काठमाडौं उपत्यकाका सडकको दूरावस्था पनि कतिपय दुर्घटनामा कारक बन्ने गरेको छ। पानी पर्दा हिलाम्मे र घाम लाग्दा बुङबुङ्ती धुलो उड्ने मात्रै हाेइन, खाल्डाखुल्डी पनि उत्तिकै छन्।
ललितपुरको मंगलबजारदेखि ग्वार्को जाने सडकको अवस्थाले यहाँका स्थानीय आजित भएका छन्। मेलम्चीको पाइपलाइन बिछ्याउँदा खनिएको सडक अलपत्र अवस्थामा छ।
सामान्यतया सडक खराब भएका बाटोमा ‘सावधान दुर्घटना ग्रस्त क्षेत्र, बिस्तारै हाक्नुहोस्, सावधान अगाडि निर्माण कार्य हुँदैछ’ लगायतका बोर्डहरू राखिन्छ।
तर यहाँका स्थानीयले दुई वर्षदेखि निर्माण र पिच नभएको सडकका बीचमा फरक बोर्ड राखेर विरोध गरेका छन्।
उनीहरूले सरकारको कामप्रति प्रश्न गर्दै भिजिट नेपाल २०२० माथि पनि व्यङ्ग्य गरेका छन्।
‘भिजिट नेपाल २०२० को सडक अवस्था यस्तो हुन्छ?’ मंगलबजारदेखि ग्वार्को जाने बाटोको बीचमा राखिएको बोर्डमा लेखिएको छ।
यस्तै ‘सडक बनाउन आन्दोलन आवश्यकै हो?’ भनेर सरकारलाई चेतावनीसहितको बोर्ड राखिएको छ।
‘सावधान सडक जीर्ण भएकाले सवारी बिस्तारै हाक्नुहोला, सरकार! धुलो प्रदूषण कहिलेसम्म?’ जस्ता बोर्ड सडकको छेउछाउमा राखिएको छ।
स्थानीय बासिन्दाका अनुसार सडकका समस्याबारे गत जेठमा नै छलफल भएको थियो। मेलम्चीको पाइपलाइन राख्ने काम सकिने बित्तिकै सडक बनाउने भनेर हस्ताक्षर भएको उनीहरूको भनाइ छ।
छ महिनाभन्दा बढी बितिसक्दा पनि केही काम नभएपछि स्थानीयहरूले सडक बीचमै बोर्ड राखेर विरोध जनाएका हुन्।
हेर्नुस् तस्बिर :