एनिमेसन क्षेत्रमा लागेकाहरूको सपनै हुन्छ– 'डिज्नी' मा काम गर्ने।
अमेरिकाको ठूलो कम्पनीमा जोडिने सपना सहजै पूरा हुँदैन। अहिले ५८ वर्ष पुगेका किरणभक्त जोशीले भने १२ वर्षअघि पूरा भइसकेको त्यो सपनालाई तिलाञ्जली दिए। आफ्नोभन्दा यो क्षेत्रमा भविष्य बनाउन खोजिरहेका नेपालीहरूको सपना उनलाई प्यारो लाग्यो।
२०६३ सालतिरको कुरा हो। एउटा फरक घटनाले डोर्याएर अमेरिकाबाट उनी नेपाल आएका थिए।
भिनाजुसहित चार, पाँच जनाको धनकुटाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेर निधन भएको थियो। १३ दिने काजकिरियाका लागि किरण नेपाल आए। त्यसपछिका बाँकी दिन यतै रहँदा साथीहरूले सोधे– नेपालमै एनिमेसन कम्पनी किन नखोल्ने?
'नेपालमा पनि एनिमेसन क्षमता होला र?' उनको दिमागमा आएको पहिलो दुविधात्मक प्रश्न थियो।
त्यो समय यहाँ एनिमेसन नयाँ विषयजस्तै थियो। भर्खरै युवाहरू यसमा आकर्षित हुँदै थिए। किरणको भने अमेरिकामै भविष्य बन्दै थियो। त्यस्तोमा नेपालबारे सोच्न भ्याएका थिएनन्। साथीको सुझावपछि केही सचेत भए र दिमागमा त्यो कुरा खेल्न थाल्यो।
उनले यहाँ एनिमेसन क्षेत्रमा लागेकाहरूलाई भेटे। उनीहरूको काम र सिर्जना देख्दा किरणलाई लाग्न थाल्यो– नेपालमा पनि क्षमतावान् मान्छे रहेछन् है।
जति मान्छे भेट्थे उनको दुविधा आशामा बदलिरहेको थियो। तै डिज्नीको काम र परिवार सबै छाडिहाल्ने पक्षमा थिएनन्। तीन-चार वर्ष अझै काम गरेर फर्कन चाहन्थे।
यही क्रममा एकदिन किरणको भेट १८ वर्षीय अनिष खड्कासँग भयो। अनिषको काम किरणलाई मनपर्यो।
'कहाँ सिकेका?' उनलाई सोधे।
अनिषले दिएको जवाफ सुनाउँछन्, 'दाइ म बिजनेस पढिरहेको छु। मेरो मन भने एनिमेसनमा छ। पढाइबाट फुर्सद निकालेर रातको १-२ बजेसम्म सिक्छु।'
उनको काम राम्रो भएकाले किरणले पढाइसँगै एनिमेसनलाई निरन्तरता दिन सुझाए। एनिमेसन 'पोर्टफोलियो' बन्द गरेर अनिषको हातमा थमाए।
एकछिनपछि किरणको आँखामा हेर्दै अनिषले भने, 'दाइ मेरो प्यासन एनिमेसन हो तर परिवारले भनेर बिजनेस पढिरहेको छु। तपाईंजस्तो मान्छे आएर हामीलाई प्ल्याटफर्म दिनुभएन भने अर्को पटक तपाईं नेपाल फर्कँदा म बैंकमा काम गरिरहेको हुन्छु।'
१८ वर्षका अनिषले त्यसो भन्दा किरण जवाफविहीन भए। त्यो कुराले उनलाई भित्रैबाट छोयो। अहिल्यै केही गरिएन भने धेरै अनिषहरूको सपना मोडिएर अन्तै बहकिने महशुस गरे। त्यो रात उनको छटपट्टिमै बित्यो।
रातभरि उनले अनिषकै उमेरको आफूलाई सम्झिए, जति बेला उनी लस-एन्जेलस पुगेका थिए। १९ वर्षे केटौले उमेरका उनी अनिषजसरी भविष्यप्रति गम्भीर थिएनन्। भविष्यमा के बन्ने? राम्ररी सोचेका थिएनन्। जहाँ सम्भावना देख्यो त्यसैलाई सपना ठानेर पछ्याइरहे।
