शमशेर गुरुङले दुई महिनाअघि मात्रै बाह्रचक्के ट्रक चलाउन थालेका थिए।
यसअघि लामो समय विदेशमा काम गरेर फर्केका उनले सुरूमा सानातिना गाडी चलाए। दुई महिनाअघि थानकोट, वाडभन्ज्याङको भुटनदेवी वर्कसपमा जागिर खाएपछि त्यही कम्पनीका लागि ट्रक चलाउन थाले।
जीवनको अन्त्य पनि ट्रकबाटै होला भन्ने सायदै उनले सोचेका थिए।
सोमबार साँझ कलंकीमा भएको दुर्घटनामा उनको ज्यान गएको छ। दुर्घटना गराउने ट्रक उनको होइन। उनी त स्कुटर चलाएर घर जाँदै थिए। त्यही बेला थानकोटबाट कलंकी आइरहेको ना६ख २८७१ नम्बरको मालवाहक ट्रकको ब्रेक फेल भयो।
ढुंगेअड्डाको ओरालोमा अनियन्त्रित भएको उक्त ट्रकले एघार वटा गाडीलाई ठक्कर दियो, जसमध्ये बा४४प १८१० नम्बरको उनको स्कुटर पनि थियो।
यो घटनामा चितवन, कालिका नगरपालिका, शक्तिखोरका शमशेरको घटनास्थलमै मृत्यु भयो। अन्य ९ जना घाइते भएका छन्।
जति बेला शमशेर ट्रक चलाउँथे, उनीसँग सहयोगी पनि हुन्थे। सहयोगी नभएको बेला सघाउन उनकी पत्नी रिता सँगसँगै जान्थिन्। सोमबार भने उनी एक्लै थिए।
उनीहरू गत बुधबार आफ्ना १० वर्षे छोरीलाई आफन्तकहाँ छाडेर झापा गएका थिए। सोमबारै झापाबाट फर्किएका हुन्।
फर्किनासाथ शमशेर खाली ट्रक लिएर सामान लिन नवलपरासी जाँदै थिए। रिता आफ्नो गोंगबुस्थित डेरा फर्कंदै थिइन्।
'आजै काठमाडौं आएको, अब भोलि बिहान मात्रै जानुस् भनेकी थिएँ,' पति वियोगमा शोकाकूल रिताले मंगलबार सेतोपाटीसँग भनिन्, 'उहाँ अहिले गएँ भने रातिसम्म पुग्छु भनेर जान हतारिनुभयो।'
भन्नेबित्तिकै गएका भए बरू केही हुँदैनथ्यो, तर विधिको विधान!
उनी खाली ट्रक लिएर जसै अगाडि बढे, अपराह्न साढे ४ बजेतिर थानकोटको जाममा फसे। ट्राफिकले बाटो जाम गराएको भन्दै उनलाई चिट काट्यो।
शमशेर नवलपरासी नगई थानकोटबाट केही टाढा वाडभन्ज्याङको वर्कसपमा गाडी छाडेर आफ्नो कुनै सामान लिन कोठातिर गए। उनी वर्कसपमै भएको स्कुटर लिएर गएका थिए। हिँड्ने बेला रितालाई फोन गरेर भने, 'म आउँदैछु, तिमी सामान लिएर बाटोमा निस्कँदै गर है।'
रिताले त्यसै गरिन्। केही बेरसम्म शमशेर नआइपुगेपछि उनले फोन गरिन्।
फोन शमशेरले उठाएनन्। उनको सट्टा अपरिचित आवाज सुनियो। उनी कलंकी घटनास्थलमा आइपुगेका प्रहरी थिए। उनले भने, 'तपाईंको श्रीमानको दुर्घटना भएको छ। हामी ट्रमा सेन्टर पठाउँदै छौं।'
ट्रमा सेन्टर पुग्दा शमशेरको सास थिएन।
'सोमबार मात्रै काठमाडौं आएको थियो, त्यही दिन नवलपरासी जान्छु भन्यो,' वर्कसप सञ्चालक निरनकुमार प्रधानले भने, 'दाइ राति एक-दुई बजेसम्म सामान लिन भ्याउँछु भन्दै थियो, यस्तो भयो।'
दुर्घटना गराउने बारा, बर्थुवा नगरपालिका-५ का ट्रक चालक वीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ।
'उसले मापसे गरेको थिएन। हामीलाई ब्रेक फेल भएर दुर्घटना भयो भनेको छ,' महानगरीय प्रहरी वृत्तका डिएसपी घनश्याम श्रेष्ठले भने, 'ट्रक चालकलाई कुनै चोटपटक पनि लागेको छैन।'
शमशेरको शव पोस्टमोर्टमका लागि टिचिङ अस्पताल, महाराजगन्जमा राखिएको छ। चितवनमा रहेका परिवार काठमाडौं आएपछि दाहसंस्कार गर्ने रिताकी बहिनी अनिता मिश्र खत्रीले बताइन्।
रिताले मंगलबार ट्रक चालक शाहविरुद्ध जाहेरी दर्ता गराएकी छन्।
यो दुर्घटनामा घाइते हुनेहरू सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ। रोल्पा-७ का २१ वर्षे राहुल बुढाथोकी, गोरखा, आरुघाटका ४७ वर्षे जितबहादुर गुरुङ, दोलखा, भीमेश्वर-९ का ४२ वर्षे गणेश खत्री, नुवाकोटकी ४३ वर्षे मुना तामाङको सहिद मेमोरियल अस्पतालको आइसियुमा उपचार भइरहेको छ।
भारत, मोतिहारीका ४५ वर्षे मदन माझीको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य चार जना घाइते उपचारपछि घर फर्किएका छन्।