माया गर्न अहिले धेरै सुविधा भएको मान्छिन्, मादी गाउँपालिका १ सिक्लेसकी ७० वर्षीया इन्दुकुमारी गुरुङलाई।
उनका पालामा अहिले जस्तो रोजी-छाडी थिएन। माया गर्ने मान्छेहरूको पहुँच नै पारी गाउँमा निर्भर थियो। खेतिपाती, घाँस-दाउरा र गोठ जाँदा नै माया-प्रेम बस्थ्यो। यसका अलवा, रोँधीघर र दुई गाउँमा वर्षमा एक पटक लाग्ने मेलामा जाँदा यस्तो अवसर आउँथ्यो।
‘अहिले तर फेसबुकमा माया खोज्छन्’, इन्दुकुमारीले सेतोपाटीलाई भनिन्, ‘फेसबुकमा देखेको भरमा माया लाउँछन्।’
कास्कीको पर्यटकीय गाउँ हुन्, सिक्लेस र ताङतिङ।
वारि र पारि भएर छुट्टाछुट्टै पहाडको बीचमा बसेका छन्, यी दुई ठूला गुरुङ गाउँ। अन्नपूर्ण हिमश्रृङ्खलालाई साक्षी राखेर एक अर्कालाई हेरिरहने यी दुई गाउँका सीमारेखा छुट्याइदिएको छ, मादी नदीले।
यही मादी नदीले बनाएको बगरलाई खेत बनाएर अन्न उपज फलाउँछन् गाउँलेहरू। नदीको एउटा किनारा सिक्लेसको बेंसी हो भने अर्को किनारा ताङतिङको।
बेंसीमा खेतिपाती मात्र होइन, हिँउदमा गोठ राखिन्छ। खेतमै पशु पालिन्छ।
इन्दु यी सबै काममा फिट भइसकेकी थिइन्। आमाबुवालाई घरभित्र र बाहिरका काममा सघाउँथिन्।
गुरुङ जातिका युवतीहरू लाहुरे पाएपछि हुरुक्कै हुन्छन् भन्ने किंवदन्ती जस्तै छ। खेतिपाती र पशुपालनको दिनचर्या चलाउने गुरुङ जब लाहुरे हुन थाले, त्यसबाट आउने रेमिटेन्सले पूरै समाजलाई मोहित बनायो।
ब्रिटिस सेना र भारतीय सेनामा भर्ती भएका युवासँग विवाह गर्दा छोरीको भविष्य उज्वल हुन्छ भनेर बुवाआमाले नै छोरी लाहुरेलाई दिने चलन छ। गुरुङ जातिका युवती पनि सुरक्षित भविष्यका लागि लाहुरे नै रोज्थे।
ताङतिङमा जन्मिएकी इन्दुलाई त्यतिबेला एक जना लाहुरे माग्न आए। उनलाई परिवारले विवाह गर्न दबाब दिए। तर उनले मानिनन्। गाउँमा दिनहुँको खेतिपातीमा तल्लिन उनी रोँधी र बेंसी गोठमा काम गर्न जान्थिन्।
त्यतिबेला रोँधीघरमा मायाका कुरा हुन्थे। गुरुङ जातिको युवायुवती रातभर नाच्ने, गाउने र मायाका कुरा गर्ने ठाउँ थियो रोँधी। उनीहरू आफ्नो समुदायका चाडपर्व पनि त्यहीँ मनाउँथे।
रोँधीका अलवा, खेतबारी र गोठमा काम गर्न जाँदा बोल्ने, जिस्कने र माया साट्ने चलन थियो ।
इन्दुले यो सब देखेकी थिइन्, भोगेकी थिइन्। त्यसैले उनलाई विवाह गरेर आफ्नो गाउँदेखि अर्को ठाउँ जान मनै लाग्दैनथ्यो।
उमेर ढल्किँदै गयो। २० वर्ष पुगेपछि पारि गाउँ सिक्लेसका यमबहादुर गुरुङसँग विवाह गरिन्।
२०१६ सालतिर स्याङ्जा फेँदीखोलामा जन्मिएका गुरुङ भाषा कवि हर्कबहादुर गुरुङले एउटा कवितासँग्रह निकाले। उक्त पुस्तक २०२२ मा दोस्रो संकरण निस्कियो भने पछि तेस्रो संस्करण ‘क्युँदी थुलेन’ नाममा निस्कियो।
हर्कबहादुर कवि मात्र थिएनन्। ठूला–ठूला गुरुङ गाउँहरूमा सचेतनाका गीत गाउँदै जान्थे।
गुरुङ फिल्मका लेखक, निर्देशक र नायक समेत रहेका मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’का अनुसार हर्कबहादुरले गाउँ–गाउँ गाएका गीतहरूमध्ये एउटा गीत निकै हिट थियो।