लस-एन्जलस पुग्दा खल्तीमा दुई सय डलर थियो। भविष्यबारे सोच्नुभन्दा पहिले पैसा कमाउनुपर्यो।
नेपाल हुँदा खासै काम नगरेका उनीसँग सजिलै जागिर पाउने अनुभव थिएन। सुरूआतमा 'पिज्जा हट' मा प्रयास गरे। अन्तर्वार्ताक्रममा म्यानेजरले एउटा पिज्जा हातमा थमाइदिए। जागिर हुने-नहुने प्रतिक्रियाका लागि केही दिन कुर्न भने। दुई, तीन दिन गर्दै धेरै समय बित्यो। फोन आएन।
खल्ती रित्तिदै जाँदा काम नपाउनुको सकसले झन् सताउँथ्यो। एकदिन सुरक्षा गार्डको विज्ञापन देखे। आवेदनमा उनले परिचय लेखे, 'नेपालको गोर्खाली'। अन्तर्वार्ताक्रममा 'जति बेला पनि सुरक्षा दिन तयार र जे पनि गर्न सक्छु' भने। जागिर पक्का भयो।
जागिरसँगै किरणले पढाइलाई पनि निरन्तरता दिए। काठमाडौंको अस्कल क्याम्पसबाट उनले आइएससी सकेका थिए। अरूभन्दा फरक गर्नुपर्छ भन्ने सधैं लाग्थ्यो रे। त्यही भएर साथीहरूले सोध्दा 'भविष्यमा न्युक्लियर फिजिसिस्ट बन्छु' भन्थे।
'त्यो पढेपछि त बम बनाउने हो' भनेर साथीहरूले प्रतिक्रिया दिएपछि 'कहाँ बम बनाउनु!' भन्दै सोच हरायो।
सानोमा आकाशमा हवाइजहाज उडेको हेरेरै रमाउने उनलाई पाइलट बन्ने पनि मन थियो। आँखाको चस्माका कारण झन्झट सामना गर्नुपर्ने सोचेरै त्यो सपना त्यागिदिए।
अब के पढ्ने त?
एकदिन साथीहरूसँग घुमिरहेका बेला उनले भर्खरै बजारमा आएको आइबिएम कम्प्युटर देखे।
'यो के हो? यसले के गर्छ?' खुलदुली भयो। त्यसबारे जानकारी पाएपछि कम्प्युटर विषयले आकर्षित गरेको उनी बताउँछन्।
कम्प्युटर विज्ञानमा स्नातकोत्तर सकेर पाँच वर्ष एउटा कम्पनीमा प्रोग्रामरका रूपमा काम गरे। त्यही बीच डिज्नीमा प्रोग्रामरकै आवेदन खुल्यो, छानिए।
त्यो बेला डिज्नी 'ह्यान्ड रन एनिमेसन (हातले बनाउने)' बाट भर्खरै कम्प्युटर ग्राफिक्समा लागेको थियो। किरणका अनुसार उनी ग्राफिक्स प्रोग्रामरका रूपमा 'कोडिङ' गर्थे। वरिपरिका मान्छे भने एनिमेसनका सृजनात्मक काममा घोत्लिएका हुन्थे। आफ्नो र उनीहरूको काम देख्दा किरण 'डिस्ट्रयाक्ट' हुन्थे।
उनलाई एनिमेसन पो 'कूल' लाग्न थाल्यो, त्यो काम जादूजस्तै लाग्यो।
किरणका अनुसार उनले दिनभर काम सकेर बेलुकी अबेरसम्म करिब ९ महिना एनिमेसन सिके। अनि प्रोग्रामिङबाट एनिमेसन विभाग सरे। पहिलो एनिमेसन फिल्मको काम पनि पाइहाले– ब्युटी एन्ड द बिस्ट।
'त्यसको बल रूम दृश्यमा काम गरेको थिएँ। त्यहाँको सेट र नाच सबै ग्राफिक्स एनिमेसनबाट देखाएका थियौं,' किरणले अनुभव सुनाए, 'त्यसपछि फिल्म 'अलाद्दीन' मा काम गरेँ। यसको ४-५ महिनापछि 'लायन किङ' मा जोडिएँ।'
'लायन किङ' प्रोजेक्ट भर्खरै सुरू हुन लागेको थियो। उनीहरूलाई चुनौती थियो, हातले चित्र बनाएर एनिमेसन गर्दा धेरै काम गर्न असम्भवजस्तै भयो।
