एक सय २६ बुद्धहरू एकै ठाउँ देख्न पाइने अवसर सितिमिति आउँदैन। पाँच वर्ष अन्तरालमा बल्ल बुद्धहरू आफ्नो विहारबाट बाहिर निस्किन्छन् र पाटनको नागबहालमा भेला हुन्छन्।
बिहीबार त्यस्तै दृश्य देख्न पाउनुभयो भने तपाईं 'भाग्यमानी' हुनुभयो। अब अर्को पाँच वर्ष कुर्नुस् है!
लुगा, गरगहनामा सजिएका यिनलाई दिपंकर बुद्ध भनिन्छ। उनीहरू सम्यक महादान अर्थात् दिपंकर पर्वका लागि भेला भएका हुन्। दिपंकरका विशाल प्रतिमा नागबहालमा प्रदर्शन गर्नु र धर्मवालम्बीहरूले दानमा सहभागिता जनाउनु पर्वको विशेषता हो। पर्वमा नेवार-बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरू र विशेषगरी दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा, आर्यतारा लगायतलाई दान दिइन्छ।
हिरण्यवर्ण महाविहार (क्वाःबहाल) ले यो पर्व सञ्चालन गर्दै आएको छ। विहार सुधार समितिका सदस्य कमलराज शाक्यका अनुसार सम्यक पर्व सात सय वर्षभन्दा पुरानो हो।
‘गोल्डेन टेम्पल’ भनेर चिनिने हिरण्यवर्ण महाविहारलाई राजा भाष्करदेव वर्माले स्थापना गरेका हुन्। यहाँ दुई पूजारी नियुक्त हुन्छन्, जसलाई बाफाचा भनिन्छ। सानो (चिरिम) बाफाचा यहाँको मूख्य पूजारी हो भने ठूलो (तडिम) बाफामा सहयोगी पूजारी हुन्।
सम्यक महादानलाई जोडेर महाविहारमा वंशावली छ, जसअनुसार राजा भाष्करदेव वंशकै भलिभारो नाम गरेका व्यक्ति धनी नभएर दरिद्र थिए। आफ्नो दरिद्रताका कारण गाईको गोबर जम्मा गरेर भण्डार कोठामा राख्थे। त्यो कुरा उनलाई श्रीमतीलाई भन्न समेत लाज लाग्थ्यो। गोबर देख्छिन् कि भन्ने डरले साँचो लुकाएर राख्थे।
एकपटक भने साँचो भुइँमा खसेको रहेछ। कौतुहलवश श्रीमतीले भण्डार खोलेर हेर्दा गोबर नभई त्यहाँ सुनैसुन देख्छिन्। श्रीमान फर्कनासाथ त्यसबारेमा नबताएको भनेर गुनासो गर्छिन्। भलिभारो आश्चर्यमा पर्छन्। खासमा उनको असल कर्मका कारण गोबर सुन भएको हुन्छ जसलाई बुद्धको कृपा मान्छन्।
आफूलाई कल्याण गर्ने धर्मप्रति श्रद्धा स्थापना गर्न उनीहरूले विभिन्न विहारका दिपंकर बुद्ध प्रतिमा, बौद्ध देवदेवी, भिक्षु, बज्राचार्य आदिलाई आमन्त्रण गरी सम्यक महादान आयोजना गर्छन्।
‘वंशावलीका अनुसार सात सर्य वर्षअघिदेखि वि. सं. १८६१ सम्म प्रत्येक वर्ष आयोजना हुन्थ्यो। १८६२ सालदेखि भने गुठीको आयस्ता कम भएकाले पाँच वर्षमा आयोजना हुने गरी सम्यक महादान पर्व आयोजना हुँदै आएको छ,’ समितिका सदस्य कमलराज शाक्यले बताए।
उनका अनुसार पाटनमा १५ विहारका बुद्धहरू सम्यक महादानमा भेला हुन्छन्। १ सय २६ बुद्ध यो पटक ४ सय ७२ औं सम्यकका लागि भेला भएका हुन्। हिरण्यर्ण महाविहारले पहिले नै विभिन्न विहारमा सम्यकका लागि सहभागिता जनाउन निमन्त्रणा पठाउँछ। फागुन शुक्ल चौथी अर्थात् बुधबार उनीहरू पाटन दरबार क्षेत्रमा भेला भए र १० बजेतिर बाजागाजासहित नाच्दै विभिन्न ठाउँ परिक्रमा गरेर बेहुली जसरी नागबहालको गेटबाट प्रवेश गरे।
मिननाथ रहेको बहालकी बसुन्धारालाई आसनमा विराजमान गराएपछि मात्रै अन्य बुद्ध विराजमान हुन्छन्। बसुन्धरा दिपंकरले सम्मान गरिरहेको देवी भएको कमलराज बताउँछन्।
बेलुकी आजुहरूले पूजा गरेर उनीहरूलाई बिदा गरेपछि सम्यक महादान पर्व सकिन्छ। बसुन्धारा आसनबाट उठेपछि बल्ल अन्य देवता उठ्न पाउँछन्।
‘एक दिनको पर्व भए पनि यसको तयारी पहिलेबाटै हुन्छ। श्रीपञ्चमी पकाएको रोटी विभिन्न गुठीयार व्रतबन्ध गरेकाहरूले लिन आउँछन्। पर्वमा विशेगरी रोटी र चामल चढाइन्छ। आजकाल भने सजिलो भएकाले पैसा चढाउने धेरै छन्,’ कमलराजले भने।
लामो सयदेखि क्वाः बहालले सम्यक दान सञ्चालन गर्दै आएको छ। आफ्नो विहारले संचालन गर्न सबैलाई निमन्त्रणा दिनुपर्ने र बुद्ध पनि थप्नुपर्ने नियम रहेछ। कसले कति पटक सम्यक दान गर्यो भने बुद्धको छातामा हुने चक्रबाट पनि थाहा पाउन सकिने उनी बताउँछन्। जस्तो, दुई पटक सम्यक दान गरेको छ भने दुइटा चक्र।
‘सम्यक महादान भन्नाले शुद्ध मनले निःस्वार्थ दान गर्ने एवं सम्यक सम्बोधितर्फ लैजाने बोधिसत्व मार्ग बुझिन्छ। यो पर्वको सार नै दानपारमिताको अध्यास हो,’ कमलराजले भने, ‘दानबाट आफूलाई आत्मसन्तुष्टि मिल्छ भने अन्यको उपकार पनि हुन्छ।’
सम्यक महादान पर्व काठमाडौंमा प्रत्यक १२ वर्षमा हुन्छ भने भक्तपुरमा प्रत्येक वर्ष हुन्छ। सयौं बुद्ध देख्न पाइने महादान भने पाँच वर्षमा एकपटक हुने पाटनकै मात्र हो।