चीनको वुहानबाट शनिबार नेपाल आउन लागेकी मिमांसा खतिवडालाई खुसीभन्दा पनि डर बढी लागिरहेको छ।
डरकै कारण उनी नेपाल आउने अघिल्लो रात पनि मज्जाले निदाउन सकिनन्।
उनलाई आफ्नो शरीरको तापक्रम कतै माथि पुग्ने हो कि भन्ने चिन्ता लागिरहेको छ। वुहान विमानस्थल पुगेपछि उनको शरीरको जाँच हुनेछ। जाँचमा शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस देखायो भने उनी कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपाल आउने टोलीमा छुट्नेछिन्।
'अहिले सबै जनालाई त्यही तनाव छ। अहिलेसम्म त शरीरको तापक्रम सामान्य नै छ तर फेरि केही हुने हो कि,' हुबेईमा रहेकी खतिवडाले सेतोपाटीसँग भनिन्।
उनलाई यदि वुहानबाटै फर्किनुपर्यो भने के गर्ने भन्ने अर्को चिन्ता छ। यसअघि नै चीनस्थित नेपाली दूतावासले वुहानबाट फर्किनुपरे विद्यार्थीले बस लगायत सबै कुराको आफैं व्यवस्था गर्नुपर्ने जानकारी गराएको उनले सुनाइन्।
उनी बस्ने ठाउँमा जम्मा ५१ जना नेपाली छन्। साढे ११ बजे आफूहरूलाई बस लिन आउने उनले बताइन्।
नेपाल जाने भनेपछि उनले लगेज सबै तयार गरिसकेकी छिन्। यो बीचमा अलिकति फुर्सद मिल्यो कि उनी थर्मोमिटरले शरीरको तापक्रम नाप्न लाग्छिन्। उनले फेरि भनिन्, 'अहिलेसम्म त सबै ठीक छ।'
उनलाई जसरी पनि शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियसभन्दा माथि नपुगोस् भन्ने छ। युनिभर्सिटीले पनि शरीरको तापक्रम बढ्न सक्ने भन्दै सबैलाई धेरै बाक्लो लुगा र टोपी नलगाउन सुझाएको खतिवडाले सुनाइन्।
२३ दिनसम्म एउटै कोठामा थुनिएर बस्नुपरेकोले 'आफूलाई कतिबेला नेपाल पुगौं?' भन्ने आतुरी भएको उनले सुनाइन्।
'यो बीचमा राम्रो खाना खान पाइएको छैन। चिकेन खाएकै छैन। पिउने पानी राम्रो छैन। त्यसैले घर कहिले पुग्ने भन्ने भइरहेको छ,' उनले भनिन्।
खतिवडालाई नेपालमा १४ दिनको क्वारेन्टाइन बसाइँको अवधि चाँडो सकियोस् भन्ने छ। घर नआएको दुई वर्ष भएको भन्दै परिवारलाई भेट्न आतुर भएको उनले बताइन्।
चिङ्च्वबाट बस चढेपछि उनी ४ घण्टामा वुहान विमानस्थल पुग्नेछिन्। त्यहाँ पुगेपछि पनि उनको शरीरको जाँच हुनेछ। जाँचमा कोरोनाभाइरसको कुनै लक्षणको शंका देखिएमा उनलाई वुहानमै क्वारेन्टाइनमा राखिनेछ।
'अहिलेसम्म त्यसको डर छ। सकेसम्म त्यस्तो नहोस्,' खतिवडाले भनिन्।
कोरोनाभाइरसको उद्गमस्थल वुहानमा भने हिजैबाट पानी र बतास चलिरहेको छ। तर बतासले अर्का नेपाली चन्द्रभूषण साहको मन हल्लाएको छैन। साह नेपाल आउने भएपछि निकै उत्साहित छन्।
'आफ्नो घर भनेको आफ्नो घर हो। नेपाल जान पाउँदा धेरै खुसी लागिरहेको छ,' वुहानबाट साहले सेतोपाटीसँग भने।
आफूहरुलाई यूनिभर्सिटीमा लिन २ बजे बस आउने भएकाले आफूहरूले त्यही अनुसार तयारी गरिरहेको उनले बताए।
वुहानमै रहेका अशोककुमार साह पनि अन्ततः नेपाल आउन पाएको भन्दै एकदम खुसी छन।
'हामी एउटै कोठामा २३ दिनदेखि बसिरहेका छौं। खानदेखि पिउने पानीसम्म समस्या थियो। सबैभन्दा ठूलो त मानसिक तनाव थियो। त्यसबाट आज हामी मुक्त हुँदैछौं,' साहले वुहानबाट सेतोपाटीसँग भने।
'हामीलाई खरिपाटीमा राख्ने भनेपछि केही मान्छे आत्तिनुभएको छ। हामी संक्रमित भएको हैनौं त्यसैले डराउनुपर्दैन', उनले भने।
चीनको हुबेई प्रान्तमा उद्दारको पर्खाइमा रहेका १ सय ८५ जना नेपाली नागरिकलाई लिन आज दिउँसो पौने तीन बजे नेपाल एयरलाइन्सको जहाज चीनको वुहान प्रस्थान गर्दैछ।
जहाजमा ३ पाइलट, ६ जना क्याविन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोड मास्टरसहितको टोली हुनेछन्।
वुहानबाट १ सय ८५ जना नेपाली नागरिकलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्नेछ।
विमानबाट ओर्लिएपछि उद्दार गरिएर ल्याइएका मानिसहरुलाई खरिपाटीस्थि विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राख्न तयार पारिएको भवनमा लगिनेछ।
शुक्रबारै चीनबाट ल्याइएका नेपालीलाई कसरी खरिपाटीसम्म पुर्याउने भनेर पूर्वअभ्यास गरिएको थियो।
चीनबाट ल्याइएका विद्यार्थीलाईसहित खटिने चिकित्सक टोलीलाई भने खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखिनेछ।
त्यसपछि जहाजका पाइलट, क्याबिन क्रू र अन्य सदस्य भने चाँगुनारायण नगरपालिका-६ स्थित नगरकोटको खानेपानी तालिम केन्द्रको भवनमा बस्नेछन्।