तपाईंले दरबारमार्ग, जमल, केशरमहल, माइतीघर, थापाथली वा स्वयम्भूतिर बाँसको चोयाले बेरिएका खम्बा याद गर्नुभएको छ? विभिन्न विज्ञापनका कागज टाँसिएर फोहोरी भएका बिजुलीका खम्बालाई चिटिक्क पारेको देख्नुभएको छ?
छ भने, तपाईंको मनमा पक्कै प्रश्न उठेको होला– यो के गरेको? किन गरेको? कसले गरेको?
यसको श्रेय जान्छ 'भिजुअल आर्टिस्ट' कैलाश श्रेष्ठलाई। उनको टोलीले काठमाडौंमा चालीसभन्दा बढी खम्बा चोयाले बेरिसके।
'आफ्नै बुनाइ संस्कृति प्रदर्शन गर्दै हाम्रो सार्वजनिक स्थलको कुरुप र कृत्रिम अनुहार देखाउन खोजिएको हो,' कैलाश भन्छन्, 'यो सामाजिक सरोकारको विषयमा कला र कलाकारको हस्तक्षेप पनि हो।'
काठमाडौं, स्वयम्भूमा आर्टुडियो (सेन्टर फर कन्टेम्पोररी भिजुअल आर्ट्स) स्थापना गरेका कैलाशले दोलखाका छविबहादुर श्रेष्ठसँगै, नारायण श्रेष्ठ र गंगालाल श्रेष्ठसँगको सहकार्यमा यो काम गरेका हुन्। २०६७ सालमा खुलेको आर्टुडियोको पहलमा कैलाशले २०७३ सालदेखि स्थानीय कलाकारसँग सहकार्य गरिरहेका छन्।
सडक छेउ ठडिएका बिजुलीका खम्बा विज्ञापन एजेन्सीका लागि निःशुल्क प्रचार गर्न पाउने ठाउँ हुन्। तीमध्ये धेरै विज्ञापनले हामीलाई फरर अंग्रेजी सिकाउनेदेखि सरर विदेश पुर्याउने लोभ बाँडिरहेका हुन्छन्।
दैनिक कामको चटारो र अस्तव्यस्तताले सार्वजनिक खम्बा कहाँ, कति र कस्ता छन् भनेर हेक्का राख्ने फुर्सद हामीलाई हुँदैन। कैलाशलाई भने सहरको सौन्दर्य बिगार्ने यस्ता दृश्यले आजीत पार्छ। उनी कुरूप दृश्यले मानसिक स्वास्थ्यमा पार्ने असरबारे समेत चिन्तित हुन्छन्।
केही वर्षअघि काठमाडौंको भिडभाड छलेर जन्मथलो दोलखा, गैरीमुदी पुग्दा कैलाशले त्यस्तै दृश्य देखे– लोभलाग्दो हरियो जंगल बीचमा ठिंग उभिएको खम्बा र तारहरू।
उनले स्थानीय छविबहादुरलाई अनुरोध गरे, 'यो खम्बालाई डोकोले बेर्दिनुस् त कस्तो देखिन्छ?'
कैलाशको आशय नबुझे पनि छविबहादुरले डोको ओढाइदिए। खम्बाको छवि फेरियो। गाउँलेका लागि छविबहादुरले डोको बनाउनु सामान्य थियो। तर बिजुलीको खम्बालाई डोको ओढाएको उनीहरूले नौलो माने। सधैं डोको बनाउँदा वास्ता नगर्नेले त्यो बेला छविबहादुरको कामबारे रूचि देखाएका थिए।
कलाकार कैलाशले बुझे- सार्थक कलामा पहिचान, अन्तर्सम्बन्ध र संवादलाई सँगसँगै डोर्याउने क्षमता हुन्छ। बाँस र योसँग जोडिएको हस्तकला परम्परामा यी सबैपक्ष पाइन्छन्। त्यसैले भनिएको होला,
बाँसको सबैथोक भलो
तर त्यसको हुँदैन ढिकी र हलो
अर्थात् बाँसबाट ढिकी र हलोबाहेक नबन्ने केही छैन। कोक्रोदेखि लाशबोक्नसम्म प्रयोग हुनु बाँसको विशेषता हो। दैनिक जीवनमा चाहिने डोको, डाली, सोली, थुन्से, फुंग्लो, नांग्लो, भकारीदेखि घर बनाउनसम्म प्रयोग हुने बाँस तराईदेखि हिमालसम्म फैलिएको छ। कम लगानी र छोटो समयमा सप्रने बाँस सांस्कृतिकदेखि आर्थिक पाटोसम्म हाम्रो सहारा बन्दै आएको छ।
कैलाशलाई बाँसका यस्तै विशेषताले लोभ्याइरहेको छ। कहिले घाँसदाउरा त कहिले आलु बोक्ने क्रममा उनको बाल्यकाल डोको र बाँससँग जोडिएको थियो। आफ्नो अतीतमा फर्किंदा उनी आफूजस्तै सारा गाउँकै दैनिकीमा बाँससँग सम्बन्ध भेट्छन्।
एसएलसीपछि २०५७ सालमा दोलखा छाडेका उनी काम विशेष वा बिदामा मात्रै उता पुग्थे। दोलखामा उनको पुरानो घर थियो, जसलाई सामुदायिक कला क्षेत्रको रूप दिने सपना थियो। २०७२ को भुइँचालोले उनको सपनालाई धक्का दियो।
