सेभ द चिल्ड्रेन र रुम टु रिडले गरेको एक अध्ययन अनुसार कक्षा २ मा पढ्ने ५ प्रतिशत बालबालिका मात्र राम्रोसँग पढ्न सक्छन्। सोही अध्ययनले कक्षा ३ मा अध्ययन गर्ने १५ प्रतिशतले मात्र राम्रोसँग पढ्न सक्ने निष्कर्ष निकालेको छ।
राम्रोसँग पढ्न नसक्दा बालबालिकाले पुस्तकले दिन खोजेको ज्ञान सिक्न सक्दैन। परीक्षामा राम्रो अंक ल्याउने उद्धेश्यले गरिने शिक्षण-सिकाइ र अध्ययनले बालबालिकामा पठन संस्कृतिको विकास गर्दैन। कथालयका प्रकाशक राजिवधर जोशी भन्छन्, ‘बालबालिकाले राम्रोसँग पढ्न सके शब्दको अर्थ खोज्न थाल्छन्, नसके अध्ययन नै अप्ठ्यारो बन्दै जान्छ।’
शिक्षा मन्त्रालयले संचालन गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका अनुसार राम्रोसँग पढ्न सक्ने कक्षा १ मा अध्ययन गर्ने एक जना विद्यार्थीले १ मिनेटमा ४५ शब्द पढ्न गर्न सक्नुपर्छ। यस्तै, कक्षा २ मा अध्ययन गर्ने विद्यार्थीले प्रतिमिनेट ६० शब्द पढ्न सक्दा उसलाई राम्रोसँग पढ्न सक्ने विद्यार्थी मानिन्छ।
कक्षा १ देखि ३ सम्म राम्रो पठन सीप बसाएका विद्यार्थीले त्यसभन्दा माथिल्लो कक्षामा पनि राम्रो गर्ने र विद्यालय छाड्ने समस्या नआउने उक्त कार्यक्रमको निश्कर्ष छ।
यसका लागि विद्यालयमा पुस्तकालय स्थापना र कक्षाकोठामा बुक कर्नर राख्न शिक्षा मन्त्रालयले वर्षेनी बजेटको व्यवस्था गरेको छ।
शिक्षा मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कुल ३३ हजार सामुदायिक विद्यालय छन्।
यी विद्यालयमा शिक्षण सिकाइ सामग्री तथा बुक कर्नर व्यवस्थापन तथा निरन्तर विद्यार्थी मूल्यांकनका लागि प्रतिविद्यार्थी लागत अनुदान भनेर यस आर्थिक वर्षमा मात्र १ अर्ब ४० करोड ४० लाख बजेट विनियोजित छ।
यस्तै, पुस्तकालय व्यवस्थापन गर्न ६५ करोड ६ लाख ५० हजार रुपैयाँ विद्यालयलाई वितरण गरेको छ।
सरकारी कार्यक्रम अनुसार कक्षा कोठामा राखिने बुक कर्नरमा बालबालिकाको रुचि र चहाना अनुसारका कम्तीमा ५० वटा पुस्तक हुनुपर्छ।
पठन सीपको विकास गर्न प्राथमिक तहका बालबालिकाले एक वर्षमा पाठ्यपुस्तक बाहेक कम्तीमा ५० वटा पुस्तक पढ्नुपर्छ।
विद्यालयमा स्थापना गरिने पुस्तकालयमा कम्तीमा ३ हजार वटा पुस्तक राखिनुपर्छ। यी पुस्तकहरू पनि बालबालिकाको रुचि र चाहनासँग मेल खाने खालका हुनुपर्छ। पुस्तकालय विज्ञानले बाल साहित्य, भूगोल, दर्शन, कला, प्रविधि, विज्ञान, सामाजिक विज्ञान, भाषा, दर्शन, सामान्य ज्ञान लगायत विविध विधाका बाल पुस्तकहरू विद्यालय पुस्तकमा राखिनुपर्छ।
मोती पुस्तकालय पर्वतका व्यवस्थापक सोनाम लामाले विद्यालयहरूमा यसरी पुस्तकको व्यवस्था नभएको बताउँछन्।
कक्षाकोठामा राखिने बुक कर्नर र विद्यालयमा रहेको पुस्तकालय दुवैमा बालबालिकाको चाहना र रुचिअनुसार पुस्तक नभएको र पुस्तकप्रति बालबालिकाको पहुँच नै नपुग्ने अवस्था समेत रहेको उनले बताए।
बुक मार्ट पोखराका प्रतिनिधी ईश्वर पौडेलले विद्यालयमा पुस्तक व्यवस्थापन गर्न सरकारले नै प्रभावकारी अनुगमन गर्न नसकेको बताउँछन्।
‘सरकारले बजेट त दिएको छ, तर विद्यालयमा पुस्तक छैन’, उनी भन्छन्,‘बालबालिकाले पढ्न र बुझ्न सक्ने पुस्तक त झनै कम छ।’
कतिपय विद्यालयमा त विद्यार्थीलाई पुस्तकालयसम्म पुग्ने वातावरण समेत नभएको उनले बताए।
विद्यालय पुस्तकको मात्र भर पर्दा विद्यार्थीमा पठन संस्कृतिको विकास नभएको र राम्रोसँग पढ्न बुझ्न सक्ने अवस्था कम भएको कथालयका प्रकाशक जोशीको भनाइ छ।
अंग्रेजी भाषाको प्रयोग गरेर विज्ञान र सामाजिक विषय पढाइ हुँदा अझै धेरै समस्या आएका छन्।
