आज भ्यालेन्टाइन्स डे। युगल जोडीहरू सहरका मनोरम ठाउँ पुगेर प्रेम साटिरहेका छन्। प्रणय उत्सवमा रमाइरहेका छन्।
चितवनका जोडीलाई भने नयाँ गन्तव्यले स्वागत गरेको छ, 'अम्ब्रेला स्ट्रिट', अर्थात् छाताको सडक।
भरतपुर महानगरपालिका-२२, पटिहानीमा भ्यालेन्टाइन्स डे तथा भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी 'अम्ब्रेला स्ट्रिट' सञ्चालनमा ल्याइएको हो। रंगीबिरंगी छातैछाताको छानो हालिएको यो बाटो स्थानीयको निम्ति 'सेल्फी स्पट' बनेको छ।
बिहीबारबाट औपचारिक रूपमा थालनी गरिएको छाता सडकमा विभिन्न परिकारको स्थानीय खाना महोत्सव चलिरहेको छ। यो महोत्सव शनिबारसम्म चल्नेछ। पाहुना, पर्यटक, आगन्तुकहरूले यहाँ नयाँनयाँ स्वाद चाख्न पाउने वडा अध्यक्ष विष्णुराज महतो बताउँछन्।
भ्रमण वर्ष २०२० का सयवटा पर्यटकीय गन्तव्यमा पटिहानी पनि सूचीकृत छ। यो ठाउँलाई वर्षभरि नै प्रेमिल बनाएर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको महतोको भनाइ छ।
'पटिहानी चितवनको नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ, हामी प्रवर्द्धनमा जुटिरहेका छौं,' उनले सेतोपाटीसँग भने, 'यहाँ आउने पर्यटकले अन्तभन्दा केही फरक अनुभव पक्कै गर्नेछन्।'
सञ्चालनको दोस्रो दिन शुक्रबार अम्ब्रेला स्ट्रिट सयौं पर्यटकको 'सेल्फी स्पट' बनेको महतोले बताए।
'उद्घाटनको दिनभन्दा आज धेरै भिड छ। यस्तै भिड हरेक दिन अपेक्षा गरेका छौं,' उनले सेतोपाटीसँगको टेलिफोन कुराकानीमा खुसी हुँदै भने।
छाता सडकमा पाँच सय २० वटा ठूला छाता राखिएका छन्। १० कठ्ठा क्षेत्रफलमा फैलिएको स्ट्रिटसँगै सेल्फी गेट, डेटिङ पोइन्ट, अम्ब्रेला स्ट्रिट लगायत सानो पार्क, 'फाउन्टेन', 'भ्यू-प्वाइन्ट' लगायत निर्माण गरिएका छन्। साथै, थारू संस्कृति झल्काउने विभिन्न आकृति बनाइएको छ।
इञ्जिनियर अस्मिता खनालको समूहले अम्ब्रेला स्ट्रिट डिजाइन गरेका हुन्।
'पर्यटकलाई इन्द्रेणी जोनभित्र हिँडेजस्तो महशुस गराउन सप्तरंगी छाता राखिएको हो,' खनालले सेतोपाटीसँग कुराकानी गर्दै भनिन्, 'सार्वजनिक जग्गा सदुपयोग गरेर पर्यटक आकर्षण गर्न खोजिएको हो।'
पार्क बनाउन पर्यटन मन्त्रालयले सहयोग गरेको छ। मन्त्रालयको एक करोड, महानगरको ५० लाख र वडाको एक करोड गरी जम्मा २ करोड ५० लाख रुपैयाँ लागतमा 'अम्ब्रेला स्ट्रिट' निर्माण गरेको महानगरपालिकाले बताएको छ।
९० मिटर लामो सडकको अन्तिमबाट राप्ती नदीमा सूर्यास्तको दृश्य, जंगली जनावर, मौसमी चरा लगायत अवलोकन गर्न सकिन्छ। साँझको समय जंगली जनावर नजिकबाट नियाल्न दुरबिन व्यवस्था गर्ने वडाको योजना छ।
पश्चिम चितवनको यस क्षेत्रबाट केही दुरीमै चितवन राष्ट्रिय निकुञ्ज, घडियाल प्रजनन् केन्द्र, गिद्ध प्रजनन् केन्द्र र अर्को पर्यटकीय गन्तव्य मेघौली पुग्न सकिन्छ।