गोमा र टंकबहादुर राउत चैनले निदाउन नसकेको वर्षौं भयो। उमेरले ६० छेको पुगेका उनीहरूको बेचैनी अनुहार र आँखा वरिपरिका काला घेराले प्रस्ट्याउँछ।
पक्षघातले थलिएका छोरा प्रदीपको छटपटी झन् कम्ता छैन्। बोल्न सक्थे त शब्दबाट अभिव्यक्त गरेरै चित्त बुझाउँथे। पक्षघातले उनको शरीर मात्र होइन, आवाजलाई पनि असर पारेको छ। सामान्य मान्छेले उनको स्वर बुझ्दैनन्। गोमा र टंकबहादुरलाई भने बानी परिसक्यो, प्रदीपकै लागि धेरै रात अनिदो जो काटेका छन्।
प्रदीपको त्यही स्वर अचेल गोकर्णेश्वरस्थित 'दृष्टिविहीन अपांग-वृद्धवृद्धा आश्रम' मा गुञ्जिरहेको हुन्छ। टंकबहादुरले आफ्नै बलबुतामा यो आश्रम ठ्याउने प्रयत्न गरिरहेका छन्।
गत साता गोकर्णेश्वरका मेयर, समाजसेवी दिलशोभा श्रेष्ठ लगायतको उपस्थितिमा आश्रम उद्घाटन गरियो। हाल ८ कोठाको आश्रम विस्तार गर्दै ४० पुर्याउने उनको योजना छ।
करिब १४ वर्षअघि भोजपुरबाट काठमाडौं आउँदा टंकबहादुरको योजना यस्तो थिएन। उनीसँग फरक सपना थियो, आफू र परिवारका लागि।
छोराछोरीको भविष्यका लागि भनेर श्रीमतीसहितलाई उनले पहिले नै काठमाडौं पठाएका थिए। आफू भने भोजपुरमा सरकारी विद्यालयमा पढाउँथे। परिवारबाट धेरै समय टाढिन नसकेपछि काठमाडौं आउने निधो गरे।
२०६२ सालतिर हातमा ५० हजार रूपैयाँ बोकेर काठमाडौं आएका थिए उनी, गाउँको ७ रोपनी जग्गा र घर बेचेर। सपना थियो– काठमाडौंमा जग्गा किनेर घर बनाउने।
कोटेश्वरमा जग्गा हेर्न गएपछि चाल पाए– त्यति पैसाले एक टुक्रा जग्गा किन्नसमेत नपुग्ने रहेछ। तर काठमाडौंमा घर बनाउने सपना देखिसकेका उनी कहाँ हार मान्थे र! फेरि गाउँ फर्किए र बाँकी जग्गासमेत बेचेर डेढ लाख रुपैयाँ थपी कोटेश्वरमा ४ आना जग्गा किने।
जग्गा किनेपछि ऋण गरेर घर बनाउन तयारी थाल्दै थिए, स्वास्थ्यले साथ दिएन। तीन दिनसम्म टाउको दुखेर सुत्दा पनि अस्पताल धाउने मेसो थिएन। उठ्न र खानै नसक्ने भएपछि अस्पताल पुग्नुको विकल्प भएन।
'मलाई एकदमै भोक लाग्यो। खाने जति प्रयास गर्दा पनि मुखबाट जाँदै नजाने,' उनले भने, 'अस्पतालमा १५ दिन बस्दा पनि केही सुधार भएन। मैले मुखबाट खानै नसक्ने भएपछि नाकमा पाइप जडान गरेर त्यसैबाट खाने प्रक्रिया मिलाइयो।'
'मलाई पहिलेदेखि नै उच्च रक्तचाप रहेछ, त्यही कारण म ढलेछु। पहिले नै देखाएर औषधि खाएको भए त्यस्तो नहुने थियो, मैले होसै पाइनँ।'
