काठमाडौं, कथैकथाको सहर हो। त्यस्ता कथा जो मन्दिर, बहा–बही, चोक, ननी अनि गल्ली-गल्लीमा भेटिन्छन्। कति सुन्नुभएको होला, कति सुनाइन आतुर छन्। 'बाखं न्यने वा' ले ती कथा खोज्ने र सुनाउने प्रयास गर्दैछ।
'बाखं न्यने वा' अर्थात् 'कथा सुन्न आउनुहोस्'।
यही नाममा जन्मिएको एउटा समूहले प्रत्येक महिना विभिन्न ठाउँमा कथा सुनाउन बोलाउँछ। स्थानीय, बुढापाका, गुठीयार, पूजारी लगायत विभिन्न व्यक्तिहरूबाट कथा सुन्न बोलाइरहेका हुन्छन्।
'हाम्रो सम्पदा र जात्राहरू कथा–किम्बदन्तीले भरिएका छन्। ती कथा बन्नुमा केही आधार र सत्यता पनि छ,' बाखं न्यने वाकी एलिना ताम्राकारले भनिन्, 'पहिले जुन कथा भन्ने परम्परा थियो, त्यो अहिले कम हुँदै गएको छ। हामी पुराना पुस्ताबाट ती कथा सुनाउँदै, अभिलेख राख्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयत्न गर्दैछौं।'
आधिकारिक रुपमा दर्ता नभएको बाखं न्यने वा समूहमा दस जना छन्। २९ देखि ३५ वर्ष उमेर समूहका इञ्जिनियर, आर्किटेक्ट र फोटोग्राफरहरू स्वेच्छाले यसमा जोडिएका छन्। अन्य समय आ–आफ्नै पेशामा व्यस्त हुने उनीहरू बाखं न्यने वा कार्यक्रममा समय छुटाएर आउँछन्।
उनीहरूमध्येकी एलिना काठमाडौंकी रैथाने हुन्। नेवार समुदायमा हुर्किएकी उनी संस्कृति र चाडपर्वसँग नजिक थिइन्। अजी (हजुरआमा) ले गर्ने पूजाआजा र विधि उनी चासो दिएर हेर्थिन्। 'किन गर्ने?' भन्ने जिज्ञासाको जवाफ हजुरआमाबाट नपाएपछि त्यसको चासो सधैं भइरहन्थ्यो। त्यसलाई पछि सोध्दै, पढ्दै, बुझ्दै थाहा पाउँदैछिन्। त्यस्तै जिज्ञासा र प्रश्नको उत्तर बाखं न्यने वाले कथामार्फत दिने प्रयास गरिरहेको छ।
बाखं न्यने वाको अवधारणा तयार हुनुमा ०७२ सालको भुइँचालोको भूमिका छ। आफ्नै आँखा अगाडि सम्पदाहरू ढल्दा धेरै झस्किएका थिए। भुइँचालो जति नै डरलाग्दो भए पनि त्यसले मान्छेलाई एउटा मौका दियो– सम्पदालाई नजिकबाट चिन्ने।
एउटा निजी कार्यालयमा काम गरिरहेकी एलिना भुँइचालोपछि 'रिबिल्डिङ काष्ठमण्डप' अभियानमा जोडिइन्। त्यति बेला सरकारले बनाएको काष्ठमण्डप पुनर्निर्माणको खाका चित्त बुझ्दो थिएन। आधुनिक सामग्री प्रयोग र ठेकदारी प्रणालीलाई उनीहरूले विरोध जनाए। स्थानीयको सहभागिता र अनुसन्धान गरेर मात्रै बनाउनुपर्नेमा जोड दिए।
'जब सम्पदासँग समुदाय जोडिन्छ, उसले अपनत्व महशुस गर्छ र स्याहार गर्छ। त्यसैले हामी सरकारलाई यो कुरामा जोड दिइरहेका थियौं,' उनले भनिन्, 'पछि समुदायले नै बनाउने भएपछि हामी त्यस अभियानबाट छुट्टियौं।'
भुँइचालोले मान्छेमा मुर्तसँगै अमुर्त सम्पदाको चेत पनि बलियो बनाउँदै ल्यायो। मन्दिरजस्तो सम्पदासँग जोडिएका जात्रा, रितिरिवाजको महत्व झनै बुझ्दै गए। काष्ठमण्डप पुनर्निर्माणक्रममा एलिनाको समूह त्यसैसँग जोडिएका कथा खोतल्न थाले।
२०७४ सालतिर उनीहरूले बाखं न्यने वाको पहिलो संस्करण सुरू गरे जसमा चार कथा खोजे।
तः चतं गुठी, सा गुठी र रिबिल्ड काष्ठमण्डप कार्यालय, मरूमा सञ्चालित तीन वटा भेलामा उनीहरूले काष्ठमण्डपसँग जोडिएका चाडपर्व, रितिरिवाजबारे गुठीयार र अनुसन्धाताबाट कथा सुने। चौथो कथा भने काठमाडाैं उत्पत्तिबारे समूहकै एक सदस्यका हजुरआमाले सुनाएको एलिनाले बताइन्।
'काष्ठमण्डपका कथा खोज्दै जाँदा अमुर्त सम्पदाको पनि डकुमेन्टेसन हुनुपर्छ भन्ने लाग्यो। यो एउटा सानो कोठामा फुरेको आइडिया थियो,' समुह बन्नुकाे कारण बताउँदै भनिन्, 'हाम्रोमा त जात्रा, ठाउँहरूको नाम, खानेकुरादेखि सबैका कथा छन्। त्यही संकलन गर्ने सोचेर काष्ठमण्डपको रेडियस विस्तार गर्यौं।'
समूहमा फोटोग्राफरसमेत रहेका सन्देश मुनिकार भन्छन्, 'हामी विभिन्न पेशामा जोडिएको भए पनि हाम्रो मनमा सधैं सम्पदा थियो र छ।'
भुइँचालो अगाडि सन्देश विशेषगरी जात्रा, सांस्कृतिक गतिविधि तथा चाडपर्वहरूका फोटो खिच्थे। भुइँचालोपछि 'रिबिल्डिङ काष्ठमण्डप' सँग जोडिएर फोटोग्राफी र भिडिओग्राफी डकुमेन्टेसन गर्न थाले। हाल जयबागेश्वरी मन्दिर र स्वयम्भूको चैत्यमा काम गरिरहेका छन्।
उनीहरू जस्तै युवाको समूह मिलेर बनेको बाखं न्यने वाको पहिलो संस्करणमा उनीहरू कथा वाचकले बोलाएकै गुठी वा घर पुग्थे। सन् २०७५ मध्यबाट सुरू भएको दोस्रो संस्करण भने उनीहरुले सार्वजनिक स्थानमा गरिरहेका छन्, कथा वाचकसँग पूर्व तयारीसहित।
दोस्रो संस्करणमा उनीहरूले विभिन्न 'थिम' पनि राखेका छन्। नौ श्रृंखलासम्म आइपुग्दा नखः चखः अथार्त् चाडपर्वमा उनीहरूले तीन श्रृंखला गरे। जसअन्तर्गत, पिंग ननीमा ताम्राकार बाजा समूहका गुरुले गुलाँ पर्वबारे कथा सुनाए।
दोस्रोमा भक्तपुरको येंया र इन्द्रजात्रा विषयमा संस्कृतिविद् ओम धौभडेलले कथा सुनाए भने तेस्रोमा पाटनमा कात्ति प्याखं (कात्तिक नाच) को कथा सुनाइएको थियो।
अर्को थिम ठाउँहरूको नाममा केन्द्रित थियो। खोकनामा उनीहरूले रञ्जना लिपि समूहसँग जोडेर क्याली जात्रा गरे। त्यसपछि कीर्तिपुरको कथा उधिन्ने प्रयत्न गरे जसमा पहिलोपटक सम्पदा यात्रा पनि गराइयो।
'तल नयाँबजारबाट हिँडाउदै उमामहेश्वर मन्दिरमा कथा सुनाइएको थियो। त्यसअघि भनेको कथा थियो नि, यही हो' भन्दै देखाउँदै यात्रा गरियो,' सन्देशले भने, 'त्यहाँपछि स्वयम्भू र हरिसिद्धिका पूजारीले कथा सुनाएपछि हाम्रो ठाउँका नाममा केन्द्रित थिम सक्कियो।'
ठाउँको नामपछि बाखं न्यने वा 'नोस्टाल्जिया' थिममा कथा सुन्न बोलाइरहेका छन्। अघिल्लो महिना पनौती र यो महिना (गत शनिबार) बनेपामा उनीहरूले कथा सुनाए। बनेपाका संस्कृतिविद् ज्ञानकाजी मानन्धरले चण्डेश्वरीको उत्पत्ति, बनेपाको निर्माण, चण्डेश्वरी र मानन्धर समुदायबीचको सम्बन्धबारे कथा भनेका थिए।
'कथा सुनाउने र प्रश्नोत्तर गरेर प्रत्येक श्रृंखला करिब एक घन्टाको हुन्छ। कहिलेकाहीँ सम्पदा यात्रा जोडिँदा आधा घन्टाजति थपिन्छ,' एलिनाले भनिन्, 'हामी हिँड्ने काम त्यति गर्दैनौं, कथालाई पृष्ठभूमि होस् भन्ने हिसाबमा कहिलेकाहीँ हिँड्ने हो।'
कथा सुन्ने मुख्य मान्छे त्यहीँका स्थानीय र सम्पदामा रूचि राख्नेहरू हुन्छन्। ती कथा फेसबुक लाइभ, साउन्ड क्लाउड लगायतबाट पनि धेरै जनमानसमा पुर्याइन्छ। यी कथा नेवार भाषामा भनिने हुँदा धेरैको गुनासो 'सबैले बुझ्ने भएन' भन्ने छ।