'त्यसलाई हामीले कम्प्युटर ग्राफिक्समा काम गर्यौं,' उनले भने, 'त्यो बेला त्यति ठूलो स्केलमा एनिमेसन गर्ने भन्ने थिएन, जुन अचेलका फिल्ममा देखिन्छ।'
'लायन किङ'को काम राम्रो भएपछि किरण सुपरभाइजर भए। आफ्नो अगुवाइमा धेरै फिल्म बनेका उनी बताउँछन्। १८ वर्षसम्म उनी डिज्नीको एनिमेसन संसारमै हराइरहे।
दुर्घटनामा आफ्ना परिवारका सदस्यको निधनपछि नेपाल आएका थिए। त्यहीक्रममा अनिषसँगको भेटले नेपालमै केही गर्ने प्रेरणा मिलेको थियो।
'एनिमेसन मेरा लागि प्यासन थिएन त्यो बेला। यो केटाले भने आफ्नो प्यासनका लागि मलाई त्यस्तो भनेको छ। मैले साँच्चै केही गर्नुपर्छ भन्ने लागेको थियो,' किरणले सुनाए।
अनिषलाई भेटेको भोलिपल्ट उनले साथीहरूलाई भने, 'अब म तीन महिनापछि फर्किएर सधैंका लागि नेपाल आउँछु र स्टुडियो खोल्छु।'
सुरूमा कसैले पत्याएनन्। अपत्यारिला आँखाले उनलाई हेरी मात्र रहे।
किरणले भने अमेरिका जानुअघि आर्किटेक्ट र इन्टेरियर डिजाइनरलाई नक्सालमा काम जिम्मा दिइसकेका थिए। डिज्नीमा सूचना दिएर छाडेरै आएपछि साथी र परिवारलाई पत्याउन करै लाग्यो।
यहाँ फर्किएपछि धेरैले उनलाई भने पनि– तिमीले डिज्नी छाडेर जिन्दगी बिगार्ने भयौ। सास्ती पाउँछौ।
त्यो बेला माओवादी युद्ध भर्खर सक्किएको थियो। ६ महिनाजति उनलाई गाह्रो पनि भयो। नसोचेका अवस्था सामना गर्नुपर्यो– कहिले हड्ताल, कहिले बन्द त कहिले बिजुली समस्या।
'एक मन त डिज्नी छाडेर गल्ती नै गरेछु कि भन्ने पनि भयो। तर जोशमा छाडिसकेकाले यहीँ केही गर्नुपर्छ भन्ने कुराले बलियो बनाउँथ्यो,' उनी भन्छन्।
२०६४ सालमा उनले एनिमेसन स्टुडियो खोले– इनसेसान्ट रेन स्टुडियो।
'मेरो भिनाजुको दुर्घटना हुँदा वर्खा मौसम थियो। निरन्तर पानी परिरहेको। म फर्किएको पनि त्यही घटनापछि भएकाले स्टुडियोको नाम त्यस्तो राखेँ,' किरणले भने, 'पीडादायी वर्खा।'
नक्सालमा उनले स्टुडियो सुरू गर्दा उनी र अनिषसहित करिब २० जना थिए। स्टुडियो नयाँ थियो, कलाकार प्रायः नयाँ। उनीहरूलाई सिकाउनु त छँदैछ, कहिले समूहमा काम नगरेको समस्या पनि थियो।
'हामी नेपालीहरूको कामबारे एकअर्कासँग संवाद नै नगर्ने बानी के। हामी प्रत्येक दिन के गर्ने भनेर मिटिङ बस्थ्यौं तर सबै चुप,' किरणले सम्झिए, 'उनीहरूसँग अनौपचारिक भेटघाट बढाउँदै खुलाउँदै लगेँ। ६ महिनाजसो त्यसरी बित्यो।'
त्यसबीच एनिमेसनको काम खोज्न किरण अमेरिका गए। पहिले नै काम गरेका निर्माता-लगानीकर्ता भएकाले केही सजिलो भयो। तर त्यहाँ पुग्दा उनीहरूले ठ्टयौली पारामा भनेको अझै सम्झन्छन्, 'तिमीले कम्पनी त खोल्यौ तर नेपालमा बिजुली छ कि छैन!'
