ललितपुर महानगरपालिका-२ सानेपाको दुई तले बंगला। भुईं तलाको भान्साछेउको भर्याङछेउमा विजय चौधरी ढलिरहेका थिए।
भर्याङमा नाइलनको आधा डोरी थियो। छिनिएको आधा डोरी चौधरीको घाँटीमै। प्राण गइसकेको थियो।
किचनबाट ढोका बाहिरसम्म रगतको आहाल थियो। भित्र पस्दा श्रीमती मुना कार्की रगतको आहालमा अचेत थिइन्।
सोमबार बिहान पूर्वसचिव अर्जुन कार्की आफ्नो घरमा यो सब देखेपछि आत्तिँदै प्रहरीलाई फोन गर्छन्।
प्रहरी पुगेर घटनास्थलको मुचुल्का उठाउँदा घरमा काम गर्न राखिएका चौधरीले नै मुनाको हत्या गरेर आत्महत्या गरेको देखिन्छ।
पूर्वसचिव कार्कीकी श्रीमती मुना कार्कीको भुइँमा टाउको बेस्सरी ठोक्काइएको देखिन्छ।
४९ वर्षीया कार्कीलाई हतारहतार नजिकैको स्टार अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे।
प्रहरीका अनुसार बिहान ११ बजे कार्की घर आउँदा मुनालाई भुइँमा अचेत अवस्थामा फेला पारेका थिए।
मुना किचनमा ढलिरहेकी थिइन्। उनको टाउकोबाट अत्यधिक रगत बगिरहेको थियो।
घटनास्थलमा मुचुल्का उठाउन पुगेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार भुइँमा धेरैपटक मुनाको टाउको बजारेको देखिन्छ।
घटनास्थलमा हतियार प्रयोग भएको देखिँदैन।
‘प्लाष्टिकको पिर्का टुक्रा-टुक्रा अवस्थामा फेला परेको छ,’ तामाङले भने, ‘कुनै अन्य हतियार प्रयोग भएको देखिँदैन।’
दाङका २१ वर्षीय चौधरी किचनबाहिर डाइनिङ टेबुलनजिक झुण्डिएको पाइएको छ। उनले प्लाष्टिकको डोरी प्रयोग गरेर आत्महत्या गरेको देखिन्छ।
‘डोरी छिनेर शव भुइँमा खसिसकेको थियो,’ तामाङले भने।
मुना र चौधरीबाहेक घरमा कोही पनि थिएनन्। कार्की बिहानै पशुपतिनाथ मन्दिर दर्शन गर्न गएका थिए। फर्किँदा घरमा यो सब देखेपछि उनले प्रहरीलाई बोलाएका थिए।
प्रहरी पुग्दा चौधरीको मृत्यु भइसकेको थियो। मुनाको शरीर तातै थियो। प्रहरीले तुरून्तै अस्पताल पठाए पनि मुनालाई डाक्टरले मृत घोषणा गरेका थिए।
चौधरीको हातमा रगत दलिएको पाइएको छ। यसबाट चौधरीले नै मुनाको हत्या गरेर आत्महत्या गरेको आँकलन गर्न सकिने तामाङ बताउँछन्।
‘बाहिरिया मान्छे आएजस्तो देखिन्न,’ तामाङले भने, ‘हात रक्ताम्य भेटिएकाले उनले नै हत्या गरे कि भन्न सकिन्छ।’
मुनालाई पहिले प्लाष्टिकको पिर्काले हिर्काइएको हुनसक्छ, पिर्का टुक्रा-टुक्रा भएबाट। त्यसपछि टाउको भुइँमा बजारेको हुनसक्ने अनुमान प्रहरीको छ।
चौधरी विगत छ वर्षदेखि कार्कीको घरमा काम गर्थे। उनीहरूबीच पुरानो कुनै रिसराग थियो कि भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था नरहेको तामाङ बताउँछन्। ‘नराम्रो केही पनि थिएन भन्ने प्रारम्भिक जानकारी आएको छ,’ तामाङले भने।
चौधरीलाई सानै उमेरदेखि ल्याएर काममा राखिएका थिए। सामान्य विवाद हुँदा उनले आवेगमा मुनाको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।
कार्कीका दुई छोरी विदेशमा छन्। छोरा स्कुल गइसकेको बेला यो घटना भएको देखिन्छ। छोरा ११ वर्षका मात्र छन्।
ललितपुर परिसरले घटना के कारण भएको भनी औपचारिक रूपमा भनिसकेको भने छैन।
‘शवको मुचुल्दा उठाएर पोस्टमार्टमका लागि पठाइएको छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले भनिन्।
घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक टोली गएको छ। सो टोलीले घटनाको प्रकृतिबारे अनुसन्धान गरिरहेको छ।
सबै तस्बिर : नारायण महर्जन