जिन्दगीमा कहिले ठूलो रोगले थला नपरेका टंकबहादुर अस्पताल पुग्नेबित्तिकै पाइप जडान गरिँदा आत्तिएका थिए। रोग निको पार्ने आशमा के मात्र गरेनन्! जन्मथलो पुगेर बोका काटे, भोग दिए। काठमाडौंका धेरै मन्दिरमा बलि चढाए। अन्तिममा एक इसाई धर्मावलम्बी व्यक्तिले आशा देखाउँदै चर्च लगे।
करिब ५ वर्ष निरन्तर चर्च जाँदा पनि निको नभएपछि उनी विश्वस्त भए, 'कुनै धर्मले केही गर्दैन, त्यसले त सान्त्वना मात्रै दिने हो।'
चिया, पानीदेखि साह्रो खानेकुरा पनि झोल बनाएर उनी पाइपबाटै खान्छन्। नाकदेखि पेटसम्म जडान गरिएको यो पाइपबाट आफैं खान जान्छन्। पाइपबाट खान पर्दा कत्ति महिनासम्म उनलाई लागेको थियो– अब धेरै दिन बाँचिन्न। तर १४ वर्ष यसरी नै जिन्दगी बिताइसकेपछि उनलाई 'बाँचिने रहेछ' भन्ने लाग्न थालेको छ।
आफ्नो स्थिति जस्तो भए पनि टंकबहादुरले काठमाडौंमा घर बनाउने सपना पूरा गरिछाडे। घरको दुई कोठा भाडा दिएर काठमाडौंको बसाइ धानिरहेका थिए। जिन्दगी जेनतेन चलिरहेको थियो, नसोचेको अर्को घटनासँग टंकबहादुरको परिवार गुज्रिनुपर्यो।
०६८ सालमा छोरा प्रदीपलाई बाइकले हानेर दुर्घटना भयो। बाटो काट्ने क्रममा गाडी छल्दै हिँड्दा उनी छलिन सकेनन्।
'म जहिले पनि काठमाडौंको सडकदेखि डराउँथे। आफ्नो बच्चालाई पनि बाटो काट्दा सजग हुनु भन्थेँ,' आमा गोमाले भावुक हुँदै भनिन्, 'तर यही कुराले मेरो छोरालाई त्यस्तो होला भन्ने सोचेकै थिइनँ।'
गोमा र टंकबहादुरका चार सन्तान थिए, दुई छोरा, दुई छोरी। गाउँको पढाइ राम्रो नभएकाले पहिले जेठो छोरा प्रदीप, त्यसपछि कान्छो र छोरीहरू गर्दै सबै काठमाडौं आएर पढ्न थालेका थिए। उनीहरूकै स्याहार र रेखदेखनिम्ति गोमा काठमाडौंमा भाडा लिएर बसिन्। खर्च जुटाउन टोपी, पञ्जा लगायत बुन्ने काम गर्थिन्।
'छोराछोरी जडीबुटीमा बसिरहेका थिए। त्यहाँबाट विद्यालय पुग्न दुइटा बाटो काटेर स्कुल पुग्नुपर्ने रहेछ। बाटो काट्दा डर हुने भएकाले मैले नै जडिबुटीबाट कोटेश्वर घर सारेको थिएँ,' गोमाले भनिन्, 'त्यहाँको भाडा १५ सय थियो, पहिलेको भन्दा ५ सय बढी तर ज्यानभन्दा ठूलो केही होइन भनेर त्यहाँ आयौं।'
तर त्यो घटनालाई उनको घर सराई योजनाले टार्न सकेन। दुर्घटनाले प्रदीपको टाउकोमा चोट लागेकाले उनी कुँजोजस्तै भए, लुला हात–गोडा खुम्चिँदै पछि प्यारालाइसिस भयो। सुरूमा उनी टुक्रा शब्दबाट आफ्ना कुरा भन्न सक्थे। पछि त्यो पनि हरायो।
