कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्दार गरी ल्याइएका १ सय ७५ मध्ये १४३ जना नेपाली सोमबार घर फर्किएका छन्। उनीहरूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएपछि १७ औं दिनमा घर फर्काइएको हो।
उपत्यका बाहिरका ३२ जनालाई भने खरिपाटीमै राखिएको छ। ३२ जनालाई भने भोलिमात्र फर्काइने छ।
सोमबार क्वारेन्टाइनमा रहेकाहरूलाई औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको हो।
घर फर्किनुअघि कतिपयलाई खरिपाटीमा लिन परिवारका सदस्यहरू पुगेका थिए।
एक्कासि परिवारका सदस्य भेट्दा कतिपय भावविह्वल देखिन्थे भने कतिपयको आँखा रसाएका थिए। कोही परिवारका सदस्य तथा आफन्तहरू कुरिरहेका थिए।
आज खराब मौसमका कारण बिदाइ कार्यक्रममा केही अभिभावक भने जान पाएनन्।
'छोरीले पानी पर्दैछ बुवा, म साथीहरूसँग आउँछु भनेपछि हामी पनि नजाने भयौं,' एक अभिभावकले भने।
वुहानबाट फागुन ४ गते १७५ नेपालीलाई काठमाडौं ल्याइएको थियो। विमानस्थलबाट सिधै खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा लगेर उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो।
आइतबार मात्र वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजका पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो।