चीनको वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीमा राखिएपछि आइतबार केही स्थानीयले घर छाडेका छन्। क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुको चहलपहल बाहिरैबाट देखिने हुँदा त्यसले जोखिम निम्त्याउने आशंका गर्दै केहीले घर छाडेका हुन्।
‘विद्यार्थीहरू छतमा आवतजावत गरेको देखिन्छ। झ्याल खुल्ला हुन्छ। त्यसैले म त आजै परिवारसँगै ससुराली बालाजु आएको छु,’ स्थानीय निरञ्जन लामिछानेले सेतोपाटीसँग भने।
डेरामा बस्दै आएका केही परिवार भने ढोकामा ताल्चा नै ठोकेर आफ्नो घर गएका छन्। चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ज्ञानबहादुर केसीले केही मान्छेले घर छोडेको कुरा सुनेको सेतोपाटीलाई जानकारी दिए।
‘मैले पनि सुनेको हुँ। केही मान्छेले यसबारे अलिक बुझेका छैनन्,’ अध्यक्ष केसीले भने।
स्थानीय प्रकाश लामिछानले भने आजै कम्तिमा ५० जना मान्छेले खरिपाटी छोडेको दाबी गरे।
आफूले पनि श्रीमती र बच्चालाई ससुराली पठाएको उनले बताए। ‘मलाई त थाहा छ नि त्यस्तो हुन्न भनेर तर उनीहरु त्रासले रुन्छन्। त्यसपछि मलाई पनि भोलि केही पो हुने हो कि भन्ने लाग्यो,’ लामिछानेले भने।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने आफूलाई स्थानीयले घर छाडेको कुरा जानकारी नभएको बताइन्। ‘यसबारे मलाई थाहा भएन। त्यस्तो हो भने म एकपटक बुझ्छु,’ पाण्डेले सेतोपाटीसँग भनिन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले कसैसँग टाडाबाट आँखा जुध्दैमा अथवा कसैलाई पर हिँडडुल गरेको देख्दैमा संक्रमण नसर्ने बताए।
‘पहिलो कुरा त स्थानीयले उहाँहरु संक्रमित होइनन् भनेर बुझ्नुपर्छ। अर्को कुरा उहाँहरु छतमा हिँडडुल गर्दैमा, कोठाको झ्याल खुल्ला हुँदैमा त्यसको संक्रमण सर्ने भन्ने हुँदैन। त्यसैले स्थानीयले ढुक्क भए हुन्छ,’ पुनले भने।
उनले मानिसहरुमा मनोत्रास हुँदा त्यस्तो भएको हुनसक्ने बताए।
सरकारले वुहानमा रहेका १७५ जना नेपालीलाई उद्दार गरी आइतबार खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिमकेन्द्रमा राखेको छ।