'मलाई ममी, छोरालाई बाबु लगायत भन्थ्यो। भेट्न आउनेलाई बहिनी, भान्जाभान्जी भन्दै बोलाउँथ्यो,' प्रदीपकी आमा गोमाले भनिन्, 'के खाने भन्दा कहिले भालेको मासु, कहिले के भन्थ्यो। धेरैचाहिँ मःम खान्छु भन्थ्यो। उसले जे भन्यो, जहिले भन्यो दिन्थ्यौं। एक वर्षपछि ती टुक्रा शब्द पनि बोल्नै नसक्ने भयो।'
डाक्टरले पनि भन्न थाले, 'अब जचाउँन नल्याउनुस्। तपाईंको छोरालाई गर्न सक्ने यत्ति हो।'
दुर्घटनाताका प्रदीप बिहान क्याम्पस पढ्दै दिउँसो आफ्नै बेकरी चलाइरहेका थिए। करिब १२ वर्षअघि उनले भगाएर बिहे गरेका थिए। दुई वर्षे छोरा पनि थियो। त्यसरी थलिएपछि आफ्नी श्रीमतीको झन् धेरै खाँचो उनलाई पर्थ्यो, श्रीमती टाढिन मात्रै खोजिन्।
'बिहानै उठेर हिँड्ने अनि पकाएर राखेको खाना पनि नदिने। खुसी हुँदा दिने, रिस उठ्दा नखुवाइदिने रहिछ। अनि भोकै भएकाले ह्विलचेयरमा अडिन पनि नसकेर कराएको कराएकै गरेपछि हतारहतार उठाएर खाना खुवाउँथे,' गोमाले भनिन्, 'छोराको स्याहारमा आफैं खटिनुपर्यो। आफ्नो कोखको छोराछोरीको माया अरूलाई नहुँदो रहेछ।'
उमेर छँदै श्रीमानको त्यस्तो अवस्था भोग्नु प्रदीपकी श्रीमतीलाई पनि सजिलो नहोला! गोमा र टंकबहादुरले यो कुरा बुझेका थिए। 'जस्तो आफ्नो छोरी, त्यस्तै बुहारी' भनेर बेलाबखत बुहारीलाई भन्थे पनि रे– तिम्रो खुसी अन्तै छ भने बिहे गर्दिन्छौं।
उनले भने सानो छोराकै भविष्य बनाउने अडान लिइन्। केही महिनाअघि मात्र सम्बन्ध विच्छेद गरेर ११ वर्षीय छोरा लिएर हिँडिन्।
छोराको स्याहार गर्ने पूर्ण जिम्मा अहिले टंकबहादुर र गोमाको काँधमा छ। उनलाई खुवाउने, डुलाउने, शौच गराउने सबै बुझेर गर्छन्। टंकबहादुर त बेलाबखत बाहिर हिँडडुल गर्न पाउँछन्। गोमा छोराकै चिन्ताले यताउता पनि गर्न पाउँदिनन्। उनका लागि सधैं तयार रहनुपर्छ।
'बेलुका सुत्न पनि दिँदैन्। उसलाई हनहनी ज्वरो आउँछ। अनि निदाउँदा पनि म जागै हुन्छु। उसलाई ओल्ट्याउ, प्ल्ट्याउ, खुवाउ, डुलाउ...। यो बाबुलाई स्याहार गर्दाखरी यो हड्डी सबै दुख्छ,' उनले भनिन्, 'आफैंलाई पनि ग्यास्टिक, थाइराइड छ।'
'श्रीमानलाई पनि त्यस्तो छ। यसो सम्झिँदा, म त घरीघरी पागल नै भइहाल्छु। कहिलेकाहीँ त हाम फालेर मर्न पाए पनि हुन्थ्यो जस्तो हुन्छ। तर जस्तो भने पनि खपेर बस्नै पर्ने रहेछ।'