उनीसँगको चिन्जान र विश्वासका कारण काम भने पाए। उनको स्टुडियोले पहिलो अन्तर्राष्ट्रिय काम पायो– डिज्नी दिवाली। डिज्नीको कार्टुन पात्र मिक्कीलाई दिवालीसँग जोडेर काम गर्नुपर्ने थियो, ६ हप्ताको समयमा।
'पहिलो प्रोजेक्ट भएकाले हामीले दिन–रात नभनी काम गर्यौं,' उनले भने, 'काम सकेर दिँदा कलाकारलाई पनि गर्न सकिने रहेछ भनेर हौसला मिल्यो। अन्तर्राष्ट्रिय प्रोजेक्टमा हाम्रो पोर्टफोलियो पनि भयो।'
एउटा फिल्मपछि अर्को पाइहाल्ने भन्ने हुँदैन। यहीँ विभिन्न काम गरेर जेनतेन चलिरहेको थियो।
त्यहीबीच अनिषले एकदिन भने, 'सर म त काम छाड्नुपर्ने भयो।'
जसलाई हेरेर डिज्नी छाडेर किरण फर्केका थिए उसैले जाने भनेपछि छक्कै परे।
अनिषले थपे, 'खासमा मलाई यो एकदमै मनपर्ने काम हो। मेरो आमाबुवाले भने बुझ्दै बुझ्नुहुन्न। उहाँहरू त दिनभर भिडिओ-गेम खेल्न गएको ठान्नुहुन्छ।'
त्यो घटनाले किरणलाई महशुस गरायो– अनिषका मात्र होइन, धेरैका परिवार एनिमेसनलाई काम नै मान्दैनन्। सबै कलाकारका परिवार स्टुडियोमा बोलाएर आफूले गरिरहेको काम देखाउन लागेपछि बल्ल उनीहरूले आफ्नो छोराछोरीको प्रतिभा बुझे।
अनिषकी आमाले त किरणलाई भेटेरै भनिन् रे, 'मेरो छोरा यति क्षमतावान भनेर मलाई थाहै थिएन। म एकदमै खुसी भएँ।'
त्यो दिन उनी आफ्नो स्टुडियोको भविष्यप्रति झनै दृढ भएँ, 'प्रोजेक्ट आउने तलमाथि भए पनि अनिषजस्ता धेरैको परिवार बनिरहेको छ। जत्ति गाह्रो भए पनि यो काम पछिका लागि कोशेढुंगा बन्ला।'
नभन्दै किरणको स्टुडियोले यी १२ वर्ष अन्तरालमा संसारभरका प्रख्यात एनिमेसन फिल्ममा काम गरिसकेको छ। २० जनाबाट सुरू स्टुडियोमा अहिले १६० जना भएको उनले बताए।
हाल छाउनीस्थित स्टुडियो विदेशी कम्पनीभन्दा कम्ता देखिन्न। यहाँ अनुमति बिना बाहिरी मान्छे जान पाउँदैनन्। कामको गोपनियताका लागि फोटो खिच्न प्रतिबन्ध छ। एनिमेसन सिक्न चाहनेलाई छुट्टै कक्षा व्यवस्था छ। मनोरञ्जनका लागि बरन्डामा गितार राखिएको छ।
