दाङको सिस्नेरीमा जन्मिएको दुई वर्षमै निरु कार्कीकी आमा बितिन्। उनका बुबालाई गाउँमा बस्न मन लागेन। दुई छोरा र दुई वर्षकी निरुलाई लिएर पोखरा हानिए।
पोखरामा त्यति बेला फूलबारी रिसोर्ट, सांग्रिला रिसोर्ट लगायत बन्दै थिए। त्यहीँ काम गरेर छोराछोरी पाले। निरुलाई हुर्काए।
उनीहरूको परिवार पोखराको रामबजारमा बस्थ्यो। घरनजिकै वडा प्रहरी कार्यालय थियो। प्रहरी चौकीमा निकै सोझा छविका एक प्रहरी जवान थिए। निरुको तिनै प्रहरी जवान सन्तबहादुर कार्कीसँग हिमचिम भयो। उनले १४ वर्षकै उमेरमा २०५४ फागुन १७ गते सन्तसँग बिहे गरिन्।
यसबीच बुबाले कान्छी आमा भित्र्याइसकेका थिए। निरुले बिहे गरेको वर्षदिनसम्म आमाबुबा दुवै बोलेनन्। निरले घरसल्लाह नगरी बिहे गरिन् भन्ने उनीहरूको गुनासो थियो।
बिहे गरेको वर्षदिनपछि उनको छोरो खेर गयो। त्यसको एक महिनापछि २०५५ माघमा सन्त जिल्ला प्रहरी कार्यालय बाग्लुङ र २०५६ मा बाग्लुङकै खरबाङ प्रहरी चौकी सरुवा भए।
निरु श्रीमानसँगै झन्डै एक वर्ष खरबाङ बसिन्। त्यसपछि बल्ल उनको बिहे आमाबुबाले स्वीकार गर्यो। उनी पोखरा फर्किन्।
तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो। प्रहरीमाथि आक्रमण बढ्दै थियो। चौकीहरू विस्थापित हुँदै थिए। यत्तिकैमा माओवादीले खरबाङनजिकै वामी टक्सार प्रहरी चौकीमा आक्रमण गर्दैछ भन्ने सूचना प्रहरीले पायो।
माओवादीसँग लड्न जिल्ला प्रहरी कार्यालयले खरबाङ प्रहरी चौकीबाट वामी टक्सारमा थप १३ जना प्रहरी पठायो। तीमध्ये तीन जना बिरामी भएर जान सकेनन्। जिल्लाको निर्देशनअनुसार सन्तसहित १० जना प्रहरी वामी टक्सार प्रहरी चौकी पुगे।
प्रहरी टोली पुगेको सातादिन पनि भएको थिएन। २०५८ असार २२ गते साँझ ८ बजेतिर माओवादीले प्रहरी चौकी घेरा हालेर आक्रमण गरे। आक्रमणपछि ‘आत्मसमर्पण’ गर्न माइकिङ गरे।
प्रहरी चौकीले आत्मसमर्पण गर्यो। चौकीमा यसअघि नै रहेका प्रहरी कोही भागे, कोही लुके।
प्रहरीले आत्मसमर्पण गरेपछि माओवादीहरू चौकीमा छिरे। ती दसै जनालाई बोरामा बाँधे। र, बम बड्काइदिए।
सन्तबहादुर पनि माओवादीको यो क्रूर हत्याबाट जोगिएनन्।
वामी टक्सार जानुअघि सन्तले श्रीमती निरुलाई फोन गरेका थिए। 'पैसा छ कि छैन भनेर सोध्नुभएको थियो। मैले छ भनेकी थिएँ,' निरुले श्रीमानसँगको अन्तिम संवाद सम्झँदै भनिन्, 'त्यसपछि आउने शनिबार दिनभर कुरा गरौंला भनेर हामीले फोन राखेका थियौं।'
'घटना भएको रात म बेस्सरी कामेकी थिएँ। कान्छी आमा के भयो भनेर आत्तिनुभयो,' निरुले त्यो रातको वृत्तान्त सुनाइन्, 'म आमासँगै निदाएँ। बिहान उठेर टिभी खोलेँ। टिभीमा बाग्लुङको वामी टक्सारमा माओवादी आक्रमणमा १० जना प्रहरीले मारिएको समाचार आइरहेको थियो।'
त्यति बेला निरुको पेटमा ७ महिनाको बच्चा थियो। उनी जम्मा १७ वर्ष पुगेकी थिइन्।
त्यस रात माओवादीले बाग्लुङसहित देशका तीन ठाउँमा एकैपटक आक्रमण गरेका थिए। पोखराको तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल शवले भरिएका थिए। प्रहरीले वामी टक्सारमा मारिएका १० जना जवानको शव पनि पोष्टमार्टमका लागि पोखराको यही अस्पताल ल्याएको थियो। पोष्टमार्टमपछि ती शव पोखराकै रामघाट लगे। सलामी दिएर विदाइ गरे।