छोराकै कारण उनीहरूले आफ्नै मिहिनेतले सिर्जेको घर पनि जोगाउन सकेनन्। ऋण तिर्न नसकेपछि कोटेश्वरको घर बेच्नुपर्यो। घर बेचेपछि कहाँ जाने टुंगो थिएन। आफ्नै घरमा महिनाको ५ हजार भाडा तिरेर दस महिना बसे। अहिले आश्रम बनाएर यतै सरेका छन्। दुई छोरीको बिहे भइसकेको छ, कान्छा छोरा भक्तपुरमा छुट्टै बसेकाले तीन जना यहीँ छन्।
काठमाडौं आउनुदेखि आश्रम खोल्नुसम्मको अन्तरालमा टंकबहादुरले विभिन्न काम गरे। मैनबत्ती बनाए, पसल–पसल चहारेर बेचे। जेनतेन धान्न पनि मुश्किल भयो। एक–दुई वर्ष त्यसरी हिँडेपछि उनको सम्पर्क दृष्टिबिहीनहरूसँग भयो।
दृष्टिबिहीनहरूले प्रस्ताव राखे, 'तपाईं देख्नुहुन्छ, हामी देख्दैनौं। हामीलाई सहायता गर्दै विभिन्न ठाउँ, चोक, गल्ली लानुस्।
टंकबहादुरले स्वीकारे। धेरै समय उनीहरूका गाइड बने। उनी अघिअघि लाग्थे, दृष्टिबिहीनहरू पाखुरा समात्दै उनको पछिपछि। दिनभर बाटोमा गीत गाएर कमाएको पैसा उनलाई पनि भाग लाग्थ्यो। उनी अनकनाउँथे रे, 'म परिश्रम गर्न सक्छु। नदेख्नेले गाएको पैसा म लिन सक्दिनँ।'
उनीहरूको ढिपी अगाडि टंकबहादुर हारे। पाएको एक भाग पैसाले घर भाडा तिर्थे।
त्यसरी दृष्टिबिहीनका गाइड बन्ने क्रममा उनलाई लाग्न थाल्यो, आफ्नो जिन्दगी उकास्न केही नयाँ गर्नुपर्छ। दुई वर्षअघि आश्रम बनाउने 'कन्सेप्ट' टंकबहादुरको दिमागमा फुरेको थियो, जसमा साथ दिए दृष्टिबिहीन टेकबहादुर मगरातीले। उनी न्युरोडमा गीत गाएर गुजारा चलाउँथे।
आफूजस्तै अशक्त–असहायलाई सहयोग गर्ने उद्धेश्यले उनीहरू मिलेर भाडामा जग्गा खोजिरहेका थिए। उनीहरूलाई सडकमा बस्न मन थिएन। सरकारले सडकबाट हटाउन खोजेपछि आफ्नो उद्धेश्यमा झनै दृढ भए। गोकर्णेश्वरमा वर्षको ३० हजार तिर्ने सर्तमा करिब साढे एक रोपनी जग्गा भाडा लिएर आश्रम बनाइरहेका छन्।
आश्रम पूरै तयार भइसक्दा करिब एक करोडभन्दा बढी लाग्नेछ। त्यसका लागि सरकारीदेखि निजी निकायसम्म ऋण र सहयोग माग्दै हिँडिरहेका छन्। यत्तिका रकम कसरी तिर्ने भनेर उनीहरू आत्तिएका छन्। हिम्मत भने हारेका छैनन्।
झन् टंकबहादुर त आफ्नै जीवनबाट लड्दै उठ्न जानिसकेका छन्।
'अचेल शरीरले अलि साथ दिँदैन। न सरकारले दिएको छ,' उनी भन्छन्, 'हामीले अन्त विकल्प नभएरै सडकलाई परिश्रम थलो बनाएका हौं।'
'सुन्दर सहर' बनाउने अभियानमा टंकबहादुरहरूलाई सडकबाट हटाउने होइन, उनीहरूको संघर्षमा साथ दिएर हाैसला दिन जरूरी छ।