प्रहरी बर्दीमा टिकटक बनाएको भिडिओ भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापालाई कारबाही गर्ने भएको छ।
थापामाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको डिआइजी विश्वराज पोखरेलले बताए।
भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयमा इञ्चार्जका रूपमा कार्यरत थापाको ठाउँमा महानगरमा कार्यरत सई राजु प्रसाईंलाई पठाइएको छ।
'त्यहाँ इञ्चार्ज रहेछ ऊ, मैले तुरून्तै कारबाहीको लागि यता तानिसके उसको ठाउँमा अर्को इञ्चार्जलाई पठाइसकें,'डिआइजी विश्वराज पोखरेलले सेतोपाटीसँग कुराकानी गर्दै भने,'प्रहरी नियमावली बमोजिम अनुसन्धानपछि कारबाही हुन्छ छुट हुँदैन।'
यसअघि सई रत्नबहादुर थापाले सेतोपाटीसँग कुरा गर्दै आफूले टिकटक नै नचलाउने जिकिर गरेका छन्।
‘मैले पनि समाचारमा हेरेँ, टिकटक म त चलाउँदा पनि चलाउँदिनँ,’ सई रत्नबहादुर थापाले सेतोपाटीसँग कुराकानी गर्दै भने, ‘मलाई मेट्रोमा बोलाएको छ त्यहीँ जाँदैछु।’
दुई टिकटक भिडिओ दिलुमगर ९१ अकाउन्टबाट सार्वजनिक भएको हो।
एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।
डिआइजीका पोखरेलका अनुसार उनकी श्रीमतीले पेस्तोल बोकेर भिडिओ बनाए पनि थापाले अनुमति दिएको हुँदा उनीमाथि कारबाही हुनेछ।
'श्रीमतीलाई अधिकार दिने मान्छे को हो भन्दा त उही हो त्यसैले उसप्रति कारबाही हुन्छ,'डिआइजीले भने।
उनीमाथि छानबिन तथा सोधपुछ गरी कारबाही गरिने जनाइएको छ।
यो पनि:
पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने प्रहरीलाई डिआइजीले झिकाए