पोखरा कारागारमा आमासँगै बस्छ, तीन वर्षे बालक समन गुप्ता। आमा देवीकुमारी र उनका बाबु उदयकुमार गुप्ता पनि अहिले कारागारमै छन्। लागु औषध ओसार–पसार मुद्दामा उदय पक्राउ परेको ८ महिनापछि देवी पनि पक्राउ परिन्।
उनका ३ छोरी अहिले पोखराकै नयाँ बजार बस्छन्। कोठा भाडामा लिएर बसेका उनीहरु स्कुल–कलेज पढ्छन्। जेठमा पक्राउ परेकी देवी साउनमा कारागार चलान भएकी थिइन्। सरकारले कैदी बन्दीलाई दैनिक ६० रुपैयाँ दिन्छ। त्यही पैसाले कैदी बन्दीले बिहान बेलुकाको खाना र खाजा खान खर्चिनुपर्छ।
त्यसो त कैदी बन्दीले कारागारभित्रै काम गरेर आम्दानी पनि गर्छन्। सरकारले दिने खर्च बालबालिकालाई निकै कम छ। देवीका छोरा समनले दैनिक २० रुपैयाँ पाउँछन्।
पौष्टिक आहार खानुपर्ने बेला कारागारमा २० रुपैयाँले दैनिक के खाने? देवी भन्छिन्, ‘२० रुपैयाँले एउटा बिस्कुट पनि आउँदैन।’ आमा–बाबुले गरेको गल्तीको सजाय बच्चाले पनि भोग्नुपरेको छ।
सनमका लागि कारागार प्रशासनले बाहिरी संघ– संस्थासँग मिलेर दैनिक आधा लिटर दूध र गेडागुडीको व्यवस्था मिलाइदिएको कारागार प्रमुख गणेश गौतम बताउँछन्।
लागु औषध ओसार पसारमै जेल चलान भएकी नवलपरासीकी सोनम कहार अहिले घरमै सुत्केरी विदामा छिन्। कारागारमा बसेका महिला गर्भवतीलाई सुत्केरी बिदा २ महिना दिने कानुनी व्यवस्था छ। त्यही व्यवस्था अनुसार उनी मंसिर ११ गते घर गएकी हुन्।
‘अब फर्कने बेला भयो’ कारागार प्रमुख गौतमले भने, ‘२ महिनापछि बच्चा कारागारमै राख्ने कि घरमै छोड्ने आमाको चाहनामा भर पर्छ।’ घरमा हेरचाह गर्न सक्ने अवस्था नहुँदा बच्चा पनि कारागार नै ल्याउने चलन छ। सोनमका सासु– सुसरा पनि अहिले कारागारमै छन्। श्रीमान भने अझै फरार छन्।
पोखरा कारागारका कैदी बन्दीले अहिले दैनिक ६० रुपैयाँ बाहेक दसैँ खर्च ३ सय रुपैयाँ पाउँछन्। कपडाका लागि भनेर वर्षको दुई पटक गरेर करिब ५ हजार पाउँछन्। कारागारभित्र खानाका लागि मेसमा मासिक १ हजार ५५० रुपैयाँ बुझाउनुपर्छ। दैनिक पाउने खर्चबाट यो तिरिन्छ। बाँकी रहेको २५० रुपैयाँ मासिक रुपमा कैदीबन्दीले पाउँछन्।
यही पैसाले उनीहरुले खाजा, टुथपेष्ट, साबुन लगायत दैनिक सामाग्री किन्छन्। दैनिक रकम निकै थोरै भएको उनीहरुको गुनासो छ। कारागारभित्र बसेर न त दैनिक ज्यालादारी काम गर्न पाइने, न त बस्न खानपुग्ने गरी सरकारले सुविधा दिने। उनीहरुले कहिलेकाही घरबाट समेत पैसा, खानेकुरा र लत्ता कपडा मगाउँछन्।
पोखरा कारागारमा अहिले पुरुष कैदी बन्दीका लागि दुईवटा ब्लक र महिलाका लागि एउटा ब्लक छ। तीनवटा ब्लकमा कुल ८५७ जना कैदी छन्। जहाँ महिला मात्र ६४ जना छन्। कारागारको क्षमता भने ४२० को मात्रै हो।
पुरुषतर्फको दुई वटै ब्लकमा कैदीबन्दीलाई पढ्नका लागि छुट्टा–छुट्टै पुस्तकालयको व्यवस्था छ। जहाँ एउटै पुस्तकालयमा १६ सय वटा पुस्तक छन्। चार–चारवटा कम्प्युटर छन्। ल्यापटप र प्रिन्टर पनि छ। बाहिरी समाजमा जस्तै कारागारभित्रै मेस, खाजा पसल, किराना पसल, मासु पसल, खेलकुद, जिम हल, भलिबल ग्राउण्डको व्यवस्था छ। यी सबै कैदीबन्दीले नै चलाउँछन्।