त्यही हिट गीत गाउँदै इन्दु घरमै खेतबारी र गोठमा रमाइरहेकी थिइन्।
गीतको पहिलो टुक्का यस्तो थियो :
क्युदी थुलेन् दुखन् मुना बर्षा मुलरीं
खैली टिब, खैली ह्याब, आगुई ह्युलरीं ।
नेपालीमा
पानी पिउन दुख छ है, बर्षाको मुलमा
कसरी जाउँ, कसरी बसौ अर्काको ठाउँमा।
रेकर्ड नै नभई यो गीत गुरुङ गाउँहरूमा धेरैले गाउन थाले। त्यसपछि २०४५ सालमा पोखरा स्थित डाँफे कला मन्दिरका प्रमुख मिनबहादुर गुरुङले यो गीत रेकर्ड गराए। उनले ‘रिमै पुकार’ अर्थात महिलाको पुकार नामक गुरुङ भाषाको एल्बममा यो गीत समावेश गरे।
विवाह गरेपछि इन्दुलाई यो गीत झनै प्रिय लाग्यो। अहिले ७० वर्षको उमेरमा उनी यो गीत गुनगनाउँछिन्। ताङतिङबाट पारिको गाउँ सिक्लेस पुगेकी उनले घर– माइत गर्न पनि सजिलो थिएन। अहिले धेरै नै सजिलो भएको बताउँदै उनले भनिन्, ‘नमाने करकाम गर्थे, तानेर लैजान्थे। अहिले त राज्यै फेरियो, माया गर्ने ढाँचै फेरियो।’
ताङतिङ– सिक्लेस यात्रा हिँडेर ३ घण्टा लाग्छ। इन्दु सिक्लेस पुगेपछि भत्किएका बाटो बनाइन्। खानेपानी बाटैमा खानेपानीको धारा जोडिन्। उनको यो कामलाई ताङतिङबाट विवाह गरेर सिक्लेस पुगेका चेलिबेटीले साथ दिए। घर–माइती गर्न मादी नदीको बाधा थियो। वर्षातमा मात्र होइन, हिउँदमा पनि नदी तर्न सकिँदैनथ्यो।
सिक्लेसको डिलबाटै माइती गाउँमा बिजुलीको झिलिमिली देखिन्थ्यो। त्यतिबेला सिक्लेसमा बिजुली पुगेको थिएन। टुकीमा भर पर्नुपथ्र्यो। ताङतिङमा भने नजिकैको घट्टेखोलाको पानीमा लघुजलविद्युत आयोजना बनाएर २०४७ सालदेखि नै बिजुली बालिएको थियो।
माइतीको आँगन टेक्न जब मादी नदी बाधक बन्न थाल्यो, सिक्लेस पुगेका ताङतिङे चेलिबेटीले पुल बनाउने सपना देखे। उनीहरूले आफैं पैसा जम्मा गरे। चेलिबेटी समूहले १ लाख ३० हजार खर्च गरेर काठको पुल हाले। पुल बाढीले बगाइदिन्थ्यो, फेरि बनाउनुपर्थ्यो। बाटो पहिरो जान्थ्यो, बनाउन चेलीबेटी आफैं जान्थे।
त्यसो त, सिक्लेसबाट ताङतिङ पुग्ने चेलीबेटीले पनि मादी पारीको बाटो यसरी नै आफैं बनाउँथे। अहिले पनि यो क्रम जारी नै छ।
सिक्लेसमा माघे संक्रान्ती र ताङतिङमा चैते दसैं मेला लाग्छे। यी मेला भर्न एक गाउँका युवायुवती अर्को गाउँमा जान्छन्। त्यही नाचगान गर्छन्। सिक्लेसका युवालाई ताङतिङका युवतीले बाटोमा क्रमु अर्थात पछ्यौरी राखेर बाटो छेक्छन्। यस्तै, सिक्लेसका युवतीले ताङतिङका युवालाई गर्छन्।
ताङतिङमा मेला हेर्न जाँदा यसरी नै आफू बाटो छेकाइमा परेको सिक्लेसका बासिन्दा समेत रहेका लेखक तिर्थ गुरुङ बताउँछन्। बाटो छेक्न राखिएको पछ्यौरी नाघ्न वा कुल्चन नहुने गुरुङ समुदायको विश्वास छ। यसो गरेमा अपमान गरेको ठहर्छ।
‘अहिले पनि यो क्रम अलिअलि बाँकी छ, ताङतिङमा जन्मिएका गुरुङ फिल्म एसोसिएसन अफ नेपाल (जिफान)का अध्यक्ष भोजबहादुर गुरुङले भने, ताङतिङ र सिक्लेस परापूर्वदेखि नै प्रेममा छ।’