‘पेटमा बच्चा हुनेले लास हेर्न हुँदैन’ भनेर निरुलाई धेरैले रोक्न खोजे। उनी भने ‘एकपटक श्रीमानको मुख हेर्छु’ भनेर लागिरहे। जाँदा जाँदै बाटैमा बेहोस भइछिन्। उनका आफन्तले सन्तबहादुरको सदगद गरिदिएछन्।
निरुले श्रीमानको घर पर्वतको खौला लाकुँरी-१३ पुगेर काजकिरिया गरिन्। त्यसको तीन महिनापछि छोरा पाइन्।
छोरा डिलबहादुर कार्की १९ वर्षका भए। उनी ३६ वर्षकी भइन्। छोराले दस जोड दुई पढ्दा–पढ्दै कपडा पसलमा काम पाएका छन्। सरकारले उनको परिवारलाई राहतका नाममा अहिलेसम्म ७ लाख ५० हजार रुपैयाँ तीन किस्तामा दिएको छ। यो रकममा २ लाख २५ हजार आमा, २ लाख २५ हजार ससुरा र ३ लाख रुपैयाँ छोराको नाममा भागबन्डा भयो।
निरुलाई घरमा बस्ने अवस्था रहेन। सासूले माया गरे पनि ससुराको माया पाइनन्। ‘तैंले गर्दा यस्तो भएको’ भनेर हप्काए। गाउँलेले पनि राम्रो नजर लाएनन्। १७ वर्षकै उमेरमा श्रीमान गुमाएकी निरुलाई ‘छोरा हेरेर बस्दैन, जान्छ’ समेत भने।
उनी पोखरा फर्किन्। आमाबाबुसँगै बस्न थालिन्। उनको बिहे दर्तासमेत भएको थिएन। श्रीमानको पेन्सन लिन प्रक्रिया पुर्याइन्। पेन्सन बुझ्न जाँदा निरुले लमजुङको आफूजस्तै पीडित महिला भेटिन्।
'उनको श्रीमान सरुवा भएका थिए। सामान छोडिएछ भनेर लिन गएकै रात माओवादी आक्रमणमा परेछन्,' निरुले भनिन्, 'मेरो पीडा हलुका भयो।'
पेन्सन आएपछि उनले घरमा पनि सहयोग गर्न थालिन्। पर्वतबाट सासु–ससुरा पोखरा आइरहन्थे। कहिले बिरामी भएर त कहिले के कामले। उनी ससुरा बिरामी हुँदा खर्च बेहोरिदिन्थिन्। घरमा सामान पठाउँथिन्। त्यसपछि ससुराले हेप्न छाडे।
गत दसैंमा पर्वत घर जाँदा उनलाई ससुराले भनेछन्, ‘पहिले पहिले गाउँलेको कुरा सुनेर गाली गरें, त्यस्तो नसोच।’
छोरा हुर्कंदै गयो। माओवादीबाट श्रीमान मारिएको पाँच वर्षसम्म उनले सेतो लुगा मात्र लगाइन्। अहिले अलि अलि रातो लाउँछिन्। सिन्दुर, पोते र चुरा लगाउँदिनन्। 'बाग्लुङबाट छुट्टी आउँदा एकपटक श्रीमानले सिन्दुर, पोते र चुरा ल्याइदिएका थिए। अहिले पनि यी सामान देख्दा त्यसैको याद आउँछ,' उनले भनिन्।
श्रीमान बितेपछि पोखराको फूलबारीमा बस्थिन् निरु। त्यति बेला बद्री पंगेनीको ‘लाउ चेली सिन्दुर लाउ’ बोलको गीत र गीतादेवी र दिनेश काफ्लेको तीज गीत ‘रातो सारी, चुरा पोते किन नलाको’ बोलको गीत हिट थियो।
छोरा डिलबहादुर गुनागुनाउने भएको थियो। सधैं सेतो लुगा लगाउने निरुलाई छोराले यो गीत गाएर जहिल्यै सोध्थ्यो रे। एकदिन नजिकै एउटा घटना भएछ। एक जना दलित महिला चुरोट किन्न नजिकैको पसल गएछन्। सेतो लुगा लगाएकी ती महिलालाई देखेपछि पसलेले भनेछ, ‘बिहान बिहानै यस्तो देख्नुपर्यो, साइतै परेन।’
ती पसलेको त्यो बोली निरुलाई बिझायो। उनलाई त्यहाँ बस्नै मन लागेन। सिधै आफूलाई नभने पनि आफैंलाई भनेजस्तो उनले अनुभूति गरिन्।
उनी त्यहाँबाट बसाइ सरिन्। ‘विधवा’ लाई ठाउँ-ठाउँ रातो लगाउने अभियान चलेको उनले थाहा पाइन्। आफूले पनि सेतो लुगा मात्र लगाउन छाडिन्।
दोस्रो जनआन्दोलन सकिएपछि शान्ति प्रक्रिया चलिरहेको थियो। पर्वत सदरमुकाम कुश्मामा एउटा कार्यक्रम हुने भएछ। त्यहाँ प्रहरी, सशस्त्र प्रहरी, सेना र माओवादी पीडित जम्मा पारिएका रहेछन्। धेरै मानिसले आफ्ना पीडा पोखेछन्। पोख्दा पोख्दै सहन नसकेर धेरै जना त्यहीं भक्कानिए। यो देखेपछि निरुलाई लाग्यो, मभन्दा धेरै दु:ख पाएका मान्छे रहेछन्। चित्त बुझाउने मेसो मिल्यो।