‘विद्यार्थी सरसर्ती पढ्ने र घोक्ने त हुन्छन्, तर समाज र विज्ञान बुझिरहेका हुँदैनन्’, जोशीले भने, ‘कक्षा ६ सम्म पुग्दा केही नबुझेर विद्यालय नै छाड्नुपर्ने अवस्था आउँछ।’
विद्यार्थीमा बुझेर पढ्न सक्ने अवस्था दयनीय हुनुको कारण भाषा मुख्य कारण रहेको उनको ठहर छ।
अहिले निजी विद्यालयमा मात्र नभइ सामुदायिक विद्यालयमा समेत अंग्रेजी भाषामा अध्ययन-अध्यापन हुन्छ। अंग्रेजी बोल्न र पढ्न सक्ने विद्यार्थीलाई राम्रो ठान्ने परम्परा बस्दैछ।
अंग्रेजीमा पठनपाठन भएपछि घरमा प्रयोग भएको शब्द विद्यालयमा प्रयोग हुँदैन। यस कारण बालबालिका न त नेपाली राम्रोसँग सिक्छन्, न त अंग्रेजी नै। यही कारण राम्रोसँग पढ्न सक्ने बालबालिकाको संख्या निकै न्यून भएको कथालयका प्रकाशक जोशी बताउँछन्।
बालबालिकाले घरमा जुन भाषा बोल्छन्, त्यही भाषामा पढाइ हुँदा नै उसले राम्रोसँग बुझ्न सक्छ। अझ जनजाति बाहुल्य ठाउँहरूमा त घरपरिवारमा मातृभाषा बोल्ने चलन छ।
‘घरमा एउटा भाषा, समाजमा अर्को र स्कुलमा अर्को भाषा भइराखेको छ’, जोशीले भने, ‘बालबालिकाले पहिले जुन भाषा सिके, त्यही भाषामा पढाइ भयो भने पढ्ने र बुझ्ने हुन्छ।’
एक जना विद्यार्थी स्वतन्त्र पाठक बन्न सबभन्दा पहिले भाषामा दक्षता चाहिन्छ। पढ्ने बानी भएका विद्यार्थीले बुझेर पढ्छन्, पढेका कुरा व्यवहारमा पनि ल्याउँछन्। पुस्तक पढ्दा विद्यार्थीको कल्पनाशक्ति बढ्छ, कथामा कहीँ न कहीँ आफूलाई पाउँछ। भिडिओ हेर्दाभन्दा कथा पढ्दा विद्यार्थी धेरै कल्पनाशील बन्ने जोशीको दाबी छ।
सरकारले विद्यार्थीको तह अनुसार नै पठन संस्कृतिका लागि प्रतिविद्यार्थी बजेटको व्यवस्था गरेको छ।
बालविकासका प्रतिविद्यार्थीलाई ५ सय रुपैयाँ, कक्षा १ देखि ५ सम्मका प्रतिविद्यार्थी १ सय ५० रुपैयाँ, कक्षा ६ देखि ८ सम्मका प्रतिविद्यार्थी २ सय, कक्षा ९ र १० का प्रतिविद्यार्थी २ सय र कक्षा ११ र १२ का प्रतिविद्यार्थीलाई २ सय ५० रुपैयाँ विद्यालयमा पठाउँछ।
बुक कर्नर र पुस्तकालय बनाउन विद्यार्थी संख्या अनुसार विद्यालयमा बजेट पठाउँदा समेत पठन संस्कृति बढ्न नसक्नु शिक्षक र अभिभावक दोषी देखिने जोशीको दाबी छ।
‘शिक्षक र अभिभावक पाठ्यसामग्रीमा मात्र केन्द्रित छन्’, उनी भन्छन्, कतिपय शिक्षक त वार्षिक पाठ्य पुस्तक नै पढाउन नभ्याएकाले बाहिरी पुस्तक पढ्न नदिएको बताउँछन्।’
बालबालिकामा पठन संस्कृति बढाउन अभिभावक र शिक्षकले पनि पढ्नुपर्ने उनको भनाइ छ। शिक्षक-अभिभावकले पुस्तक पढ्न छाडेर फेसबुक पढ्न थालेको समेत उनले बताए।
‘घरदेखि विद्यालयसम्म पठन संस्कृतिलाई प्रोत्साहन छैन, त्यही भएर नै बालबालिका राम्रोसँग पढ्न सक्दैनन्।’
विद्यालयमा राखिएका पुस्तकालयमा पनि विद्यार्थीको तह अनुसारका पुस्तक छैनन्। आफ्नो तह अनुसार बालबालिका राम्रो पुस्तकको पहुँचमा पुग्दा पठन संस्कृति बढ्ने बुकमार्ट पोखराका प्रतिनिधि पौडेलले बताए।
पोखरामा मंगलबार आयोजित पठन संस्कृतिका मुद्दा र चुनौती विषयक कार्यक्रममा फ्याक्ट नेपालका प्रमुख मनिष झाले विद्यार्थीसँग आफू पनि अपडेट हुन पढ्ने बानी बसाउनुपर्ने बताए।
‘आफूले गरिरहेको काम किन गरेको भन्ने स्पष्ट हुनुपर्छ’, झाले भने, ‘त्यही अनुसार आफू पनि अपडेट भएनौं भने आउटडेटेड हुन्छौं।’
पोखरास्थित हिमालय रिडर्स कर्नरका विजय भण्डारीले पठन संस्कृतिका लागि भनेर सरकारले पठाएको बजेट विद्यालयले राम्रोसँग खर्च गर्न सके पनि धेरै उपलब्धी हुने बताए।
पोखरामा रहको विद्यालयका प्रध्यानाध्यापकहरू सहभागी कार्यक्रममा भण्डारीले भने, ‘बालबालिकालाई चाहिएको पुस्तक विद्यालयले खरिद गरिदिनुपर्छ, सरकारले गरेको लगानी खेर जान दिनुहुँदैन।’