सरकारले कक्षा १ देखि ८ सम्मका किताब रंगीन छाप्न सुरू गरेको छ।
कक्षा १ देखि ५ सम्मका सबै किताब रंगीन छापिएको छ भने कक्षा ६, ७ र ८ मा सात वटा विषयका किताब रंगीन बनाइएको छ।
'कक्षा पाँचसम्म यसअघि नै रंगीन किताब थिए। कक्षा ६ र ७ मा पनि नयाँ शैक्षिक सत्रदेखि विद्यार्थीले रंगीन किताब पढ्न पाउँछन्,' केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले सेतोपाटीसँग भने, 'किताब छपाइ भइरहेको छ।'
केन्द्रका अनुसार कक्षा १ देखि ५ सम्मका किताब छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ। उसैले वितरणको पनि काम गर्नेछ।
कक्षा १ देखि ४ सम्मका किताब छाप्न मुद्रक सूचीकृत गरिसकिएको छ। काठमाडौं, विराटनगर, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी, भक्तपुर र चितवनका गरी १५ वटा फर्म/कम्पनीले किताब छपाइ सुरू गरिसकेका छन्। ती फर्मले नै वितरणको काम गर्नेछ।
सरकारले विद्यालय तहका सबै किताब नि:शुल्क दिन्छ। शिक्षा मन्त्रालयले किताब किन्न स्थानीय तहलाई बजेट पठाएको छ। सम्बन्धित विद्यालयलाई किताब खरिदको बजेट समयमै निकासा गरिदिन स्थानीय तहलाई केन्द्रले आग्रह गरेको छ।
'यसवर्ष कक्षा १ देखि ५ सम्मका सबै र ६ देखि ८ सम्मका सात वटाका दरले २१ वटा रंगीन किताब विकास गरिएको हुँदा सोहीअनुसार विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्छ,' निर्देशक भट्टराईले भने।
उनका अनुसार किताबमा रहेका चित्र जस्ताको त्यस्तै देखाउन रंगीन बनाइएको हो। 'खुर्सानीको चित्र किताबमा राख्दा यसअघि कालो मात्रै देखिन्थ्यो। अब रातो हो कि हरियो खुर्सानी हो प्रष्ट देखिन्छ,' किताब रंगीन बनाउनु पर्नाका कारण उनले यसरी बुझाए।
समयमै किताब पाउने सुनिश्चितताका लागि मुद्रक तथा वितरकसँग आवश्यक समन्वय र निरन्तर सम्पर्कमा रहन पनि केन्द्रले विद्यालयलाई आग्रह गरेको छ। भौगोलिक हिसाबले विकट क्षेत्रमा शैक्षिक सत्र सुरू भइसक्दा पनि किताब नपुग्ने गुनासो आउने गरेकोले विद्यालयलाई सचेत गराइएको हो।
केन्द्रले यसपटक नेपाली वा मातृभाषालाई प्राथमिकता दिएको छ।
विद्यालय तहमा पठनपाठनको माध्यम भाषा नेपाली कि अंग्रेजी भन्ने विवाद छ। विद्यार्थी निजी स्कुलतर्फ आकर्षित भएपछि केही सरकारी विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेका थिए।
कक्षा ४ देखि ८ मा भाषा विषयबाहेक अन्य विषय र सिकाइ सहजीकरण प्रक्रियाका लागि मातृभाषा वा नेपाली भाषामा पठनपाठन गर्नुपर्ने केन्द्रले बताएको छ। 'अंग्रेजी, गणित, विज्ञान विषय पठनपाठनमा अंग्रेजी भाषालाई माध्यम भाषा बनाउन सकिनेछ,' केन्द्रले भनेको छ।
निर्देशक भट्टराईका अनुसार सामाजिक अध्ययन विषय भने निजी विद्यालयले पनि नेपाली भाषामा पठनपाठन गराउनुपर्छ।
'कक्षा ४-८ मा अंग्रेजी, गणित र विज्ञानबाहेक अरू विषय मातृभाषा वा नेपाली भाषामा पढाउनुपर्छ,' उनले भने, 'माध्यमिक तहमा नेपाली वा अंग्रेजी माध्यम भाषा हुन सक्छ। तर सामाजिक अध्ययन र मानव मूल्य-चारित्रिक शिक्षाजस्ता विषय नेपाली कला, संस्कृति र मौलिक पहिचानमुलक विषयवस्तुको पठनपाठनका लागि पाठ्यसामग्री र माध्यम नेपाली भाषा हुनेछ।'
शैक्षिक सत्र २०७७ मा केही विद्यालयमा कक्षा ६ का लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक परीक्षण गर्ने केन्द्रले तयारी गरेको छ। पाठ्यपुस्तक विकास गर्ने काम सुरू गरिएको केन्द्रले जनाएको छ।
कक्षा ४ र ५ मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य, शारिरीक तथा सिर्जनात्मक कला र मातृभाषा वा स्थानीय विषय पठनपाठन गर्ने तयारी छ।
यस्तै परिवर्तित पाठ्यक्रमअनुसार कक्षा ६ देखि ८ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य तथा शारिरीक शिक्षा सिर्जनात्मक कलासहित र मातृभाषा वा स्थानीय विषय वा संस्कृत विषयको पठनपाठन हुने केन्द्रले जनाएको छ।
केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक विषय परिमार्जन गरेको छ। योग, प्राकृतिक चिकित्सा र आयुर्वेद, सौन्दर्य कला, अवधी भाषा, भोजपुरी भाषा रनेपाली (ऐच्छिक) विषयका रूपमा स्वीकृत भएको केन्द्रले जनाएको छ। यी पाठ्यक्रम शैक्षिक सत्र २०७७ देखि नै कार्यान्वयनमा आउनेछ।
पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नदिएका सामग्री बिक्री, वितरण नगर्न पनि आग्रह गरेको छ।
'नमुनाका रूपमा प्रकाशित गर्ने प्रश्नपत्र र किताबमा नमुनाका रूपमा समावेश भएका प्रश्न पत्रबाहेक प्रश्न पत्रको सँगालोको रूपमा प्राक्टिस बुक, गेस पेपर, गाइडजस्ता समग्री छपाइ, विक्री, वितरण गर्न र विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान गरिने छैन,' केन्द्रले वेबसाइटमा सूचना निकालेर भनेको छ।