सरकारले चीनबाट उद्धार गरेर ल्याइने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको दुइटा भवनमा राख्ने भनेपछि केही स्थानीयले उक्त ठाउँ छाड्न थालेका छन्।
विद्युत प्राधिकरणनजिकै घर भएकी ३८ वर्षीया विमला तामाङ दुई छोरा च्यापेर बुधबार आफ्नो माइती हेटौंडा जाने तर्खरमा छिन्। उनले आफूसँगै बस्ने सासु-ससुरालाई पनि माइती नै लाँदैछिन्।
विमलाले आफू कोरोना भाइरसकै त्रासले माइती जान लागेको बताइन्। 'मैले त भोलिको टिकट काटिसकेको छु,' उनले सेतोपाटीसँग भनिन्, 'यसरी यहाँ बस्न सकिँदैन।'
विमलाका श्रीमान इराकमा छन्। श्रीमानले पनि आफूलाई चाँडो माइती जान सुझाएको उनले बताइन्।
अर्का ४८ वर्षीय माधव खतिवडा पनि मंगलबारै जेठा छोरासँग आफ्नो घर सिन्धुपाल्चोकको मेलम्ची फर्किंदैछन्। उनी पनि विद्युत प्राधिकरणनजिकै एउटा छाप्रोमा बस्छन्।
खतिवडाले पनि कोरोना भाइरसको त्रासले गाउँ फर्किन लागेको सेतोपाटीलाई बताए। उनले गत शनिबार नै कान्छो छोरालाई पनि गाउँ पठाइसकेका छन्। उनी खरिपाटीमा श्रीमती र दुई छोरासँग बस्छन्। उनकी एक छोरी भने कोटेश्वरमा बसेर पढ्छिन्।
'जेठो छोरा र म आज घर जाँदैछौं। श्रीमती पनि मिल्यो भने भोलितिर आउँछिन्। यहाँ दुइटा भैंसी छ, त्यसैले सबै एकैचोटि जान मिलेन,' उनले भने।
खतिवडाले आफू धेरै लेखपढ गर्न नसक्ने र फेसबुक पनि चलाउन नजान्दा कोरोना भाइरसबारे धेरै कुरा थाहा नभएको बताए। कक्षा १२ पढ्ने जेठो छोराले यसबारे जानेको कुरा बताए पनि आफूलाई छरछिमेकको कुरा सुनेर डर लागेको उनको भनाइ छ।
'अब चीनबाट नेपाली विद्यार्थी ल्याएपछि हामीलाई पनि सर्छ, यहाँ पनि रोग फैलिन्छ भनेपछि डर लाग्यो। बरू गाउँमा जमिन छ, उतै गएर बस्छौं,' उनले भने।
विज्ञहरूले भने सरकारले कोरोना भाइरसबारे बुझाउन नसक्दा स्थानीयमा अनावश्यक त्रास सिर्जना भएको बताएका छन्।
'सरकारले माथि जे निर्णय गर्यो त्यो स्थानीय सरकारलाई थाहा दिएन। स्थानीय सरकारले त्यहाँका बासिन्दालाई बुझाउन सकेनन्,' जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले भने।
उनले स्थानीयहरू घर छाडेर जानु आवश्यक नभएको उल्लेख गर्दै सरकार जनतालाई कुरो बुझाउन चुकेको जिकिर गरे। सरकारले स्थानीयलाई यसकारण जोखिम हुँदैन भनेर बुझाउनुपर्छ भन्ने उनको जोड छ।
स्थानीयले पनि चीनबाट उद्दार गरेर ल्याइने नेपाली विद्यार्थीलाई संक्रमितको आँखाले हेर्न नहुने उनी सुझाउँछन्।
'नेपालले चीनबाट संक्रमित भएकालाई ल्याउन लागेको होइन। कसैलाई त्यस्तो संक्रमण देखिनेबित्तिकै चीनले जहाजमै चढ्न दिँदैन। अर्को कुरा यहाँ ल्याएर पनि छुट्टै राख्ने हो। परिवारलाई समेत भेट्न दिइँदैन। त्यसैले यसमा डराउनुपर्दैन,' उनले भने।
