त्रुटिपूर्ण यस्तो गाडी लापरबाह चालकको हातमा परेकाले दुर्घटना बढेको हाछेथूको तर्क छ।
टिपर आतंक नियन्त्रण गर्न सरकारले मालबाहक सवारीमा 'टाइम कार्ड' तोकेको छ। उपत्यका छिर्न बिहान ८ देखि १२ बजेसम्म र दिउँसो ३ देखि ८ बजेसम्म पाउँछन् भने चक्रपथभित्र बेलुकी ८ देखि बिहान ५ बजेसम्म मात्र चलाउन पाइन्छ। तर, समय कुर्दाकुर्दा आत्तिएर हतारिएका चालकको लापरबाहीले यही समय अन्धाधुन्ध टिपर चलाइरहेका छन्।
बुधबार कलंकीमा दुर्घटना गराउने टिपरको पनि गति धेरै भएको प्रहरीले बताएका छन्। सिसिटिभी फुटेज हेर्दा दुर्घटनामा संलग्न टिपरले अरू तीनवटा टिपर उछिन्दै आएको थियो।
यस्तो जोखिमपूर्ण सवारीले सडकमा कब्जा जमाएको करिब दस वर्षअघिबाट हो। ट्रकभन्दा तीव्र र चलाउन सहज भएपछि २०५७ सालयता टिपर संख्या बढ्दै गएको व्यवसायी बताउँछन्।
२०७२ को भुइँचालोपछि झनै बढ्यो। भित्री सहर र छेउछाउमा घर तथा पूर्वाधार निर्माण बढेसँगै ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ भयो।
पहिले यस्तो काममा मिनी–ट्रक बढी प्रयोग हुन्थे। यसको अर्को फाइदा, सामान खसाल्न सजिलो हो। सामान झार्न मान्छे नचाहिने भएकाले ठेकेदारको ढुवानी लागत कम हुन्छ। यसले काठमाडौं उपत्यकामा टिपर संख्या ह्वात्तै बढेर अचेल दैनिक ५ हजार बढी चल्छन्।
कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन थाले। टिपर चालकले प्रतिखेप पाँच सयदेखि १५ सय रुपैयाँसम्म भत्ता पाउँछन्। दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ। व्यवसायी र चालकको यस्तो होडबाजीले टिपरको गति र दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछन्।
टिपर कुदाउने अधिकांश चालक कम अनुभवी र आलाकाँचा भएकाले पनि समस्या बढेको हाछेथूको भनाइ छ। उनका अनुसार, अधिकांश टिपर चालक ३० वर्षभन्दा कम उमेरका चालक छन्। ती पनि धेरैजसो भर्खरै अनुमतिपत्र पाएका चालक हुन्।
'केही वर्षयता अनुभवी चालक धमाधम बिदेसिनुले टिपरको स्टेयरिङ भर्खरै लाइसेन्स पाएका आलाकाँचाका हातमा गयो,' हाछेथूले भने, 'आलाकाँचाको हातमा स्टेयरिङ पाएपछि संसारै जितेजस्तो ठान्छन्। उनीहरू सवारी नियम उल्लंघन गर्न धक मान्दैनन्।'
चालकको लापरबाहीलाई दुर्घटनासम्बन्धी कमजोर कानुनी व्यवस्थाले प्रश्रय दिइरहेको छ। हामीकहाँ दुर्घटना गराउने चालकलाई कडा कारबाही वा सजाय छैन। दुर्घटनाको प्रकृति हेरेर कानुनले तीन किसिमका कारबाही तोकेको छ– क्षतिपूर्ति, ज्यान मार्ने उद्योग र अंगभंग मुद्दा।
प्रचलित व्यवस्थाअनुसार २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि अदालतमा मुद्दा दायर हुन्छ। सामान्य सवारी मुद्दामा दुई वर्ष कैद सजाय व्यवस्था छ। लापरबाहीपूर्वक गाडी चलाएर ज्यान लिएको छ भने ज्यान मुद्दाअन्तर्गत पाँचदेखि १२ वर्ष कैद हुन्छ। सवारी ज्यान मुद्दामा अहिलेसम्म दुई वर्ष कैदभन्दा बढी सजाय कसैलाई भएको छैन। धेरै चालकले २४ दिन हिरासतमा बसेरै उन्मुक्ति पाउँछन्।
दुर्घटना गराउने गाडी व्यवसायी र पीडित पक्षबीच मिलापत्र गराएर चालकलाई उन्मुक्ति दिने प्रवृत्ति सबभन्दा धेरै छ।
चालक लापरबाह हुनुको अर्को कारण, दुर्घटनाको आर्थिक भारबाट उन्मुक्ति हो। उनीहरूले जतिसुकै ठूलो दुर्घटना गरे पनि न उपचार खर्च बेहोर्नुपर्छ, न पीडित पक्षलाई क्षतिपूर्ति तिर्नुपर्छ। आफ्नो केही नोक्सान नहुने भएपछि मान्छे स्वतः लापरबाह भइहाल्छ।