'घरलाई संग्रहालय बनाउँछु भनेको भुइँचालोले घर नै संग्रहालय भइदियो,' कैलाशले भने।
भुइँचालोको मार खेपेका मुख्य ठाउँमध्ये थियो दोलखा। उनले पैसा संकलन गरेर कलामार्फत् मानसिक 'हिलिङ'को काम गरे। यसक्रममा सञ्चालित विभिन्न कार्यशाला र प्रदर्शनीले उनलाई समुदाय नजिक पुर्यायो।
२०७३ मा उनले 'दोलखा एल्बम' नामक रेसिडेन्सियल वर्कसप र होमस्टेबाट 'कन्टेट' जन्माए र त्यहीँ प्रदर्शन गरे। यसमा स्थानीय र काठमाडौंका कलाकार सहभागी थिए। समुदायले मनपरायो। त्यहीँको कथामा सिनेमा, त्यहीँको संस्कृतिमा संगीत बन्यो।
कैलाश भन्छन्, 'पूरै गाउँ खुला आर्ट स्पेस बन्यो। सहभागिताले कला उत्सव जस्तै भएको थियो दोलखा एल्बम।'
त्यति बेला उनलाई मान्छेले कला बुझ्दैनन् भन्ने गलत लाग्यो। बरू, कलाकारले 'कन्टेम्पोररी' कला सिर्जना गर्न नसकेको महशुस गरे।
'हाम्रो काममा चित्र मात्रै रहेछ, कला रहेनछ। त्यसैले ग्यालरीमा सीमित भएछौं।'
सडक छेउका खम्बामा डोको ओढाउने पछिल्लो कामलाई यसअघिका कामको सिलसिलामा बुझ्नुपर्ने कैलाश जोड दिन्छन्, 'ठूलो काम नहोला, तर फुत्त आको काम हैन।'
कैलाशका चित्रकला भएका स्टुडियोमै चकटी, गुन्द्री, डोको र हातले बनाइएका बाँसका सामग्री छन्। स्टुडियोका ठीक अगाडिका खाँबा चोयाले बेरिएको छ। बाँससँग जोडिएको विभिन्न संस्कृतिबारे अभिलेख गरिरहेका उनले भविष्यमा यही विषयमा किताब लेख्ने सोचेका छन्।
धेरै वर्ष टिक्ने बाँसले वातावरणलाई नोक्सान गर्दैन। यसको आर्थिक र सांस्कृतिक पहिचान पनि छ, तर बुझिएको छैन। आफ्नो कामले सार्वजनिक ठाउँमा वस्तुको मोल सिर्जना गर्ने कैलाशको विश्वास छ।
'उपभोग्य कुरालाई कसरी हाम्रै पहिचान बोकेका वस्तुले प्रतिस्थापन गर्न सकिन्छ भनेर देखाएको हुँ,' उनी भन्छन्, 'हामीले जे प्रयोग गरेका छौं, त्यो हाम्रो र राम्रो पनि छ।'
दोलखाबाट जस्तै सातै प्रदेशका विभिन्न संस्कृतिलाई कलात्मक रूपमा सार्वजनिक स्थलमा प्रदर्शन गर्न सके, कलाकारको आर्थिक जीवन र समाजको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ।
कैलाशले आफ्नो प्रदर्शनी अभियानलाई 'आइ एम यु' (म तिमी हुँ)नाम दिएका छन्। मान्छे-मान्छे र मान्छे-सार्वजनिक स्थल कसरी अन्तर्सम्बन्धित छन् भन्ने कुरा 'आइ एम यु'ले समेटेको उनको भनाइ छ।
अन्तक्रियात्मक कलाले संवाद र सौहार्द वातावरण सिर्जना गर्छ। कैलाश भन्छन्, 'हाम्रो काममा प्रयोग भएका चिज र संलग्न कलाकारले काठमाडौंको भिडमा 'आइ एम यु' भनिरहेका छन्।'
'उनीहरूको कुरा सुनियो-बुझियो?'
कैलाशको जवाफ छ, 'सुरूमा मान्छे पनि को हो, को हो भनेजस्तै कला पनि के हो, के हो जस्तो लाग्न सक्छ। कलामार्फत् संवाद गर्न समय लाग्छ।'
पहिला त्यही बाटो हिँड्ने बटुवा खाँबाबारे बेखबर थिए। चोयाले बेरेको देखेपछि भने अडिएर हेर्ने उदाहरण दिँदै उनी थप्छन्, 'सार्वजनिक स्थलमा हाम्रो आफ्नै वस्तु हुँदा नयाँ सम्बन्ध बन्ने रहेछ।'
उनले अनुभव सुनाए।
कैलाश दोलखाका कलाकारसँग मिलेर जमलको एउटा खाँबोमा चोया बेरिरहेका थिए। २० वर्षजतिका युवक पुल चढेर बाटो काट्न लागेका थिए। फनक्क फर्किए र कैलाशनजिकै आएर भने, 'दाइ, म पनि बुन्छु है।'
परिचितहरू छेलिने काठमाडौंको भिडमा अपरिचित बीचको यस्तो 'मानव सम्बन्ध'लाई कैलाश दुर्लभ मान्छन्।
भन्छन्, 'संवाद र अन्तक्रियाबाहेक कलाको काम प्रश्न र हस्तक्षेप गर्नु हो। कलाले दिमागमा प्रभाव पार्नुपर्छ, नत्र कलामाथि प्रश्न उठ्छ।'
हेर्नुस् तस्बिरहरू, सौजन्यः कैलाश श्रेष्ठ