सकेसम्म चीनको वुहान लगायत अन्य सहरमा रहेका नेपाली विद्यार्थी त्यहीँ ठाउँमा बस्न बेस हुने दीक्षितको जोड छ। 'तर उहाँहरूमा धेरै मानसिक तनाव छ। सरकारले केही गरेन भन्ने छ। त्यसैले पनि ल्याउँदा उचित नै हुन्छ,' उनले भने।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुन पनि स्थानीयले कोरोना भाइरस फैलिन्छ भन्ने त्रास लिन नहुने बताउँछन्।
'मुख्य कुरा स्थानीय र चीनबाट ल्याइने विद्यार्थीबीच हेलमेल नहोस् भन्ने हो। त्यसमाथि पनि उनीहरूलाई छुट्टै राखिँदैछ। डराएर भागिहाल्नुपर्दैन,' उनले भने।
क्वारेन्टाइनमा राखिने विद्यार्थीहरूको निगरानीका लागि स्वास्थ्यकर्मी खटिने भन्दै कसैलाई कोरोना भाइरसको लक्षण देखिए तत्काल आइसोलेसनमा लगिने पुन बताउँछन्। सरकारले चीनको वुहानबाट ल्याइने विद्यार्थीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मी खटाउने भएको छ।
सोमबार ती स्वास्थ्यकर्मीलाई टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा आवश्यक तालिम दिइएको थियो।
स्थानीय सरकारले भने केन्द्र सरकारले आफूलाई यो विषयमा बेवास्ता गरेको भन्दै गुनासो गरेका छन्। चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले यसबारे नगरपालिकालाई कुनै जानकारी नभएको बताए।
उनले खरिपाटीमा क्वारेन्टाइन नराख्न भन्दै स्थानीयले विरोध जनाएको उल्लेख गर्दै यसमा आफूले के कदम लिने भन्ने स्पष्ट नभएको सुनाए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने मंगलबार स्थानीयसँग 'काउन्सिलिङ मिटिङ' रहेको जानकारी दिइन्। यसबारे आफूले धेरै बोल्न नचाहेको भन्दै उनले स्थानीयलाई कोरोना भाइरसबारे जानकारी दिन आफूले छलफल राखेको बताइन्।
सरकारले चीनको वुहान लगायत अन्य सहरबाट ल्याइने नेपाली विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको दुइटा भवनमा राख्ने भनेपछि स्थानीयले विरोध गर्दै आएका छन्। बस्तीको बीचमा राख्दा आफूहरूलाई जोखिम हुने भन्दै स्थानीयले संघर्ष समिति गठन गरेर विरोध गरेका हुन्।
समितिका अध्यक्ष प्रकाश लामिछानेले सरकारले कुनै जानकारी नगराई क्वारेन्टाइन गर्ने ठाउँ छनोट गरेकोमा स्थानीयको आपत्ति रहेको बताए।
'सकेसम्म यस ठाउँमा नराखोस् भन्ने हाम्रो माग हो। तर यति तयारी गरेपछि कम्तिमा हामीलाई यो रोगबारे जानकारी त दिनुपर्छ नि,' लामिछानले भने।
नेपालले कोरोना भाइरसको उद्गम स्थल वुहान र अन्य सहरबाट आफ्नो नागरिकलाई स्वदेश फर्काउने भएको छ। यसका लागि चीनस्थित नेपाली दूतावासमा १ सय ८० जनाले नेपाल आउन फारम भरिसकेका छन्।
विश्वभर आतंक मच्चाएको नोभल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। सोमबारसम्म १ हजार १६ जनाको मृत्यु भइसकेको छ भने ४२ हजार बढी संक्रमित छन्।