हुर्किरहेका छोराले बाबा भनेर धेरै खोजी गर्न थाल्यो। अर्को कोठामा बस्ने परिवारकी एउटी छोरी थियो। उनको बुबा अफिसबाट आउँदा छोरी बाबा भनेर अँगालो हाल्थ्यो। बाबाले चकलेट ल्याइदिन्थ्यो। त्यति बेला निरुको छोरा पनि तिनैलाई बाबा भन्दै पछ्याउँथ्यो।
बाबाको खोजी धेरै भएपछि निरुले आफ्नै बुबालाई बाबा भन्न लगाए। उनैलाई सताउन लगाए। अहिले पनि डिलबहादुरले निरुको बुबा अर्थात् मावली हजुरबुबालाई नै बुबा भनेर बोलाउँछन्। निरु भन्छिन्, ‘बुबाप्रति उनको मनमा त धेरै भावना होला, तर देखाउँदैन।’
छोरा दुई वर्षको भएपछि निरुले पोखरामा जागिर खोजिन्। एउटा पत्रिकामा विज्ञापन खोज्ने र पैसा उठाउने काम पाइन्। महिनाको दुई हजार तलब थियो। जनआन्दोलनपछि माओवादी सहर पसेको थियो। पोखराको शान्तिवनमा माओवादीले सैनिक शिविरजस्तै क्याम्प बनाएको थियो। निरु त्यहाँ जानुपर्ने भयो।
पहिलोपटक माओवादीलाई भेट्न जान लागेकी निरुले यो कुरा आमालाई भनिन्। आमाले नजान भनिन्। उनलाई अफिसका मान्छेले आफ्नो विगतका कुरा त्यहाँ नगर्नू भनेर पठाए।
जब उनी भित्र गइन्, एउटा छेउमा एक जना महिला झुत्रो लुगा लगाएर उदास भएर बसेको देखिन्। निरु उनको नजिक गइन्। कुरा गरिन्। खाना खाने बेला भएको रहेछ। ती महिलाले निरुलाई सँगै खाना खाउँ भनेछन्। उनले आफैं झिकेर माओवादी क्याम्पमा खाना खाइन्।
निरुलाई उनका बारेमा बुझ्न मन लागेछ। उनका श्रीमान माओवादी लडाकू रहेछन्। जो म्याग्दीको बेनी आक्रमणमा मारिएका रहेछन्। उनको पनि छोरा रहेछ। आमा–छोरा नै माओवादी क्याम्पमा बस्ने, खाना खाने। पार्टीले भत्ता भनेर महिनाको पाँच सय रुपैयाँ दिने गरेको उनले सुनाइन्।
त्यसपछि ती महिलाले निरुलाई तलब सोधेछन्। उनले महिनाको दुई हजार हुन्छ भन्दा ती महिला पनि दंग परेकी थिइन् रे।
निरुलाई पनि आफ्नो मनको गाँठो फुकाउन मन लाग्यो। ती महिलालाई सबै कुरा भनिदिइन्। माओवादीले आफ्नो श्रीमानलाई बोरामा हालेर बम पड्काएको कुरा। यो सुनेपछि तिनै महिलाले उनलाई बाहिर गेटसम्म पुर्याइन्। यो कुरा क्याम्पमा नभन्नू, गाह्रो पर्छ समेत भनेर सम्झाइछन्।
ती महिला र निरुको यो घनिष्ठता एकैछिनमा सकियो।
'त्यति बेला मसँग सिडिएमए मोबाइल थियो। ती महिलासँग थिएन,' निरुले ती माओवादी महिलालाई सम्झँदै भनिन्, 'अहिले उनी कहाँ पुगिन्, के गर्दै होलिन्!'
यसबीच निरुले धेरै जना पीडितसँग भेटिन्। कोही माओवादी त कोही सेना, प्रहरीका पीडित। माओवादी भन्नेबित्तिकै रिसले चुर हुने निरुलाई अहिले त्यस्तो रिस उठ्दैन। दस वर्ष लामो लडाइँमा मर्नेहरू मात्र हारेको उनले बताइन्।
‘जो मर्यो, उसले हार्यो,' निरुले भनिन्, 'बाँचेकाहरूले यत्रो मानिस मारेर केही गरेनन्।’
तत्कालीन विद्रोही माओवादी नेता हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पाँच हजार मानिस मारेको जिम्मा लिन्छु’ भनेको उनले पनि सुनेकी रहिछन्। ‘यत्रा मान्छे मारेर ५ हजारको मात्र भन्छ रे, लाज शरम छैन,’ उनले भनिन्।
सरकारले पीडितलाई न्याय र राहत दिन नसकेको उनको गुनासो छ। ‘छोराछोरी पढाउँदा केही त छुट दिनुपर्छ नि,' उनले भनिन्, 'पढाइ र जागिरमा हेरिदिए हुन्थ्यो।’