कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपालले आफ्ना नागरिकलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज दिउँसो पौने तीन बजे वुहान पठाउँदैछ।
चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने भएपछि कतिपयले यसको संक्रमण नेपालमा पनि फैलिने हो कि भन्दै त्रास मान्न थालेका छन्।
गत मंगलबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ स्थित गुम्बा गाउँमा सय बढी मानिसहरू मौसमी रुघाखोकीले थलिँदा गाउँपालिकाले कोरोना भाइरसको लक्षणको आशंका गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र नै पठायो।
भक्तपुरको खरिपाटीका स्थानीय पनि चीनबाट नेपाली विद्यार्थीलाई ल्याएर सो ठाउँमा राख्ने भनेपछि त्रसित छन्। केही स्थानीयले त त्रासका कारण घर नै छोडेर गाउँ गए।
तर चिकित्सकहरुले स्थानीय लगायत सबैलाई नडराउन आग्रह गरेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले सेतोपाटीसँग भने, 'अरु देशले पनि वुहानबाट आफ्ना नागरिकलाई उद्दार गरेर घर लगेको छ। त्यस्तो हो भने त त्यहाँ पनि कोरोनाभाइरस फैलिसक्नु पर्ने हो नि।'
चीनबाट ल्याइने विद्यार्थी संक्रमित नहुने भन्दै पुनले उनीहरूलाई क्वारेन्टाइनमा राख्दैमा वरपरीका मानिसलाई जोखिम नहुने बताए। 'कसैलाई हेर्दैमा, बाटोमा हिँड्दैमा र यतिकै हावाबाट उडेर यो रोग सर्ने हैन। त्यसैले पटक्कै डराउन पर्दैन,' उनले भने।
मान्छेहरुले हावाबाट पनि यो रोग फैलिन्छ भन्ने आफूलाई पनि सुनाएको बताउँदै उनले सो कुरामा कुनै वैज्ञानिक आधार र तथ्य नभएको दाबी गरे।
नौलो चिज देख्यो कि हेर्न गइहाल्ने नेपालीहरुको बानी रहेको औंल्याउँदै उनले चीनबाट नेपाली विद्यार्थी ल्याएपछि नजिक गएर भीड नलाग्न स्थानीयलाई सुझाएका छन्। त्यसले मान्छेमा मनोत्रास बढाउने उनको बुझाइ छ।
क्वारेन्टाइनमा राख्ने भनेकै अरुबाट अलग गर्नलाई रहेको भन्दै उनले सो कुरामा स्थानीयले पनि सघाउनुपर्ने जनाए।
उनले अहिले कसैले मौसमी रुघाखोकी लग्दा पनि कोरोनाभाइरसको आशंका गर्ने गरेको भन्दै त्यस्तो कुरामा नआत्तिन सुझाव दिए। सिन्धुपाल्चोकको गुम्बा गाउँमा मानिसहरु विरामी परेको उदाहरण दिँदै पुनले मौसमी रुघाखोकीको बेला मानिसमा यस्तो देखापर्ने बताए।
गत मंगलबार गुम्बा गाउँमा सय बढी मान्छे मौसमी रुघाखोकीले थलिपछि गाउँपालिकाले कोरोनाभाइरसको लक्षणको आशंका गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।
'अहिले मान्छेहरु रुघाखोकी लाग्यो कि कोरोनाभाइरसको हो कि भनेर आशंका गर्छन्। यो मौसमी फ्लू ले गर्दा पनि हो,' उनले भने।
चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याएपछि स्थानीय र सर्वसाधरणले मास्क लगाउनपर्छ भन्ने प्रश्नमा पुनले सकेसम्म मास्क प्रयोग गरेको राम्रो हुने सुझाएका छन्। यद्यपी कोरोनाभाइरसलाई नै लक्षित गरेर मास्क लगाउन भने नपर्ने उनले बताए।
'तर अहिले मौसमी रुघाखोकीको बेला भएकाले पनि त्यसबाट बच्न मास्क लगाएर नै हिड्नु राम्रो हुन्छ,' पुनले भने।
सरकारले ढिलै भएपनि चीनबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्न राम्रो क्वारेन्टाइनको व्यवस्था गरेको भन्दै उनले त्यसकारण पनि स्थानीय र सर्वसाधरणले त्रास मान्न नपर्ने बताए। सरकारले चीनबाट उद्दार गरेर ल्याइने आफ्ना नागरिकलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईटा भवन तयार गरेको छ।
क्वारेन्टाइनमा रहँदा कस्तो नियम पालन गर्नुपर्ने भनेर सरकारले विद्यार्थीलाई सर्तनामा फाराम भराएको छ। जसअनुसार विद्यार्थीले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ।
क्वारेन्टाइन अवधिभर विद्यार्थीले आफ्ना परिवारलाई भेट्न पाउने छैनन्। सरकारले विद्यार्थीसँगै जहाजको पाइलटसहित सबै सदस्यलाई क्वारेन्टाइनमा राख्ने भएको छ। सहमति भएअनुसार नै पाइलटसहित जहाजका सबै सदस्यलाई समेत क्वारेन्टाइनमा राख्न लागेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
वुहान लगायत अन्य सहरबाट भेला भएका १ सय ८० नेपाली विद्यार्थीलाई लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान सवा दुई बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।