नेपाली सेनाले पोखराको रानीपौवामा ५० बेड क्षमताको ‘मिलिटरी अस्पताल पोखरा’ संचालनमा ल्याएको छ।
सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाँ लगानीमा निर्माण भएको अस्पताल साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको नेपाली सेनाका इन्जिनियर निश्चलजंग रायमाझीले जानकारी दिए।
अस्पतालको बुधबार एक कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। अस्पताल निरीक्षण गर्दै सेनापति थापाले यस क्षेत्रको आवश्यकताका आधारमा सेवालाई विस्तार गर्दै गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिए।
उनले अस्पतालबाट सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन अग्रह गरे। ‘सेवा प्रवाहमा कमजोरी हुँदा त्यसको अपजस आउने हामीलाई नै हो’ थापाले भने, ‘अस्पतालको सेवा प्रवाह प्रभावकारी हुनुपर्छ।’ प्रधानसेनापति थापाले माग र आवश्यकताका आधारमा अस्पतालमा भौतिक पूर्वाधार र उपकरणको व्यवस्था हुनुपर्ने बताए।
अस्पतालमा नेपाली सेनामा कार्यरत कर्मचारी, उनका परिवार, सेवा निवृत्त र तिनका परिवारलाई समेत सेवा प्रदान हुने अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. आरजुचन्द्र सिंहले बताए।
सिंहका अनुसार उनीहरुलाई अस्पतालले निशुल्क सेवा प्रदान गर्नेछ। अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, जनरल ओपिडी, इन्डोस्कोपी, बालरोग, सर्जिकल सल्यक्रिया, प्रसुती सेवा, सघन उपचार सेवा प्रदान गरिने डा.सिंहले जानकारी दए। अस्पतालमा ७७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्।
कास्की र तनहुँमा गरी ११ हजार बहालवाला र सेवा निवृत्त सैनिक रहेका छन्। अस्पतालमा गण्डकी प्रदेशका ११ जिल्लाका २० हजार जनाले सेवा प्राप्त गर्ने सेनाको अनुमान छ। पोखरामा सैनिक अस्पताल संचालनमा आएपछि नेपाली सेनामा कार्यरत र अवकाश प्राप्त कर्मचारी तथा उनीहरुका परिवार स्वास्थ्य उपचारका लागि सैनिक अस्पताल काठमाडौं जानुपर्ने बाध्यता समाप्त हुने सिंहले बताए।
अस्पतालमा अपाङ्गमैत्री भौतिक संरचना निर्माण गरिएको छ। नेपाली सेनाले काठमाडौं, नेपालगञ्ज लगायतका ठाउँबाट पहिल्यैदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो। अब पोखरा र इटहरीमा पनि सेवा सुरू भएको जनाएको छ।
सैनिक अस्पताल पोखराको उद्घाटनपछि प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सामुहिक तस्विर खिचाउँदै।