सोमबार काठमाडौंको मौसम गडबड भयो। बिहान घाम लागे पनि दिउँसो पानी परेर दिन धुम्म भयो। त्यसैले धेरै अभिभावक चीनको वुहानबाट ल्याइएका आफ्ना छोराछोरी लिन खरिपाटी पुग्न पाएनन्।
पुग्ने केही अभिभावकमध्ये दुर्गा खतिवडा र मोहन खतिवडा थिए। फागुन ४ गते वुहानबाट उद्दार गरेर ल्याइएका १ सय ७५ जनामा उनीहरूकी छोरी मिमांसा पनि थिइन्। सोमबार खरिपाटी क्वारेन्टाइनबाट जुन बेला पनि छोरीले लिन बोलाउने भएकाले दुर्गा र मोहन दुवै तयार बसेका थिए।
बौद्ध बहुमुखी क्याम्पका प्रमुख समेत रहेका मोहनले आज छोरीकै लागि बिदा लिएका थिए। नभन्दै दिउँसो छोरी मिमांसाले आमाबुवालाई फोन गरेर लिन आउनु भनिन्। दुर्गा र मोहन खुसीले फुरुंग भए। गाडी स्टार्ट गरेर सिधै खरिपाटी हुइँकिए।
दुर्गा र मोहन खरिपाटी पुग्दा मानिसको बाक्लो उपस्थिति थियो। भिडमा उनीहरूले सुरूमा छोरी मिमांसालाई देखेनन्। दुर्गाले फोन हानिन् र आफूहरू खरिपाटी आइपुगेको बताइन्।
जब आमाबुवा दुवैको नजर छोरी मिमांसामा ठिक्कियो, दुर्गा दौडिएर छोरीलाई अंगालो हालिन्। दुवैका आँखा रसाए। छेउमा उभिएका बुवा मोहनका पनि आँखा टप्किरहेका थिए।
पिलपिल आँसु बोकेरै दुर्गाले छोरी भेट्दाको खुसी साटिन्।
'मैले छोरी भेट्न पाउँछु कि पाउँदिन भन्ने मात्र सोचेकी थिएँ। आज भेटेँ। धेरै खुसी लागेको छ,' दुर्गाले भनिन्।
खरिपाटीमा सोमबारको दृश्य यस्तै थियो। कोही अभिभावक, कोही आफन्त त कोही साथीहरूसँग खुसी साटिरहेका थिए।
'केहीबेर त त्यहाँको वातावरण नै स्तब्ध थियो,' मोहनले भने।
एकैछिनपछि मिमांसाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएर बिदा हुँदै गाडी चढिन्। केहीबेरमै तीनै जना घर आइपुगे।
घरमा मिमांसालाई सबैले कुरिरहेका थिए। उनकी बहिनी मेधु पनि दिदीको बाटो हेरेर बसेकी थिइन्। गाडीबाट ओर्लिनसाथ मिमांसा र मेधुको गला जोडियो। मिमांसाले मेधुलाई चीनबाट ल्याइदिएको कुरा दिइन्। दिदीले ल्याइदिएको कोशेली १६ दिनपछि खोल्दा मेधु मख्ख परिन्।
'अहिले दिदीबहिनी पूरै नयाँ कपडा हेरेर बसेका छन्। घरमा खुसीको माहौल छ,' मोहनले सुनाए।
वुहानमा कोरोना भाइरसको संक्रमण बढेको सुरूआती बेलामै दुर्गाले मोहनलाई सरकारलाई झक्झकाउन तातो लाउँथिन्। मोहनलाई पनि छोरीकै चिन्ता थियो। पछि मोहन लगायत वुहानमा रहेका नेपालीका अभिभावकले सरकारलाई आफ्ना छोराछोरीलाई नेपाल ल्याउन ज्ञापनपत्र नै बुझाएका थिए।
अभिभावकहरूले निरन्तर ताकेता गरेपछि सरकारले पनि वुहानबाट आफ्ना नागरिक ल्याउन प्रक्रिया अगाडि बढाएको थियो। चीनको हुबेईमा रहँदा मिमांसालाई आमाले दिनकै चार-पाँचपटक फोन गर्थिन्। मिमांसाले पनि आमालाई सुरूमा सबै ठिकै छ भनेर सुनाउँथिन्।
तर आमाको मनले के मान्थ्यो। दुर्गा भिडिओ कल गरेर छोरीसँग सबै कुरा बुझ्थिन्।
कोरोनाका कारण वुहान 'लक डाउन' भएपछि विस्तारै हुबेईमा तरकारी, पानी अभाव हुन थाल्यो। मिमांसाले यो कुरा पनि आमालाई सुनाउँथिन्।
'मैले छोरीलाई भातमै नुन र बेसार हालेर खाऊ भन्थेँ। हामी यहाँ सरकारलाई पहल गर्दैछौं भनेर उसको मन थमथमाउँथे,' उनले भनिन्।
आजबाट भने सबै समस्या हलुका भएको दुर्गाले बताइन्।
घर आइपुगेकी मिमांसालाई भने पढाइकै चिन्ता छ।
उनले खरिपाटीबाट बिदा हुँदै भनिन्, 'सबै पढाइ चौपट भएको छ। अब घर गएर धमाधम पढ्ने हो।'