'कथा सुनाउने अजाअजीहरू नेवार समुदायकै हुनुहुन्छ। उहाँहरूले नै हामी त नेपाल भाषामै गर्छौं भन्नुहुन्छ। कतिले त नेपाल भाषामा गर्ने भए मात्रै बोल्छौं पनि भन्नुहुन्छ। हामीले उहाँहरूलाई जुन भाषा सजिलो हुन्छ, त्यसैमा बोल्ने स्वतन्त्रता दिएका छौं,' एलिनाले भनिन्, 'कहिलेकाहीँ हाम्रो फर्म्याट नै यस्तो हो भन्दा अलि रुखो सुनिए पनि हामीले केही गर्न सक्दैनौं।'
भिडिओको 'पोस्ट प्रोडक्सन' क्रममा एकपटक उनीहरूले अनुवाद गरेर सब–टाइटल राख्ने प्रयास गरेका थिए। पहिलो श्रृंखलाको गुलाँ पर्वको भिडिओ बनाए पनि धेरै समय खर्चनुपर्ने भएकाले निरन्तरता दिन सकेका छैनन्। त्यसैगरी, स्वयम्भूमा उनीहरूले कथा सक्किएपछि त्यसको सारलाई नेपालीमा भन्ने कोशिस पनि गरे।
प्रत्येक श्रृंखलाबाट कस्ता कथा आउँछ भन्ने बाखं न्यने वा समूहलाई पनि थाहा हुँदैन। ती कथा वाचकमा भर पर्छ।
'हामीले यही कथा भन्नु भन्ने हुँदैन। हामीसँग प्रश्न हुन्छ – कीर्तिपुर भन्ने नाम किन भयो? पुरानो नाम के हो? लगायत। सोध्दै जानेक्रममा त्यसैको उत्तर भनेको कथा हो,' एलिनाले भनिन्।
बाखं न्यने वा प्रत्येक महिना सञ्चालन गर्ने उनीहरूको प्रयत्न हो। तर चोक, ननी लगायत सार्वजनिक स्थानमा गर्ने हुँदा बर्खायाममा श्रृंखलाबीच अन्तराल पनि हुन्छ। त्यसमाथि एउटै कार्यक्रमका लागि दिनभर समय दिनुपर्ने भएकाले एकपटक टाढा र एकपटक नजिकका ठाउँमा गर्ने कि भन्ने सोचमा पनि छन्। नौ श्रृंखलामा आइपुग्दा मान्छेको प्रतिक्रियाले भने आफूहरूलाई हौस्याएको एलिना बताउँछिन्।
'हाम्रोमा पनि कथा छन्, कार्यक्रम गर्नुपर्यो भन्नुहुन्छ। पनौतीमा गर्दा नै बनेपामा गरौं भन्नुभएकाले पुगेका थियौं,' उनले भनिन्, 'बाँडे गाउँ, थिमी लगायत विभिन्न ठाउँमा बोलाइरहनुभएको छ। हाम्रो कथा नि सुनिदिनुस् भनेर उहाँहरूले नै बोलाउनु हाम्रो लागि ठूलो कुरा हो।'
बाखं न्यने वा महिनाको एकपटक हुन्छ। तर कथा त कति हुन्छन्, एकैपटकमा सकिँदैनन्। धेरै कथा समेट्न नसकेकाले एउटै विषयमा 'सिरिज' नै गर्ने भन्ने पनि सोच छ उनीहरूको।
'बाखं न्यने वा' बाट संकलित कथाहरू भविष्यमा किताबका रुपमा निकाल्ने उनीहरूको योजना छ। साथै केटाकेटीलाई 'इलुस्ट्रेसन' राखेर चित्रमार्फत कथा र सम्पदामा चासो बढाउने सोचेका छन्। हालै 'इचक्याप' को 'स्टोरी टेलिङ' प्रतियोगितामा भाग लिएर बाखं न्यने वा समूहले पुरस्कार पनि पाएको छ।
बाखं न्यने वा अर्थात् कथा सुन्न आउनुस् भनेर महिनाको एक दिन बोलाएर मात्रै कथाहरू जोगिँदैनन्। त्यसमाथि धेरै कथा समेट्न नसकिएकाले छुट्छन्। ती कथा जगेर्ना गर्न समुदायको भूमिका आवश्यक भएकाले घच्घचाउने र सामुदायिक रूपमै कार्यक्रम गर्नसमेत उनीहरू प्रेरणा जगाइरहेका हुन्छन्।
'आफ्नो समुदायको कथा जोगाउन त्यहीँका स्थानीयले जति सक्छन् अर्को समुदाय आएर त्यति सकिन्न। आफ्ना कथा आफैंले संरक्षण गर्न सकियो भने त्यो ठूलो उपलब्धि हुनेछ,' बाखं न्यने वा'हरू भन्छन्।