महिलातर्फको ब्लकमा भने एउटा सामान्य पसल र मेस मात्र संचालनमा छ। बाँकी सुविधा पुरुषतर्फको ब्लकमा मात्र सीमित छ। पुरुषतर्फ केही कैदीबन्दी मुडा बनाउँछन्। सिलाई कटाइ गर्छन्। बेचेर आएको पैसाले दैनिकी चलाउँछन् । यो सुविधा पनि महिलातर्फ छैन।
कारागारभित्र धेरैवटा डिपार्ट छन्। खुला समाजमाजस्तै कारागारमा खानेपानी, पुस्तकालय, सरसफाई, खेलकुद, क्यान्टिन, मेडिकल लगायतका डिपार्ट छन्। डिपार्टका छुट्टा–छुट्टै ‘नाइके’ छन्। उनीहरुले आ–आफ्नो जिम्मेवारी पुरा गर्छन्।
कारागार प्रमुख गौतमका अनुसार कारागारभित्र छुट्टै समाज छ, बन्दीहरुले नै त्यो समाज चलाएका छन्। खुला समाजमा जस्तै कारागारमा पनि लेक्चर, इञ्जिनियर, धनी, गरिब सबै खालका मानिस छन्। प्रारम्भिक बाल विकास केन्द्रको सहयोगमा पुरुष र महिला दुबै ब्लकमाा प्रौढ शिक्षा पढाइ हुन्छ।
मानव बेचविखन मुद्दामा जेल परेकी इटहरी ४ सुनसरीकी बिना मानन्धरले पोखराका २९ जना महिला कैदीलाई प्रौढ शिक्षा पढाइरहेकी छिन्। कारागार भित्र महिला ब्लकको तुलनामा पुरुषको ब्लक फराकिलो छ। महिलालाई कारागारभित्रै विभेद गरिएको भन्दै पोखराकी सामाजिक अभियन्ता विष्णु एकता गुरुङले महिला कैदीबन्दीका लागि पुस्तकालय स्थापनाको पहल गरेकी छिन्।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८)को अवसरमा उनले कारागारको महिला ब्लकमा पुस्तक राख्ने एउटा दराज र केही थान पुस्तक हस्तान्तरण गरिन्। शुक्रबार कारागार पुगेर उनले भनिन्, ‘पुरुषतर्फ सबै सुविधा पुग्ने महिलालाई केही पनि नहुने, यो एकदम ठूलो विभेद हो।’
उनले महिलाले पढ्न सक्दैनन् भनेर नै राज्यले विभेद गरेको दाबी गर्दै कारागारका महिलालाई पढ्न आग्रह गरिन्। उनले कैदीबन्दी महिलालाई पढ्न सजिलो होस् भनेर बालकथाका धेरै पुस्तक दिएको बताइन्। ‘पुस्तक पढ्नु भनेको विद्धानको सङ्गत गर्नु हो,’ उनले भनिन्, ‘सफल मान्छेले किताब पढ्छ, तपाईहरू पनि पढ्नुस्।’
महिला कैदीबन्दीको आय–आर्जनका लागि पनि पुरुषलाई जस्तो सुविधा नभएको बिनाले बताइन्। ‘बजारमा भाउ बढेको छ, पाउने रकम बढेको छैन,’ उनले भनिन्, ‘खानको लागि बाटो देखाइदिनुपर्यो।’
महिला कैदीबन्दीका लागि कुक र बेकरीको तालिमका लागि केही संघ संस्थासँग कुरा भइरहेको कारागार प्रमुख गौतमले बताए। तपाईंहरूले भोलि बाहिर गएपछि पनि काम गर्न सक्नेगरी तालिमको व्यवस्था गरेका छौं,’ गौतमले भने, ‘प्रौढ शिक्षा पढेकालाई किताब पढ्न सक्ने बनाउने हो।’
सरकारले दिने दैनिक रकम थोरै भएको कैदीको गुनासो छ। महिलाको गुनासो पुरुष ब्लकमा जस्तो सुविधा नभएकोमा छ। यसबारे कारागार विभागलाई बारम्बार आफूले भनेको प्रमुख गौतमले बताए। ‘कैदीबन्दीलाई दैनिक रकम अपुग भयो भनेर माथि भन्दा हाँस्छन्,’ केही गर्दैनन्’, गौतमले भने।