सरकारले चीनबाट ल्याइने नेपाली विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निर्णयपछि देखिएको स्थानीय अवरोध अब हट्ने भएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच भएको सहमतिपछि अवरोध हटेको हो।
सहमतिमा स्थानीयको लागि सामुदायिक भवनमा हेल्थ डेस्क खडा गर्नुपर्ने र विद्युत प्राधिकरणको तालिम केन्द्रमा अस्पताल निर्माण गर्न पहल गर्ने उल्लेख छ।
सहमतिसँगै अब आफूहरू विरोधमा नउत्रिने छलफलमा सहभागी स्थानीय प्रकाश लामिछानेले बताए।
यसअघि चीनबाट ल्याइने नेपाली विद्यार्थीलाई बस्तीका बीचमा राख्ने भएपछि स्थानीयले विरोध गरेका थिए। आज पनि महिला समूहले विरोध र्याली निकालेका थिए।
स्थानीयलाई कोरोनाभाइरसको जानकारी गराउन आजै जिल्ला प्रशासन कार्यालय भक्तपुरले 'काउन्सिलिङ' कक्षा राखेको थियो। कक्षामा सय बढी स्थानीय सहभागी भएका थिए।
काउन्सिलिङबाट धेरै कुरा जानेको भन्दै लामिछानेले अब अन्य स्थानीयलाई पनि आफूले जानेको कुरा सिकाउँदै जाने बताए।
'अब सरकारले हाम्रो स्वास्थ्यको ग्यारेन्टी लिन्छु भनेपछि हामी पनि त मूर्ख बन्न भएन नि। त्यसैले अब विरोध गर्दैनौं,' लामिछानेले भने।
कोरोनाभाइरसबारे सामान्य जानकारी नहुँदा खरिपाटीका केही स्थानीय त्रासका कारण आफ्नो घर फर्केका छन्।
कतिपय विज्ञहरूले क्वारेन्टाइनमा रहेकाबाट जोखिम नहुने भन्दै स्थानीयलाई अनावश्यक त्रास नलिन सुझाएका छन्।
सरकारले चीनबाट ल्याइने आफ्ना नागरिकलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको दुइटा भवनमा राख्नलाई तयारी गरिरहेको छ।
चीनस्थित नेपाली दूतावासमा १ सय ८० जना नेपाली विद्यार्थीले घर आउन फाराम भरिसकेका छन्।
सरकारले फागुन ३ गते नेपाली विद्यार्थीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउँदैछ।
यो पनि:
खरिपाटीमा कोरोनाको 'अनावश्यक त्रास'