'द कराते किड', 'द ग्रे', 'जम्बील्यान्ड' लगायत सयौं फिल्ममा काम गरेको इन्सेसान्ट रेन स्टुडियोले आफ्नो पहिलो एनिमेसन फिल्मका रुपमा 'मण्डला' निर्माण गरेको छ। यसले 'सर्ट फिल्म' विधामा पाँच अवार्ड पाइसक्यो।
'मण्डलको महत्व हाम्रो भाइपूजा, म्हपूजा सबैमा हुन्छ। बौद्ध दर्शन र आध्यात्मिक हिसाबमा पनि महत्व छ। त्यही मध्यनजर गर्दै एनिमेसन बनाएका थियौं,' उनले भने।
त्योसँगै अर्को प्रोजेक्ट 'यती' मा काम गरिरहेका छन्।
'नेपाल 'यतीको देश' भनेर चिनिन्छ तर डरलाग्दो पात्र ठानिन्छ। फिल्मको सन्देश यती डरलाग्दो नभएको हुनेछ,' स्टुडियोमार्फत उनी लामो एनिमेसन फिल्म बनाउने तयारीमा छन्। यसबारे पनि आफ्ना अरू कामजस्तै गोपनियता अपनाउन चाहन्छन्।
किरणका अनुसार डिज्नी र नेपालको स्टुडियोमा काम गर्ने प्रक्रिया उस्तै हो। फरक यत्ति हो, त्यहाँ जुन पैसा, जनशक्ति र उपकरण छन्, ती हामीकहाँ छैन। त्यसमाथि नेपाली फिल्म नै नचलिरहेका बेला फिचर एनिमेसनमा धेरै लगानी गरेर जोखिम उठाउने हुँदैनन्।
'नेपालमा पैसा उठाउनै गाह्रो छ। अलिकति अर्को किसिमको बनायो भने चल्दैन। एउटै धारका व्यवसायिक फिल्म चलिरहेको छ जुन मेरो धारको फिल्म होइन,' उनले भने।
किरणलाई त नेपाल, कला, सम्पदा र स्थानीय कथा भन्न मन छ। यिनै कथा खोजिरहेका उनलाई डिज्नी छाड्नुले आत्मग्लानी गराउँदैन। बरू खुसी हुँदै भन्छन्, 'डिज्नीमा भएको भए म कहाँमाथि पुगेँ भन्ने हुन्थ्यो होला। तर आफ्नै भिजन र स्वतन्त्रताले काम गर्ने यो अवसर पाउन्न थिएँ।'
'मेरो सहकार्य युवाहरूसँगै हुन्छ। तिनीहरूको ऊर्जा र नयाँ कन्सेप्टले मलाई जवान बनाइरहेको महशुस हुन्छ,' ५८ वर्षीय किरण भन्छन्।
उनले नेपाल फर्कँदा सबभन्दा ठूलो मूल्य चुकाउनु परेको बैवाहिक जीवन हो। आफ्नो काममा उनी यति घोत्लिए, परिवारका लागि समय छुट्याउन सकेनन्। यहाँ कम्पनी खोलेर विदेशबाटै सञ्चालन गर्ने सोच्दासोच्दै धेरै वर्ष बिते। कहिले के समस्या, कहिले कुन प्रोजेक्ट, जीन्दगी नै काम बन्यो।
'कहिलेकाहीँ मान्छे आफ्नो प्यासनमै हराउँदो रहेछ। मेरो पनि त्यस्तै भयो,' उनले भने।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी